चन्दननाथ नगरपालिकाले आमाको दुधलाई प्रतिस्थापन गर्ने कृत्रिम दूध र दूधजन्य वस्तुहरूको बिक्री वितरणमा रोक लगाउन बजार अनुगमनलाई तीव्रता दिएको छ।
नेपाल सरकारको ‘आमाको दूध प्रतिस्थापन (बिक्री वितरण नियन्त्रण) ऐन २०४९’ र नियमावली २०५१ बमोजिम शिशुलाई ६ महिनासम्म अनिवार्य रूपमा आमाको दूध मात्र खुवाउनुपर्छ भन्ने उद्देश्यका साथ यो कदम चालिएको हो। बजारमा कानून विपरीत बिक्री भइरहेका यस्ता वस्तुहरूलाई नियन्त्रण र नियमन गर्न नगरपालिकाले स्थानीय स्तरमा समिति गठन गरी फार्मेसी तथा पसलहरूको अनुगमन गरेको छ।

अनुगमन कार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ, उद्योग वाणिज्य संघ जुम्ला र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमन टोलीले नगरभित्रका विभिन्न पसल तथा औषधि पसलहरूमा पुगी आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको मौज्दात र बिक्रीको अवस्थाबारे जानकारी लिएको थियो।

चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतले ‘अनुगमनका क्रममा केही ठाउँमा त्रुटिहरू फेला परेको र उनीहरूलाई तत्कालका लागि मौखिक रूपमा सुधार गर्न सुझाव दिइएको’ ,उनले भने।
साथै उनले पहिलो पटकका लागि सचेत गराइएको र आगामी दिनमा पनि सोही गल्ती दोहोरिएको पाइएमा कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको बताएका छन्।














