कनकासुन्दरी गाउँपालिका -५ को गोठीजिउलामा कर्णाली संस्कृति संरक्षण मञ्च ‘कसंम’ कलाघरको निर्माण कार्य सुरु भएको छ। जुम्लाको सिंजा सभ्यता संरक्षण र प्रवर्द्धन गर्ने हेतुले उक्त कलाघरको निर्माण कार्य सुरु भएको हो।
कसंम कलाघरको स्टमेटसहितको डिपीआर कुल ७० लाख रुपैयाँको लागतमा निर्माण कार्य सुरु भएको छ। यो कलाघरको निर्माण हुन तीन वर्ष लाग्नेछ भएको हो।
कसंम मञ्चका संस्थापक दीपेन्द्र उपाध्यायले पहिलो वर्षमा कर्णाली प्रदेश सरकार सामाजिक विकास कार्यालय जुम्लाले १५ लाख रुपैयाँ सहयोग गरेको र कनकासुन्दरी गाउँपालिकाले तीन लाख रुपैयाँ विनियोजन गरेको उनले बताए।
ऐतिहासिक सिंजा उपत्यकाको हराउँदै गएको कला संस्कृति जोगाउन यतिबेला ६ सय वर्गमिटर जमिनमा ‘कलाघर’ को निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
विगत ६ वर्षदेखि गोठीजिउलास्थित भीमबहादुर बुढाको घर भाडामा लिएर कलाकारहरूले आफ्ना प्रस्तुति दिँदै आएकोमा,अब ३ सयभन्दा बढी मानिस अटाउने क्षमताको आफ्नै सुविधायुक्त भवन बन्न लागेको हो।
कर्णाली संस्कृति संरक्षण मञ्चका सचिव समेत रहेका उपाध्यायका अनुसार, हाल १८ लाख रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ भने यसलाई पूर्णता दिन आगामी वर्ष थप २२ लाख रुपैयाँ बजेट आवश्यक पर्ने देखिएको छ।
सिंजाको मौलिक इतिहास र पहिचानलाई जीवन्त राख्न मद्दत पुग्ने यस अभियानका लागि आवश्यक बजेट व्यवस्थापन गर्न मञ्चले इच्छुक व्यक्ति तथा विभिन्न संघ-संस्थाहरूलाई सहयोगको अपिल समेत गरेको छ।














