अछामको तुर्माखाँद गाउँपालिकामा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको क्याम्पसको आज एक भव्य समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ। गाउँपालिकामा पहिलोपटक क्याम्पस स्थापना हुँदै स्थानीय तहमै उच्च शिक्षाको ढोका खुलेको छ।
२०७९ को स्थानीय तह निर्वाचनपछि ‘असम्भव’ मानिएको योजनालाई व्यवहारमा उतार्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी.ले देखाएको दृढता, नेतृत्व क्षमता र दूरदर्शिताले क्याम्पस स्थापना सम्भव भएको स्थानीयवासीहरूको भनाइ छ।
सुरुमा शंका र उपेक्षाका बीच अघि बढाइएको अभियान अध्यक्ष बि.सी.को स्पष्ट प्रतिबद्धता र निरन्तर पहलका कारण सफलतामा परिणत भएको हो।
क्याम्पस स्थापनासँगै अब तुर्माखाँदका विद्यार्थीहरू उच्च शिक्षाका लागि घर छोडेर टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। यसले स्थानीय तहमा शिक्षाको गुणस्तर वृद्धि, आर्थिक बोझको कमी र भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बि.सी.ले क्याम्पस स्थापना तुर्माखाँदको दीर्घकालीन समृद्धिको आधार भएको बताए। ‘शिक्षा विकासको पहिलो ढोका हो। यो क्याम्पस हाम्रा छोराछोरीको भविष्य उज्यालो बनाउने पूँजी हो,’ उनले भने।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र सरोकारवालाहरूले क्याम्पस स्थापना तुर्माखाँद गाउँपालिकाको ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।














