नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले पार्टीको १५औँ महाधिवेशनमा पुनः केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
स्थानीय सरकारको अनुभव, सामाजिक सेवा तथा व्यवसाय क्षेत्रबाट हासिल गरेको व्यवस्थापन अनुभवलाई राजनीतिक यात्राको आधार बनाउँदै आएकी खड्काले केन्द्रीय राजनीतिमा आफ्नो भूमिकालाई निरन्तरता दिने तयारी गरेकी हुन्।
चन्दननाथ नगरपालिकाको उपप्रमुखका रूपमा उनले न्यायिक समितिको संयोजनसँगै योजना निर्माण, बजेट विनियोजन, विकास आयोजना छनोट तथा अनुगमनलगायत जिम्मेवारी सम्हाल्दै आएकी छन्।
राजनीतिमा सक्रिय हुनुअघि व्यवसाय क्षेत्रमा संलग्न खड्काले आफ्नो व्यवसायमार्फत रोजगारी सिर्जना गर्दै आएको बताउँदै आएकी छन्। रोजगारी तथा आयआर्जनका अवसर विस्तार, युवालाई उत्पादनमूलक गतिविधिमा जोड्ने र महिला सहभागिता बढाउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राख्दै आएको बताइन्।
कांग्रेसको संगठन निर्माण, कार्यकर्ता तथा नागरिकसँगको निरन्तर सम्बन्ध र स्थानीय तहको अनुभवलाई आफ्नो राजनीतिक यात्राको आधार बनाएकी खड्काले १५औँ महाधिवेशनमा पुनः केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको उनको भनाइ छ।
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। खड्काको उम्मेदवारीलाई उनका समर्थकहरूले महिला नेतृत्व, स्थानीय तहको अनुभव र सामाजिक क्षेत्रमा सक्रियताको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्।
















