जुम्लाको हिमा गाउँपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि हिउँदे बिदाको अवसरमा पालिका भित्रै नि:शुल्क कोचिङ कक्षा सञ्चालन गर्ने भएको छ।
गाउँ शिक्षा समितिको मंसिर ८ गते बसेको बैठकले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन लक्षित गर्दै कोचिङ कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
समितिको निर्णयअनुसार कालिका माध्यमिक विद्यालय हिमा–१ बड्की, नेत्र ज्योति माध्यमिक विद्यालय हिमा–२ ओदि, तथा राहदेव माध्यमिक विद्यालय हिमा–३ मोफ्ला गरी तीनवटै विद्यालयका कक्षा १० का विद्यार्थीलाई यस कार्यक्रममार्फत सुविधा प्रदान गरिने छ।
पालिकाले पर्याप्त शैक्षिक तयारी, आगामी परीक्षामा राम्रो परिणाम र सिकाइ सहजताका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए।
उनका अनुसार कोचिङ कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन, तालिमप्राप्त शिक्षक परिचालन, कक्षा सञ्चालन तथा अनुगमनमा सम्बन्धित विद्यालयले सक्रिय सहकार्य गर्नेछन्।
विद्यार्थीसँग सम्बन्धित पठन पाठन सामग्री, समय तालिका तथा सिकाइ सहयोगी गतिविधि विद्यालय र पालिका समन्वयमा तय गरिने हिमाका बरिस्ठ शिक्षा अधिकृत बम बहादुर शाहले बताए।
उनका अनुसार हिउँदे बिदालाई परिणाममुखी बनाउने उद्देश्यले संचालित यो कार्यक्रमले ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त सिकाइ अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।
पालिकाले आगामी दिनमा विद्यार्थीको शैक्षिक स्तर उकास्ने यस्ता कार्यक्रम निरन्तर गर्ने हिमाकी उपाध्यक्ष सुर्पुना शाहीले जानकारी दिइन्।















