सोमबार, १२ माघ, २०८२

हिमाली भेगमा सुरक्षाकर्मीले अपनाउने स्वास्थ्य सावधानी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रहरीको स्वास्थ्य राम्रो भए सेवा प्रभावकारी हुने भएकाले यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर गर्नुपर्ने डीएसपी रेग्मीले जोड दिए।

हिमाली जिल्ला जुम्लामा कार्यरत सुरक्षाकर्मीका लागि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्ला र ओम मनिस पोलिक्लिनिकको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय र विपद् व्यवस्थापन कार्यालयमा कार्यरत प्रहरीलाई लक्षित गरिएको ओम मनिस पोलिक्लिनिकका संचालक मक्क हमालले बताए। उनका अनुसार जाडो मौसममा सुरक्षाकर्मीले अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे कार्यक्रममा उपयोगी जानकारी दिइएको थियो।

लामो समय ड्युटीमा खटिने, कठिन भूगोल र चिसो मौसमका कारण प्रहरीको स्वास्थ्यमा पर्न सक्ने असरबारे छलफल गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. विनोद प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका थिए।

उनले हिमाली भेगमा प्रहरीको काम चुनौतीपूर्ण हुने बताए। हतियार बोकेर ड्युटीमा रहनु, नियमित व्यायाम गर्नु र लामो समय सतर्क रहनु पर्ने अवस्था हुँदा स्वास्थमा समस्या आउने भनाइ थियो।

‘यस्तो अवस्थामा निन्द्र नलाग्ने समस्या देखिन सक्छ। सास फेर्न गाह्रो हुने समस्या पनि आउन सक्छ,’ डा. प्याकुरेलले भने, ‘मानसिक रूपमा चिन्ता बढ्न सक्छ। एन्जाइटी र तनाव देखिन सक्छ।’

उनका अनुसार ठूला र गम्भीर घटना आँखै अगाडि देख्दा मानसिक असर पर्न सक्छ। यस्तो अवस्थामा मानसिक स्वास्थ्यलाई गम्भीर रूपमा लिनुपर्छ।

तनाव व्यवस्थापनका उपाय अपनाउनु जरुरी रहेको उनलेको भनाइ छ।

कार्यक्रममा शारीरिक रोगबारे पनि जानकारी दिइएको थियोे। जाडोमा प्रेसर र सुगरका समस्या बढ्ने जोखिम बारे कार्यक्रम केन्द्रित भएको डीएसपी रविन वावु रेग्मीले बताए।

‘कार्यक्रम एकदमै उपयोगी भयो। प्रहरी सेवामा स्वास्थ्य मुख्य विषय हो,’ उनले भने, ‘प्रेसर, सुगर, मानसिक समस्या प्रहरीमा देखिन सक्ने हुनाले सचेतना जरुरी छ।’

उनका अनुसार यस्ता समस्याबाट बच्न सचेतना कार्यक्रम गरिएको हो। हिमाली भेगमा स्वास्थ्य समस्य चुनौतीपूर्ण छ।

डिएसपी रेग्मीले कार्यक्रममा सहभागी प्रहरीलाई खानपानमा ध्यान दिन आग्रह गरे। मधिरा, मसला र नुनको मात्रा कम गर्नुपर्ने उनको भनाइ छ।

जाडोमा पानी कम पिउने बानी हुन्छ। तर शरीरमा पानीको मात्रा कम हुन नदिनु पर्ने डा. प्याकुरेलको भनाइ छ।

‘पर्याप्त पानीले थकान र अन्य समस्या कम गर्छ,’ उनले भने, ‘सुरक्षाकर्मी हाम्रो समाजका आधार हुन्। उनीहरु स्वस्थ्य भए देश सुरक्षित हुन्छ।’

प्रहरीको स्वास्थ्य राम्रो भए सेवा प्रभावकारी हुने भएकाले यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर गर्नुपर्ने डीएसपी रेग्मीले जोड दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार