नेपालको विगतको इतिहास कोट्याउँदा हामीले सधैं पृथ्वीनारायण शाहलाई स्मरण गर्नैपर्छ। उहाँ नेपालको परिकल्पनाकार र राष्ट्रनिर्माताका रूपमा उदाएका थिए।
उहाँको अवसानपछि जेठो छोरा प्रताप सिंह शाहले राजकाज सम्हाल्नुभयो। तर उहाँको पनि केही समयमै देहावसान भयो। त्यसबेला रणबहादुर शाह सानै भएकाले शासन सञ्चालनको जिम्मा रानी राजेन्द्रलक्ष्मी र बहादुर शाहले नायबका रूपमा वहन गरे।
यही समयमा भारतमा इस्ट इण्डिया कम्पनीको उदय भइसकेको थियो। अंग्रेजहरूले भारतलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएपछि नेपालको खनिजसंपन्न भूभागमाथि पनि आँखा लगाए।
तर वीर नेपाली सपूतहरूले आधुनिक हतियारसहित आएका अंग्रेज सेनासँग गुलेली, ढुङ्गा र लाठीको भरमा साहसिक युद्ध लडे। उनीहरूको वीरता र अदम्य आत्मबलकै कारण आज पनि नेपालीलाई विश्वले “विर गोर्खाली” भनेर गर्वका साथ सम्झन्छ।
नेपालको इतिहासमा जहानिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध निरन्तर संघर्ष भएका छन्। असंख्य क्रान्तिहरूको परिणामस्वरूप २०६२/६३ सालको जनआन्दोलनपछि गणतन्त्रको उदय भयो। यसअघि भएको दशकौँ लामो जनयुद्ध अन्त्य भयो। यो गणतन्त्र सहजै प्राप्त भएको होइन; यसमा हजारौँको बलिदान समावेश छ।
तर जनताको शासन स्थापनापछि पनि अपेक्षित विकासको गति लिन सकिएन। रोजगारी सिर्जना हुन सकेन, जसका कारण लाखौँ युवाहरू पेट पाल्न र भविष्य सुरक्षित गर्न विदेशिन बाध्य भए। देशभित्र व्यापक भ्रष्टाचार, बेथिति र अव्यवस्थाले जनताको विश्वासमा घात गर्यो। यही निराशाबाट जेन जी पुस्ताको आन्दोलन जन्मिएको हो।
यो आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाइने भनिएको थियो। तर विभिन्न घुसपैठीयाहरूको कारण यस आन्दोलनले हिंसात्मक रूप लियो। कैयौँ युवा सहिद हुन पुगे, अर्बौँ मूल्यबराबरको राष्ट्रिय सम्पत्ति नष्ट भयो। यसले गर्दा देश अझै पचास वर्ष पछाडि धकेलिएको छ र ऋणभार थपिँदै गएको छ।
यसमा कतै बाह्य शक्तिको हस्तक्षेप त छैन भन्ने प्रश्न उठ्छ। भारतले आफ्ना निकायमार्फत हस्तक्षेप गरेको आशंका गर्न सकिन्छ। हालै मात्र भारत र चीनबीच लिपुलेख प्रयोग गरेर व्यापारिक सम्झौता भएको थियो। तर नेपालले यसलाई निरन्तर विरोध गर्दै आएको छ, किनभने सुगौली सन्धिअनुसार काली नदीको पूर्वपट्टि पर्ने लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको भूभाग हो।
भारतले यसलाई आफ्नो दाबी गर्दै आएको छ तर नेपालसँग प्रामाणिक ऐतिहासिक कागजात छन्। सम्भवतः यही प्रमाणलाई कमजोर पार्न घुसपैठमार्फत सिंहदरबार जलाउने जस्ता घटनाहरू गराइएको हुन सक्छ। राष्ट्रको सम्पत्ति जल्नु भनेको हामी सबैलाई ठूलो घाटा हो।
दोस्रो जनआन्दोलनपछि नेपालको संविधान निर्माण भएको छ। यस संविधानमार्फत हामीले ठूलो उपलब्धि हासिल गरेका छौँ। यद्यपि, संविधानको कार्यान्वयनमा अझै चुनौती छन्। हालै प्रधानमन्त्रीले राजीनामा गरिसक्नु भएको छ।
अब नयाँ सरकार गठन हुने प्रक्रियामा छ। यसपटक सरकार निर्माण गर्दा संविधानलाई नछलिने, राष्ट्रिय सार्वभौमिकतामा आघात नपर्ने र अर्को मुलुकले हाम्रो कमजोरीको नाजायज लाभ नलिने गरी सचेत रहनुपर्ने आवश्यकता छ।
अन्ततः, मेरो जेन जी पुस्ताप्रति विशेष अपिल छ, तपाईंहरूको आन्दोलन असल सोच र न्यायको मागबाट सुरु भएको हो। त्यसैले यसलाई अहिंसात्मक र रचनात्मक बाटोमै अघि बढाउन आवश्यक छ।
बाह्य शक्तिहरूको घुसपैठ र राज्यप्रति आक्रोशले गर्दा देशलाई अझै पछाडि धकेल्ने काम नगर्नुहोस्। हामीले विगतका बलिदान, वर्तमानका चुनौती र भविष्यको सम्भावना सबैलाई ध्यानमा राख्दै अघि बढ्नुपर्छ। राष्ट्रिय एकता, संविधानको रक्षा र सार्वभौमिकताको संरक्षण आजको प्रमुख आवश्यकता हो।















