आईतवार, ३ फाल्गुन, २०८२

काठमाडौंमा जुम्लको अर्गानिक कोसेली घर

कर्णालीका स्वाद, सुगन्ध र पहिचान बोकेका कृषिजन्य उत्पादन अब काठमाडौंमा सहजै पाइने छन्। जुम्लामा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाले राजधानीमा चौथो आउटलेटका रूपमा अर्गानिक कोसेली घर सञ्चालनमा ल्याएको छ।

सहकारीको यो नयाँ प्रयासले हिमालका रैथाने उत्पादन राजधानी बजारमा पुर्‍याउने अभियानलाई थप गति दिएको छ।

बिहीबार काठमाडौं महानगरपालिका–११, भद्रकालीमा अवस्थित कोसेली घरको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले गरे। उद्घाटनसँगै कर्णालीका किसानले उत्पादन गरेका मौलिक बस्तु सीधै उपभोक्तासम्म पुग्ने बाटो खुल्यो।

यसअघि सहकारीले जुम्ला खलंगा, सुर्खेत विमानस्थल र नाग्म बजारमा मिनी मार्केट सञ्चालनमा ल्याइसकेको चन्दननाथ सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले बताए।

उनका अनुसार सबैतिरबाट राम्रै माग आएसँगै सहकारीले राजधानीमा आउटलेट खोल्ने निर्णय गरेको हो। काठमाडौंमा सुरु भएको कोसेली घरले अब कर्णालीका वस्तु सुपथ मूल्यमा उपलब्ध गराउनेछ।

‘यस परियोजनाले कर्णालीमा हुने रैथाने अर्गानिक उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ,’ प्रबन्धक पाण्डेले भने, ‘किसानले उत्पादन बेच्ने सहज वातावरण पाउँदा उनीहरूको आम्दानी वृद्धि हुनेछ।’

चन्दननाथ सहकारीमा अहिले २२ हजारभन्दा धेरै सदस्य छन्। सहकारी सदस्यले नगदजस्तै स्टटा (चामल) मिनी मार्केटमा बुझाएर पनि बचत गर्न सक्छन्।

यसले ग्रामीण क्षेत्रका परिवारलाई नगद अभावमा समेत वित्तीय पहुँच दिने अभ्यासलाई बलियो बनाएको छ। धेरै किसान अहिले आफ्नो उत्पादन मिनी मार्केटमा ल्याएर सीधै बेचिरहेका छन्।

काठमाडौंको कोसेली घरमा कर्णालीका ४२ भन्दा बढी प्रकारका कृषिजन्य र हस्तकला सामग्री राखिएका छन्। यहाँ उपलब्ध वस्तुहरूमा मार्सी चामल, सिमी, चिनो, कागुनो, चिया, टिमुर, मह, गहत, कोदो, जौंको सातु, फापरको पिठो, ओखर, भट्टमास, जिम्बु, लिउ, शिलाजीतजस्ता परिकारदेखि रैथाने राडीपाखी, खरायोको टोपीजस्ता हस्तकला सामग्री समेत छन्।

कर्णाली क्षेत्र अझै पनि पहुँच, पूर्वाधार र बजार सुविधामा चुनौतीपूर्ण मानिन्छ। यस्ता चुनौतीबीच किसानले उत्पादन गर्न थालेका उच्च गुणस्तरका अर्गानिक वस्तुलाई व्यापक बजार नपुग्दा धेरै पटक मूल्य घट्ने, उत्पादक निराश हुने अवस्था देखिन्थ्यो।

काठमाडौंमा खुलेको कोसेली घरले त्यस समस्यालाई कम गर्ने अपेक्षा गरिको चन्दननाथ सहकारीकी अध्यक्ष विष्णु बुढाले बताइन्। उनका अनुसार अब किसानको पसिना र मेहनत राजधानीका ग्राहकले अनुभूति गर्न पाउनेछन्।

उनले भनिन्, ‘सहकारीले यसलाई व्यवसाय नभएर समुदाय विकासको मोडल मानेको छ। उत्पादनदेखि बिक्रीसम्म किसानलाई केन्द्रमा राख्ने सोचले सहकारीलाई कर्णालीमा अग्रणी बनाएको छ।’

उनका अनुसार स्थानीय उत्पादनलाई थप पहिचान दिलाउने, उपभोक्तामा अर्गानिक बस्तुप्रति विश्वास बढाउने र किसानलाई उचित मूल्य दिलाउने कोसेली घरको मुख्य लक्ष्य हो।

सहकारीको यो प्रयासले कागुनो, चिनो, मार्सी, फापरजस्ता परम्परागत अन्नले आधुनिक बजारमा फेरि स्थान पाउन थालेका छन्। यी बस्तु पोषणका हिसाबले पनि उत्कृष्ट मानिन्छन्। त्यसैले स्वास्थ्य सचेत उपभोक्ताले कोसेली घरका वस्तु रोज्ने सम्भावना बढेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार