सोमबार, २४ कार्तिक, २०८२

असारको झरी, बजेटको हतारि : विकासको रमिता

यो हतारको हाइपमा बजेट बगाउनुको रमिता जो गजब छ ! सुधारेर सुख्खा याममा काम गर्न सकिन्छ, तर हिलोमा हाम्फाल्दै बिल फुलाउने यो ‘परम्परा’ किन तोड्नु ? र कसका लागि सुधार्नु ?

लामो खडेरीपछि पहिलो झरीले नेपालमा विकासको जादु बोकेर आउँछ। गाउँदेखि सहरसम्म सडक खन्ने, खाल्डो पुर्ने, कलकत्रे बनाउने, पुल मर्मत गर्ने, ग्याबिन पर्खाल ठड्याउने, भवन ढलान गर्ने होड चल्छ।

हिलोमा डोजर र टिप्परको नाच देख्दा लाग्छ, यो त हाम्रो मौलिक विकासको तमासा हो, कसैलाई लाग्दो हो—यो त हाम्रो पहिचान हो !

परन्तु यत्ति भएपछि बुझ्नुपर्ने कुरा के हो भने—अब त यो दृश्यले आर्थिक वर्ष सकिन लागेको संकेत गर्छ, बजेटको आयु अब केही समयमै ल्याप्स हुन लागेको छ। यसैको डरले असारको भेलमा सबै काम ठेल्नुपर्ने फुर्सदिलो बाध्यता बाँकी नौ महिनासम्म हराउँछ !

नेपालको आर्थिक वर्ष साउन १ मा सुरु भई असार मसान्तमा टुंगिन्छ। यो परम्परा २०१५ सालदेखि चलेको भनिन्छ—भारतको नक्कलमा। यद्यपि किटान गरेर भन्न सकिने स्थिति र तथ्य छैन।

भारतमा बजेट भाषण बेलुकी ४ बजे हुन्थ्यो, लन्डनका लर्डहरूले बिहान १० बजे रेडियोमा सुन्न सकून् भनेर हो रे ! हामीले पनि त्यही समय सापटी लिएर परम्परा बनायौं कि ? भारतमा आर्थिक वर्ष अप्रिल–मार्च छ, हाम्रोमा साउन–असारको मध्य बर्खायामी चक्र। जनवरी–डिसेम्बर वा वैशाख–चैतमा सार्न सकिन्छ, तर किन सुधार गर्ने र ?

१२ महिनाको बजेट ३ महिनामा सक्दाको मजा बेग्लै छ, जसलाई शब्दले बयान गर्न सकिँदैन। यो मौलिक चलनलाई कसले, किन छोड्नु पर्ने हो र ?

असारको हिलोमा २० हजारको ढुंगा ५० हजार, ३० ट्रिप गिट्टी ५० ट्रिप, ५०० बोरा सिमेन्ट १००० बोराको बिल बन्छ। ६ इन्चको पाइप १० इन्च लेखिदिए पनि हिलोले छोपिहाल्छ। नापजाँच त बाढीपहिरोसँगै बगेर सकिन्छ वा त्यो त बर्खाको भेलले बगाउँछ !

अर्को वर्ष फेरि यही चक्र—बजेट भाषण, योजनाको तामझाम, तर अन्तिममा काम असारमा आएर ठेलिन्छ। पुल बग्छ, कालोपत्रे उक्किन्छ, तर ‘काम सफल’ भन्ने त पैसा सकिनु हो, हैन र ? पैसा सकिनु नै सफल काम हुने मान्यता पनि कम रोचक र चाक लाग्दो छैन।

यो विकासको नाटक हरेक असारमा मञ्चन हुन्छ। हाम्रा आँखाले हिलोको तमासा देख्छ, पाइताला भेलमा धसिन्छ, तर हामी हाँस्दै ताली बजाउँछौं। किन ?

यो हतारको हाइपमा बजेट बगाउनुको रमिता जो गजब छ ! सुधारेर सुख्खा याममा काम गर्न सकिन्छ, तर हिलोमा हाम्फाल्दै बिल फुलाउने यो ‘परम्परा’ किन तोड्नु ? र कसका लागि सुधार्नु ?

आखिर, असारको झरीमा बजेट बगाएर विकासको ढोल पिट्न कसलाई रमाइलो लाग्दैन र ? हामीले सबै छोड्न सक्छौं, तर परम्परा किन छोड्नु ? त्यो पनि मौलिक !

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार