मदन भण्डारीको जबजको लाइनमा छ एमाले? यही हो जबजको सिद्धान्त? जसले जबजको सिद्धान्त दिएका थिए, उनी राजालाई श्रीपेच छोडेर मैदानमा बोलाइरहेका थिए। उनैको सिद्धान्त माथि टेकेर विद्यार्थीमाथि गोली वर्षाउने को हो? त्यहाँ युवा थिए कि थिएनन्? झोले बन्ने मात्रै छैनन्, पक्कै त्यहाँ पनि जबजको पक्षमा कोही त होला?
बिपीको समाजवाद लागू भएको भए नेपालमा भएका सबैसँग एउटा घर, एउटा गाई अनि घरको एक जनालाई जागिर हुन्थ्यो। यसमा न कुनै जात छुट्थ्यो, न कुनै वर्ग छुट्थ्यो। अरू त थाहा छैन तर देश खुशी रहन्थ्यो।
बिपी गएको कति वर्ष भयो? के छ जनताको घरको हालत? गोठमा गाई त छोडौँ, गाउँ रित्तिएका छन्। हाम्रो तिर त चलन जस्तै छ, एउटा घर बनायो भने पाँच वर्षमै पूरै परिवार बैंगलोर भासिन्छ। लालाबाला नशामा।
बिपीको सिद्धान्तमा छ कांग्रेस? कांग्रेस के गरिरहेको थियो यत्तिका वर्ष? जल, जमिन, उद्योग कारखाना सबै बेचिसकेपछि शरणार्थीका नाममा जनता बेच्दै थिए। हैन र? यो भन्दा बढी के हुन सक्थ्यो? अझै शेरबहादुर दाइ, तिम्रो योगदान छ रे! हो, योगदान छ शेरबहादुर दाइको, आज देश रित्तो बनाउनमा, बिपीलाई सिद्धाउनमा।
कस्को पक्षमा छ आजको कांग्रेस? बिपि वा शेरबहादुर देउवाको? जबर्जस्ती जनता बेचिरहेको थियो कांग्रेस। देश बस्न लायक छैन भन्दै देशबिहीन शरणार्थीको ठाउँमा जनता बेच्दै थियो। यो भन्दा बढी मानवताविरोधी को हुन सक्छ? यही हो योगदान शेरबहादुर दाइको? कि संरक्षण गर्नु योगदान हो?
के गरोस् जेन जी पुस्ता, आफैलाई जबर्जस्ती बेच्न थालेपछि मान्छे लड्छ। लड्यो जेन जी पुस्ता। आगो लाग्यो, सकियो। फेरि बनाउँला। योजनाका उपभोक्ता समितिले गर्नुपर्ने १० प्रतिशत काम कसैले इमान्दारीका साथ गरेको छ यो देशमा? जलिसक्यो, सकियो। बनाउन तयार हौँ, १० प्रतिशत मात्रै श्रमदान गरी हेरौँ त?
मदन भण्डारीको जबजको लाइनमा छ एमाले? यही हो जबजको सिद्धान्त? जसले जबजको सिद्धान्त दिएका थिए, उनी राजालाई श्रीपेच छोडेर मैदानमा बोलाइरहेका थिए। उनैको सिद्धान्त माथि टेकेर विद्यार्थीमाथि गोली वर्षाउने को हो? त्यहाँ युवा थिए कि थिएनन्? झोले बन्ने मात्रै छैनन्, पक्कै त्यहाँ पनि जबजको पक्षमा कोही त होला?
अहो जग्गा काण्ड! देशमा आज जल्दै गरेका संरचना जति छन्, ती बाहेक अन्य कुनै जग्गा बाँकी छ निजि व्यक्तिको नाममा जान? हेरेर हेरौँ आफ्नै वरिपरि, के जेन जी पुस्ता बुझ्दैन लाग्थ्यो? बुझ्छ, सदन प्रयोग गरेर खुलेआम भ्रष्टाचार भइरहेको।
गिरिबन्धु टी स्टेटमा के भएको थियो? भ्रष्टाचारका लागि सदन प्रयोग भएको होइन? यही हो जबजको लाइन? एक दिन गन्दै जाँदा पचास काण्ड पुगेका थिए। सिद्धान्तविहीन, योजनाविहीन सजिलो कस्तो सजिलो हो? के हो यो? किन भयो यो? कम्युनिस्टहरू पूँजीवादको संरक्षणमा कसरी पुगे?
लोकतन्त्रमा एक जना माथिको अन्यायको जिम्मेवारी राज्य लिनुपर्छ / हुनुपर्छ। यहाँ २०/२० जना विद्यार्थीलाई २/३ घण्टा मारिदिन्छौँ? अनि नाम दिन्छौँ लोकतन्त्र?
नजल्नुपर्ने थिए, जले महत्त्वपूर्ण चिजहरू। जेन जी पुस्ता को आँखा छलेर अपराधीलाई जेलबाहिर निकाले। आफ्ना सम्पूर्ण कर्तुत जलाए, सेटिङ चलिरहेको छ। यसमा माओवादीको हात छ, किनकि उनीहरूले दश वर्षको गृहयुद्धमा जेन जी पुस्ता को त्यो बेलाको अवस्था, एकदम नाजुक राजा, युवा बेरोजगार, समाज चरम छुवाछूत र भेदभावमा, चरम आर्थिक असमानतामा, भोगिरहेको बेलामा मौका उठाए। सत्ता पुगेपछि बिग्रिए। कहाँ कहाँ बिग्रिए भन्ने सम्झना त छ नि?
मेरो व्याख्यासहितको असहमति:
यो देशमा लोकतन्त्र प्रचण्डले ल्याएका थिएनन्। त्यो बेला अहिलेका जेन जी पुस्ता उमेरका १३ देखि २९ वर्ष उमेरकाले ल्याएका थिए। आज देशमा जे जति छ, त्यो हिजोका जेन जी पुस्ता को देन हो। यो कुरा अहिले युद्ध लडिरहेका जेन जी पुस्ताले मनन गरून्। हिजोको जेन जी पुस्ताले लडी ल्याएको उपलब्धि हाम्रो पनि हो।
आज जेन जी पुस्ता सङ्ग काँध मिलाउँदै राष्ट्रलाई क्षति पुर्याउनेदेखि लिएर केही अन्तर्राष्ट्रिय मिडिया सम्म चलखेलमा उत्रिइसकेका छन्। अन्तर्राष्ट्रिय मिडियाले त के बोलिरहेको छ भने, “सामाजिक सञ्जाल बन्द गरेर यो आन्दोलन भएको हो” भन्ने भाष्य निर्माण गरिसकेको छ।
जबकि तेस्रो नम्बरको मुद्दा किन अन्तर्राष्ट्रिय मिडियाले पहिलो नम्बरमा छाप्दैछ? च्याट जीपीटी किन त्यो भन्छ? एक नम्बरमा कसरी पुग्यो? सामाजिक सञ्जाल चलाउन नपाएर सांसद भवनमा आगो लगाए भनेर? यस्तो किन?
एक नम्बरमा उठाइएको मुद्दा हराउन कसरी सक्यो? भ्रष्टाचार होइन, सञ्चारको आन्दोलन थियो भन्ने भाष्य किन बनाउँदै छन्? यथास्थितिवादी कवि लेखक यान्तान भन्दै गलत साबित गर्न लागिपरेका छन्।
भइहाल्यो नि त, भन्दै पुरानालाई धोइ पखाली ल्याउने प्रयास भइरहेको त हैन? सोचौँ।
खासमा, अहिले देशमै केही गर्नुपर्छ भन्ने हुटहुटी भएका युवाको आह्वानले आन्दोलन सुरु भएको थियो। किन सुरु भएको थियो भने, म भन्छु, किनकि म भोगिरहेको छु।
तपाईँको शासनमा २५ किलोमिटरको यात्रामा पनि सिन्डिकेट छ। जनताले महँगो भाडा तिर्नै परेको छ। तपाईँ केन्द्रमा कम्पनी दर्ता गर्न पैसा लाग्दैन भन्नुहुन्छ। स्थानीय तहमा सूची दर्ताको ६ हजार भन्नुहुन्छ? ६ हजार तिरेर कम्पनी खोल्नु भन्दा आठ हजार तिरेर कोरियन भाषा सिक्छु भन्छ।
सोच्न बाध्य बनाउनुहुन्छ। हामी बाध्य भएका छौँ, विदेशको लाइनमा लाग्न। मलाई विदेश जानु छैन, म लडेर भए पनि देश बस्न चाहन्छु।
तिमी यस्ता नीति नियम कसरी बनाउन सक्छौ? केन्द्रीयबाट घोषणा गर्छौ – फलानो ठाउँमा राष्ट्रिय गौरवको सिँचाइ आयोजना। अनि तिम्रा कार्यकर्ता कहाँसम्म चलाख छन् भने त्यही ठाउँ झ्याली पिटेर, “यो ठाउँ अब कस्तो न कस्तो हुन्छ, बस्न योग्य हुन्छ” भन्छन्। अनि २ आना सम्म पनि जग्गा खण्डिकरण गर्न पाइने नीति ल्याउँछौ।
सिँचाइ कुलाको वरिपरिको जग्गा बस्न योग्य हो कि खेती गर्न योग्य हो? बिपीको समाजवाद र जबज यही विकास भन्छ हो? त्यस्तो ठाउँमा जग्गा खण्डिकरणको नियम कडाइ गरेर राज्यको लगानीको सम्मान गर्नुपर्ने होइन?
जग्गा खण्डिकरण गरी व्यापार गर्ने नीति किन ल्याउँछन्? तिमीहरूले यस्ता नीतिको नाम दिएका छौँ, जनतालाई सजिलो बनाउन र यसलाई राजनीति भन्छौ। कति भनौँ पाईला पाईलामा आत्मसम्मान गिराइएका घटना।
निष्कर्षमा भन्दा म पनि थिएँ एक पार्टीमा, छोडेको धेरै भयो। त्यस पार्टीको कार्यालय कार्यकर्ताले श्रमदान गरी बनाएका थिए। हिजो जेन जी पुस्ताले जलायो। जेन जी पुस्तालाई पनि थाहा रहेछ, त्यस पार्टीको संरक्षकले पार्टी कार्यालय भन्दै श्रमदान गरायो र अन्त्यमा रिसोर्ट बनायो, कार्यकर्ता ठगे, जनता ठगे। आगो लगाएछन् रिसोर्टमा। नझुक्किनु होला, त्यो पार्टी कार्यालय थिएन, रिसोर्ट थियो।
कोही आफू जस्तै देखिनुको ठूलो घाटा आफैलाई हो। जेन जी पुस्ताले त्यो महसुस गरून्। बुझून्। केही त बुझ्यो पनि होला। जेन जी पुस्ता मा ठूलो पीडा थियो, निराशा थियो, पोखिने समय मिल्यो, पोखियो। मान्छेको ज्यान भन्दा कागजात ठूलो होइन।