सोमबार, १२ माघ, २०८२

वन मन्त्री माधव चौलागाईले एक महिनामा गरेका मुख्य नीतिगत क्रियाकलाप

वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनामा गरेका मुख्य नीतिगत कामहरू सार्वजनिक गरिएको छ।

मन्त्रालय समालेको छोटो अवधिमा नीतिगत सुधार, विकास आयोजनाको सहजीकरण र वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएको छ।

मन्त्री चौलागाईको कार्यकालको सुरुवाती महिना विशेष गरी वर्षौँदेखि प्रक्रियामा अल्झिएका कानुनहरूलाई निकास दिन र विकास आयोजनाहरूका लागि वन क्षेत्रको प्रयोगलाई सहज बनाउन केन्द्रित गरिएको हो।

एक महिनाको अवधिमा मन्त्रालयको सबैभन्दा ठूलो उपलब्धिका रूपमा वन (तेस्रो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत हुनुलाई लिइएको छ भने यो नियमावली पारित भएसँगै अब विभिन्न विकास आयोजनाहरूका लागि राष्ट्रिय वनको जग्गा प्राप्त गर्ने र रुख हटाउने प्रक्रिया थप सरल र छिटो छरितो हुने मन्त्रालयले जनाएको छ।

साथै, जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न र लाभ लिनका लागि कार्बन व्यापार नियमावली, २०८२ समेत स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ भने मन्त्रिपरिषद्ले कार्बन उत्सर्जन कटौती सम्बन्धी खरिद सम्झौतालाई समेत स्वीकृति दिएको छ र जसले नेपालको आम्दानीको एक नयाँ स्रोतको पहिचान गरेको छ।

विकास आयोजनाहरूलाई गति दिने क्रममा मन्त्री चौलागाईँले विभिन्न चारवटा जलविद्युत आयोजनाका लागि वनको जग्गा भोगाधिकार र रुख कटानको प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजाने निर्णय स्वीकृत गरेका छन्। साथै विभिन्न भौतिक पूर्वाधार सम्बन्धी क्षेत्र निर्धारण प्रतिवेदन, जलविद्युत आयोजनाका वातावरणीय प्रभाव मूल्याङ्कन र पूरक प्रतिवेदनहरू यसै अवधिमा स्वीकृत भएका हुन्।

मन्त्रालयले विभिन्न नदी तथा तालतलैयाको पानी परीक्षण र उद्योग प्रतिष्ठानहरूको अनुगमन गरी वातावरणीय मापदण्ड कार्यान्वयनमा पनि सक्रियता देखाइरहेको छ। हिमपात र शीतलहरको समयमा धार्मिक कार्यका लागि आवश्यक पर्ने दाउरा व्यवस्थापन र वितरणलाई सहज बनाउन सातै प्रदेशमा निर्देशन समेत पठाइएको मन्त्रालयले बताएको होम

प्राकृतिक स्रोतको वैज्ञानिक व्यवस्थापनका लागि मन्त्रालयले पहिलोपटक नेपालका जलाधारहरूको वर्गीकरण र स्तरीकरण समेटिएको जलाधार मानचित्रावली स्वीकृत गरिएको र वन क्षेत्र बाहिर रहेका बाँसको सर्वेक्षण प्रतिवेदन, ७५३ वटै स्थानीय तहमा रहेका वनका प्रकारहरूको विवरण र प्रमुख प्रजातिका रुखहरूको वैज्ञानिक मापन सम्बन्धी पुस्तक समेत प्रकाशन गरिएको हो।

वन्यजन्तु संरक्षणको क्षेत्रमा वैज्ञानिक विधिबाट ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ सुरु भएर चितवन, बाँके, पर्सा र बर्दिया क्षेत्रमा गणना कार्य अगाडि बढिसकेको छ।

मन्त्री चौलागाईँको कार्यकालमा अनुसन्धान र जनचेतनालाई पनि विशेष प्राथमिकता दिइएको र वातावरणका लागि हानिकारक मिचाहा प्रजाति नियन्त्रणका लागि पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरी १८ बुँदे घोषणापत्र जारी समेत गरिएको छ।

त्यस्तै दोस्रो राष्ट्रिय वन अनुसन्धान दिवसको अवसरमा पूर्व सचिव डा. स्वयम्भू मान अमात्यलाई दीर्घकालीन साधना सम्मान र चार जना युवा वैज्ञानिकलाई पुरस्कृत समेत गरिएको छ। सुशासनको क्षेत्रमा मन्त्रालयले प्राप्त भएका उजुरीमध्ये ६४ प्रतिशतको फर्छ्यौट गरी जनतासँग प्रत्यक्ष जोडिएका गुनासाहरूलाई प्राथमिकताका साथ सम्बोधन गरेको मन्त्रालयको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार