शनिबार, ११ आश्विन, २०८२

नेपाली काँग्रेस, जेन्जी आन्दोलन र देउवा

लोकतन्त्रको सच्चा पहरेदार रहँदै आएका र समाज बदल्न कदमजमका प्रवर्तक, कमैया मुक्ति घोषणा, महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता दर्जनौं आयोगहरू गठन गरी आवाजविहीनहरूको पक्षमा काम गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत जेन्जी आन्दोलनमा पीडित हुनुपर्‍यो।

नेपाली काँग्रेस देशको सबैभन्दा पुरानो राजनीतिक इतिहासमा एक अत्यन्त महत्वपूर्ण लोकतान्त्रिक ऐतिहासिक दल हो। यसले नेपालको प्रजातान्त्रिक यात्रामा निर्णायक भूमिका खेलेको छ।

२००७ सालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न नेपाली काँग्रेसले सशस्त्र क्रान्तिको नेतृत्व गर्‍यो। २०१५ सालको पहिलो आम निर्वाचनमा यो पार्टीले बहुमत प्राप्त गरी देशलाई पहिलोपटक निर्वाचित सरकार दियो।

पञ्चायती व्यवस्थाको विरोधमा यसले दीर्घकालीन संघर्ष गर्‍यो, जसको परिणामस्वरूप २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो। त्यस्तै, २०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि नेपाली काँग्रेसले अन्य दलहरूसँग मिलेर सक्रिय भूमिका खेलेको थियो, जसले नेपालमा पूर्ण लोकतान्त्रिक शासन प्रणाली स्थापनामा मद्दत गर्‍यो।

संविधान निर्माणको प्रक्रियामा समेत यसको योगदान उल्लेखनीय छ। यसैले, नेपाली काँग्रेस नेपालको लोकतान्त्रिक विकास र परिवर्तनको अग्रणी शक्तिका रूपमा रहँदै आएको छ। जसको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक योगदान अत्यन्त महत्वपूर्ण रहेको छ।

पार्टीलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन विभिन्न रणनीतिक उपायहरूको आवश्यकता छ। सबैभन्दा पहिला जनताको विश्वास जित्नु अत्यावश्यक छ, जसका लागि पार्टीले स्थानीय, सामाजिक र आर्थिक समस्याहरूको पहिचान गरी समाधानका ठोस योजना ल्याउनुपर्छ, जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्छ र विकास तथा सुधारका योजना कार्यान्वयन गर्नुपर्छ।

सामाजिक सञ्जाल र प्रचारका माध्यमहरू प्रभावकारी रूपमा प्रयोग गरी पार्टीको सन्देश तीव्र गतिमा जनता समक्ष पुर्‍याउन सकिन्छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा सक्रिय भएर पार्टीको सकारात्मक छवि निर्माण गर्न सकिन्छ।

अन्ततः, पार्टीले लोकतान्त्रिक, नैतिक र पारदर्शी अभ्यासलाई आत्मसात गर्नुपर्छ। भ्रष्टाचारको कडा विरोध गरी पारदर्शी प्रशासनिक कार्यशैली अपनाउने हो भने मात्र नेपाली काँग्रेसले जनताको दिगो विश्वास जित्न सक्छ र आधुनिक नेपाल निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सक्छ।

यसै सन्दर्भमा भर्खरै भएको जेन्जी (Gen Z) आन्दोलन नयाँ पुस्ताको सोच, प्रविधि, समानता, पारदर्शिता, वातावरणीय संरक्षण र सामाजिक न्यायप्रतिको उच्च संवेदनशीलतामा आधारित हो भनेर स्वीकार गर्न हामी हिच्किचाउन हुँदैन। नेपाली काँग्रेस पार्टीले यो आन्दोलनको मर्म आत्मसात गर्नका लागि आफूलाई समयानुकूल रूपान्तरण गर्न आवश्यक छ।

पार्टीले युवापुस्ताको आवाज सुन्ने र उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने वातावरण बनाउनुपर्छ। साथै, पार्टीभित्र युवा नेतृत्व विकास गर्ने अवसर प्रदान गरेर जेन्जी पुस्ताको आकांक्षा र दृष्टिकोणलाई संस्थागत गर्न सकिन्छ। यसरी नेपाली काँग्रेसले जेन्जी आन्दोलनको भावना आत्मसात गर्दै नयाँ पुस्तासँगको सहकार्यद्वारा लोकतन्त्रलाई अझ सुदृढ बनाउन सक्छ।

जेन्जी आन्दोलनका उद्देश्यहरू पवित्र हुँदाहुँदै पनि आन्दोलनमा देशी विदेशी चलखेल, घुसपैठ र आन्दोलनमा देखिएको अराजकताले समग्र देश र लोकतन्त्रलाई नै खतरामा पुर्‍याउने सम्मका हर्कत भए। देशका महत्वपूर्ण संरचनाहरू ध्वस्त भए र लगभग ७४ जनाको अनाहकमा ज्यान गयो र सयौंको संख्यामा घाइतेहरू उपचाररत छन्। समग्रमा देश नै संकटको भुमरीमा पर्न सक्ने अवस्थामा छ। यसबाट हामीले गम्भीर हुँदै पार्टीभित्र छलफल गर्न जरुरी छ।

लोकतन्त्रको सच्चा पहरेदार रहँदै आएका र समाज बदल्न कदमजमका प्रवर्तक, कमैया मुक्ति घोषणा, महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता दर्जनौं आयोगहरू गठन गरी आवाजविहीनहरूको पक्षमा काम गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत जेन्जी आन्दोलनमा पीडित हुनुपर्‍यो।

हिजो पञ्चायतदेखि हरेक खाले निरंकुशताका विरुद्ध लडेका देउवाले नाति पुस्ताको चोटको समेत सामना गर्नुपर्‍यो। लोकतन्त्रमा प्रगाढ विश्वास भएकैले अरू नेता घर छोडेर भागेपनि देउवा घर छोडेर भागेनन् र नाति पुस्ताको चोटको सामना गरे।

देउवा दम्पतिको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्न चाहन्छु र देउवा अस्पतालको बेडमा रहेको अवस्थामै नेतृत्व परिवर्तनका नाममा हस्ताक्षर अभियान चलाईनु दुखद रहेको समेत स्मरण गर्न चाहन्छु।

अब नेपाली काँग्रेसलाई प्रभावकारी रूपमा अगाडि बढाउनका लागि पार्टीभित्र आन्तरिक सुधार, युवा सशक्तिकरण, जनताको विश्वास जित्ने काममा ध्यान दिनुपर्छ। साथै, एकता र सहकार्यमा आधारित रणनीतिहरू अपनाउँदै नेपालका विभिन्न समुदायहरूको हित र विकासका लागि समर्पित रहनुपर्छ।

राजनीतिक नेतृत्व र नीति स्पष्टता, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र लोकतान्त्रिक आस्थामा विश्वास पार्टीको भविष्यको सफलता तय गर्ने प्रमुख आधार हुन सक्छन् भन्नेमा हामी दृढ एवम् स्पष्ट हुनुपर्दछ।

(लेखक न्यौपाने नेपाली काँग्रेसका युवा नेता हुन्।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार