स्थानीयका अनुसार पटक पटक जनप्रतिनिधि र सम्बन्धित निकायलाई जानकारी गराइयो। मागपत्र बुझाइयो। भेटघाट गरियो। तर नतिजा शून्य छ।
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ हियाँखोला आज पनि मोबाइल नेटवर्क विहीन छ।
देशका धेरै ठाउँमा फोरजी, फाइभजी, निःशुल्क वाइफाइ र डिजिटल सेवाको चर्चा भइरहँदा हियाँखोलाका बासिन्दा भने अझै नेटवर्क खोज्दै डाँडा उक्लन बाध्य छन्।
फोनमा एक धर्का सिग्नल देखिनु त्यहाँ उत्सवजस्तै हुने स्थानीय हर्क कामी बताउँछन्। ‘हामीलाई बाहिरी दुनियाँ कस्तो छ भनेर थाहा पाउन गाउँ छोड्नुपर्छ,’ उनले भने, ‘तर नेट नहुँदा हाम्रो भविष्य नै रोकिएको जस्तो लाग्छ।’
स्वास्थ्य सेवा झन् गम्भीर समस्या बनेको छ। बिरामी पर्दा स्वास्थ्यकर्मीलाई फोन गर्न सकिँदैन। एम्बुलेन्स बोलाउन झन् गाह्रो भएको स्थानीय स्थानीय तुल तिरुवा बताउँछन्।
उनी भन्छन्, ‘राति कसैलाई गाह्रो भयो भने हामी सट्रेचर बोकेर दौडिन्छौँ, फोन चल्दैन। त्यो डर शब्दमा भन्न सकिँदैन।’
स्थानीय कालो कामीको गुनासो छ, ‘हामी मेहनत गर्छौँ, तर जानकारी नहुँदा घाटा सहनुपर्छ। मोबाइल भए आधा समस्या हल हुन्थ्यो।’
वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि कठिन छ। घरबाट फोन चल्दैन। गाउँ नजिकैको डाँडामा गएर कुर्नुपर्छ। कहिलेकाहीँ घण्टौँ कुर्दा पनि कुरा हुँदैन।
स्थानीयका अनुसार पटक पटक जनप्रतिनिधि र सम्बन्धित निकायलाई जानकारी गराइयो। मागपत्र बुझाइयो। भेटघाट गरियो। तर नतिजा शून्य छ।
चुनावका बेला ‘टावर राख्छौँ’ भन्ने वाचा जितेपछि बिर्सिने प्रवृत्तिले आफूहरूलाई दोस्रो दर्जाको नागरिक बनाएको उनीहरूको आरोप छ।
स्थानीय लोकेश जङ्ग विश्वकर्माले आक्रोश पोख्दै भने, ‘भोट माग्दा गाउँ सम्झिन्छन्, जितेपछि बिर्सिन्छन्।’
हियाँखोलाको यो प्रश्न हामीले तातोपानी -६ का वडा अध्यक्ष विशाल खड्कालाई सोधेका थियौं।
उनले टेलिकमले हाँकु गाउँका लाग्नामा रहेको टावरको क्षमता घटाउँदा यो समस्या आएको बताए।
उनले भने, ‘पहिला टावर राम्रो थियोे। गाउँमा नेटवर्कको सुविधा राम्रो थियोे। अब टेलिकमले हाँकुको टावरको क्षमता बढाउने कुरा गरेको छ।’
यता नेपाल टेलिकमका जुम्ला शाखा प्रमुख पारश पुजारा भन्छन्, ‘लाग्नामा रहेको टावरको क्षमता भन्दा बढी ग्राहक रहेको हुनाले हिँयाखोलामा टावर नलाग्ने समस्या भएको हो।’
उनका अनुसार नेटवर्कको ९७ प्रतिशत क्षमता प्रयोग भइसकेको हुनाले समस्या आएको छ। एक महिना भित्र फोरजीको अर्को एउटा ब्यान्ड थप्ने योजना रहेको छ। त्यसपछि समस्या समाधान हुन्छ।














