मंगलवार, १३ माघ, २०८२

तातोपानी गाउँपालिकाको १८ औं हिउँदे गाउँ अधिवेशन, बजेट संशोधन र पाँच कानून पाारित

तातोपानी गाउँपालिका, जुम्लाको आर्थिक वर्ष २०८२/०८३ को हिउँदे गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा बजेट संशोधन, खर्च प्रगति समीक्षा, स्थानीय कानून निर्माण तथा जलवायु परिवर्तनसम्बन्धी नयाँ परियोजना सञ्चालनबारे छलफलका लागि प्रस्ताव गरिएको छ।

अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले योजना र कार्यक्रम सफल बनाउन कार्यान्वयन पक्षलाई प्राथमिकतामा राखिएको बताए। उनले भने, ‘योजना प्रस्तुत गर्नु मात्र हाम्रो लक्ष्य होइन, त्यसलाई नतिजामुखी बनाउनु हाम्रो दायित्व हो। तातोपानी गाउँपालिकाले सधैं परिमाणभन्दा नतिजालाई महत्व दिँदै आएको छ।’

अध्यक्ष चौलागाईंका अनुसार १७औँ गाउँसभामा प्रस्तुत गरिएको ५३ करोड ५९ लाख ८२ हजार रुपैयाँको बजेट संशोधन भई हाल कुल बजेट ५३ करोड ८८ लाख ९० हजार ६ सय ५४ रुपैयाँ पुगेको छ। जसमा चालु तर्फ ३४ करोड १८ लाख ६४ हजार र पुँजीगत तर्फ १९ करोड ७० लाख २६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

हिँउदे अधिवेशनलाई कानून निर्माणको महत्वपूर्ण थलोका रूपमा उल्लेख गर्दै अध्यक्ष चौलागाईंले सेवा प्रवाहलाई चुस्त, पारदर्शी र उत्तरदायी बनाउन स्थानीय कानून आवश्यक रहेको बताए। उनका अनुसार अधिवेशनमा चारवटा स्थानीय कानून पारितका लागि पेश गरिएको छ। जसमा कानूनी सल्लाहाकारसम्बन्धी कार्यविधि, कर्मचारी प्रोत्साहन कोष सञ्चालन कार्यविधि, सहुलियत कृषि ऋणसम्बन्धी कार्यविधि तथा अपाङ्गता नीति समावेश छन्।

गाउँपालिकाको खर्च प्रगतिबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म चालु तर्फ ७ करोड १९ लाख रुपैयाँ (२१ प्रतिशत) र पुँजीगत तर्फ ५ लाख ९१ हजार रुपैयाँ (०.१३ प्रतिशत) खर्च भएको बताए। उनले भने, ‘प्रारम्भिक चरणमा रहेकाले खर्च प्रतिशत कम देखिए पनि अबका महिनामा विकास निर्माण र कार्यक्रम कार्यान्वयनले गति लिन्छ।’

त्यसैगरी अधिवेशनमा नेपाल सरकार, तातोपानी गाउँपालिका र फिन्ल्यान्ड सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना चालु आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिइएको छ। उक्त परियोजनाअन्तर्गत सञ्चालन हुने कार्यक्रम तथा आयोजनालाई स्वीकृतिका लागि अधिवेशनमा प्रस्तुत गरिएको छ।

अधिवेशनको अन्त्यमा अध्यक्ष चौलागाईंले गाउँसभा सदस्य, कर्मचारी, सरकारी तथा गैरसरकारी निकाय, शिक्षक, बुद्धिजीवी, सञ्चारकर्मी र स्थानीयबासीप्रति आभार व्यक्त गर्दै गाउँपालिकाको समृद्धिका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार