२० वर्षकै उमेरमा विद्यालयको प्रधानाध्यापक भएर कुशलतापूर्वक जिम्मेवारी सम्हाल्नु भएकी रक्षाकुमारी यादव र घोराही–१० नारायणपुरस्थित श्री सिद्धरत्ननाथ नारायणपुरमा साइन्स विषयमा प्लस टू पास गरी एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल रोशनी घर्ती मगरलाई घोराहीमा विशेष अभिनन्दन गरिने भएको छ।
राप्ती साहित्य परिषद्को आयोजनामा नेपालकै सबैभन्दा दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लाग्नु भएको नयाँ लुगा उपन्यास विमोचन समारोहमै उहाँहरूलाई विशेष अभिनन्दन गरिनेछ। सो अवसरमा अन्य विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिनेछ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा मंसिर १८ गते बिहीबार बिहान ११:३० बजे आयोजना हुन लागिरहेको उपन्यास विमोचन र विशेष अभिनन्दन कार्यक्रममा उपस्थितिका लागि राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले सबैमा अनुरोध गरेको छ।
शाखा अध्यक्ष यम रेग्मी र सचिव घनश्याम केसीले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण साहित्यकार, साहित्यअनुरागी, समाजसेवी, सञ्चारकर्मी, शिक्षाप्रेमी, अभियन्ता सबैमा अनुरोध गर्नुभएको छ।
१३ औँ उपन्यासका रूपमा विमोचन हुन लागेको नयाँ लुगा उपन्यास बाल उपन्यासका रूपमा रहेको र यसमा दुई दर्जन बढी बालकथाहरू पनि समावेश भएको उपन्यासकार प्रियासनले जानकारी दिनुभएको छ। प्रियासनले यसै वर्ष यसअघि कालो मन र कडी उपन्यास बजारमा ल्याइ सक्नु भएको छ।














