शुक्रबार, २१ कार्तिक, २०८२

सार्वजनिक–निजी सम्पत्तिमा आगो झोस्नेलाई सरकारको उन्मुक्ति, देश र जनताका निम्ति गोली चलाउने सुरक्षाकर्मीलाई कारबाही !

अहिले देशमा लोकतन्त्र गणतन्त्र यथावत् छ। प्रधानमन्त्री सुशीला कार्कीले २०७२ को संविधानबमोजिम शपथ खाएकी हुन्। आउँदो फागुन २१ गते चुनाव मितिसमेत घोषणा गरिसकिएको छ। निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ राजनीतिक दल दर्ता गर्न आह्वान गरिसक्यो। बालेन र जेनजीहरूले नयाँ पार्टी खोल्ने चर्चा छ।

हावा नचलि रुखको पात झर्दैन। अहिले सार्वजनिक स्थलदेखि यातायात, चिया पसलसम्म एउटा कुराको चर्चा छ– जागिर खानुपरेमा, सरुवा, बढुवा हुनु परेमा वा ठेक्कापट्टा चाहिएमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र जेनजी अगुवा सुदन गुरुङ कहाँ जानुपर्छ। उनीहरूले मागेजति रकम बुझाएमा तत्कालै काम हुने सर्वसाधारण बताउँछन्।

बालेन र सुदनको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी हुन्। बालेनकै सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री बने। सुशीला कार्कीमा बालेन, सुशीला र सुदनका नजिकका मान्छे मन्त्री बनाइएको छ। जबकी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ८० जना युवाले ज्यान गुमाए। तिनका आमाबुबाको कोख रित्तियो। आन्दोलनकै क्रममा हजारौं घाइते भएका छन् भने कयौं बेपत्ता छन्।

जनताले तिरेको करबाट बनाइएको सार्वजनिक सम्पत्ति तथा मानिस आफैंले दुःख गरेर, रगतपसिना बगाएर जोडेको सम्पत्तिमा आगो झोसेर खरानी बनाइयो। यसले राज्यलाई खर्बौंको क्षति पुगेको छ। यता, मृतक परिवारलाई १५–१५ लाख रुपैयाँ दिनुपरेको छ। उनीहरूलाई शहीद घोषणा गरिएकोले अब महिनैपिच्छे रकम दिनुपर्छ।

नेपालको संविधान २०७२ ले भन्छ– सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरिएमा कारबाही हुन्छ। त्यस्तै, कसैलाई मारेमा, ठगेमा, चोरेमा पनि जेल जानुपर्छ। अहिले देशभरका कारागारमा हजारौं कैदीबन्दी छन्। उनीहरू यस्तै अपराध (हत्या, चोरी, लुटपाट, आगजनीलगायत) मा जेल परेका हुन्।

जेनजी आन्दोलनलाई यो तहसम्म पुर्‍याउने बालेन र नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने हुन्। त्यसपछिका नाइके हुन् सुदन गुरुङ, मिराज ढुंगा, प्रदीप ज्ञवाली, रक्षा बमलगायत। संविधान र कानूनअनुसार उनीहरू जेल जानुपर्ने स्पष्ट छ। किनकि आन्दोलनलाई अराजक, विध्वंश बनाउने उनीहरू नै हुन्।

अहिले देशमा लोकतन्त्र गणतन्त्र यथावत् छ। प्रधानमन्त्री सुशीला कार्कीले २०७२ को संविधानबमोजिम शपथ खाएकी हुन्। आउँदो फागुन २१ गते चुनाव मितिसमेत घोषणा गरिसकिएको छ। निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ राजनीतिक दल दर्ता गर्न आह्वान गरिसक्यो। बालेन र जेनजीहरूले नयाँ पार्टी खोल्ने चर्चा छ।

सिंहदरबार बालेनले जलाएका हुन् भन्ने आरोप बजारमा तीव्र रूपमा फैलिएको छ। त्यस्तै, सर्वोच्चसहित अदालतहरू जलाउने रवि हुन् भन्ने आरोप छ। त्यसकारण आउँदो चुनावमा बालेनले पार्टी खोलेर सहभागी भएपनि वा रवि नेतृत्वको रास्वपाले एक सिट पनि जित्दैन भन्ने चर्चा बजारमा सुनिन्छ।

०७९ मंसिरको चुनावमा रास्वपाले २० सिट प्रत्यक्ष जितेको थियो। यदि जेनजी आन्दोलनको क्रममा रवि जेलबाट नभागेको भए आउँदो चुनावमा रास्वपा पहिलो पार्टीसमेत बन्न सक्थ्यो। तर, रविले आफ्नो खुट्टामा आफैंले बन्चरो हाने। आन्दोलनको मौका छोपेर उनी जेलरलाई कुटेर कारागारबाट भागे। त्यो पनि हिरोजसरी, चिल्लो गाडीमा हात हल्लाउँदै।

उनको सिको गर्दै नख्खुसहित देशभरका कारागारबाट कैदीबन्दी भागे। त्यसक्रममा सुरक्षाकर्मीको गोलीबाट एक दर्जन कैदीले ज्यान गुमाए भने रविसँगै भागेका एक कैदीले आफ्नी श्रीमतीको हत्या गरे। अन्य कैदीबन्दी पनि पुनः अपराधमा संलग्न भएका छन्। जेलबाट भागेका हजारौं कैदी अझै बाहिर छन्, जसका कारण समाज असुरक्षित छ।

यो आन्दोलनले रविप्रति जनविश्वासमा ठूलो आघात पुगेको छ। यता, आफूहरूलाई जेनजी अगुवा बताउने सुदनसहित विदेशी दलाल हुन् भन्ने चर्चा पनि बजारमा व्यापक छ। उनीहरूले गरिबको नाम बेचेर विदेशबाट डलर ल्याएर पचाउने गरेको आरोप छ।

अर्को कुरा, आउँदो चुनावमा यिनीहरूले नराम्ररी हार व्यहोर्नुपर्ने देखिन्छ। जेनजीहरूको जिल्ला, वडामा संगठन छैन। जबकी राजनीतिक दलहरूले जताततै संगठन बनाएका छन्। ती संगठनमा लाखौं कार्यकर्ता छन्। चुनावमा भोट हाल्ने भनेकै कार्यकर्ताले हुन्। अनि कार्यकर्ता नै नभएपछि जेनजीलाई कसरी भोट हाल्छ र जित्नु?

०७९ वैशाखको चुनावमा बालेन काठमाडौंको मेयरमा निर्वाचित भए। उनलाई ६३ हजार बढी काठमाडौंबासीले मतदान गरेर जिताएका थिए। ०८० भदौ १६ गते शनिबार उनकी पत्नी सवार सरकारी गाडी ट्राफिकले दुई मिनेट रोक्दा बालेनले फेसबुकमार्फत सिंहदरबार जलाइदिने धम्की दिएका थिए। अहिले साँच्चिकै सिंहदरबार जल्यो, त्यो पनि बालेनकै कारण।

सिंहदरबार केवल सिंहदरबार मात्र थिएन, नेपालीको इतिहास थियो। नेपालीको मन, मुटु, मस्तिष्क सिंहदरबारसँग जोडिएको थियो। सिंहदरबार जल्दा सबै नेपालीको मन रोयो। बालेनले आफ्नो स्वार्थका निम्ति सिंहदरबारमा आगो झोस्ने लगाए। उनको योजनाले जनताले बुझ्दै गएका छन्। अहिले उनलाई भोट दिएर जिताएका काठमाडौंबासी पछुताएका छन्।

बालेनमाथि अन्य भ्रष्टाचारको आरोप पनि छ। फुटपाथमा ढुंगा टास्ने नाममा होस् या बसस्टप बनाउँदा उनले करोडौं भ्रष्टाचार गरेको आरोप छ। काठमाडौं महानगरपालिकालाई काठमाडौंबासीले कर तिर्छन्। तर, त्यो करमा बालेनले रजगज चलाएको छ। आफ्नो प्रचारप्रसारका निम्ति उनले महानगरको कर महानगरबासीको हितमा खर्च नगरी एम्बुलेन्सको नाममा बाहिर जिल्लालाई बाँडिरहेका छन्।

जेनजी आन्दोलनका क्रममा उनकै निर्देशनमा महानगरले आन्दोलनकारीलाई मिनरल वाटर बाँडेको थियो। अहिले काठमाडौंबासी बालेनलाई सोध्छन्– ‘सिंहदरबार, सर्वोच्च, संसद् भवनलगायत हाम्रो करबाट बनेका संरचनामाथि आगो झोस्नेलाई पानी बाँड्न हामीले महानगरलाई कर तिरेका हौं?’

बालेनप्रतिको जनविश्वासमा ठूलो घात पुगेको छ। अब उनले पुनः मेयर वा सांसदमा लडेपनि चुनाव नजित्ने सर्वसाधारण नै बताउँछन्।

निजामती ऐनअनुसार भ्रष्टाचार, बलात्कारमा दोषी ठहरिएमा मात्र सरकारी कर्मचारीको जागिर जान्छ। अहिले जेनजीहरूले अख्तियार प्रमुख प्रेम राई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र गर्भनर विश्व पौडेलको राजीनामा मागिरहेका छन्। तर, उनीहरू न भ्रष्टाचारमा दोषी ठहर भएका छन् न अन्य अपराधमा। आफ्ना मान्छे नियुक्त गर्नका निम्ति जेनजीहरूले उनीहरूको राजीनामा मागिरहेको प्रष्ट छ।

जनताबाट चुनिएर सदन पुगेका सांसदहरूले कानून बनाउँछन्। कुनै पनि कानून बन्दा दुई तिहाई सांसदले मतदान गर्नुपर्छ। दुई तिहाई सांसदको मतदानपछि राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैबाट पारित भएको कानूनको विधेयक राष्ट्रपति कहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपश्चात् त्यो कानून कार्यान्वयनमा आउँछ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गृह मन्त्रालय र नेपाली सेना रक्षा मन्त्रालयअन्तर्गत पर्छ। कुनै पनि आन्दोलन नियन्त्रणबाहिर पुगेमा, सार्वजनिक तथा निजी सम्पत्ति जोखिममा भएमा सुरक्षाकर्मीले गृहमन्त्री, सम्बन्धित सिडियोको आदेशबिनै गोली चलाउन सक्ने कानूनी व्यवस्था छ। सुरक्षाकर्मीले जागिर खानेबेला कसम खाएका हुन्छन्– ‘म देश र जनताका निम्ति मर्न पनि तयार हुन्छु। आमालाई झुण्डाउँछ र बाबुलाई गोली हान्न पनि तयार हुन्छु।’

जेनजी आन्दोलन नियन्त्रणबाहिर पुगेपछि ऐन, कानूनबमोजिम सुरक्षाकर्मीहरूले गोली चलाएका थिए। यो उनीहरूको दायित्व, अधिकार पनि हो। सुरक्षाकर्मी देश र जनताको रक्षक हुन्। तर, जेनजी आन्दोलनमा गोली चलाएको भन्दै सुरक्षाकर्मी सहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका सिडियो छविलाल रिजाललाई पक्राउ गर्नुपर्ने माग भइरहेको छ।

के यो कानून जेनजी आन्दोलनको क्रममा बनेको हो र? अनि किन उनीहरूलाई मात्र टार्गेट गरिएको? जेनजीहरूले सार्वजनिक, निजी सम्पत्तिमा आगो झोस्न मिल्ने अनि भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाउन नपाउने?

यदि गोली हानेकै भरमा सुरक्षाकर्मीलाई कारबाही गरिने हो भने अब सुरक्षाकर्मीले देश र जनताको सुरक्षा गर्ने छैनन्। अब राजनीतिक दलहरू एकजुट हुनुपर्छ। जनता पनि सत्यको पक्षमा लाग्नुपर्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार