जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै चालु तथा पुँजीगत दुवै तर्फको बजेट कार्यान्वयन प्रभावकारी भएको जानकारी दिएको छ। गाउँपालिकाले सो वर्षका लागि कुल ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।
चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ १७ करोड ७३ लाख विनियोजनमध्ये क्रमशः ८७.७५ प्रतिशत र ८२.१ प्रतिशत बजेट खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले बताए।
समग्र रूपमा ४३ करोड ९७ लाख ६४ हजार अर्थात् ८५.७९ प्रतिशत बजेट खर्च भएको छ। सो आवमा ५२ योजना उपभोक्ता समितिमार्फत र ८ योजना बोलपत्र प्रक्रियाबाट सम्पन्न गरिएको छ।
उपभोक्ता समितिद्वारा सम्पन्न योजनामा विनियोजित ५ करोड ७३ लाख २६ हजार रुपैयाँमध्ये ९२.४० प्रतिशत खर्च भएको पनि प्रस्तुतिमा उल्लेख छ।
गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले वडास्तरमा अनुगमन तथा गुनासो व्यवस्थापन अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उपाध्यक्ष गोरीकला बुढाका अनुसार सुनुवाइको विश्वसनीयता बढाउन सेवा प्रदायक संस्थामार्फत कार्यक्रम सञ्चालन गरिएको हो।
सार्वजनिक सुनुवाइमा नागरिक, राजनीतिक दलका प्रतिनिधिले बजेट, सेवा प्रवाह र विकास–निर्माण सम्बन्धी प्रश्न उठाएका थिए।














