कानूनले छुवाछुतलाई अपराध घोषणा गरिसकेको छ, तर सोच परिवर्तन हुन समय लाग्छ। वास्तविक समानता केवल कागजमा होइन, व्यवहारमा देखिनुपर्छ।
मानव समाजको इतिहास हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, मानिस स्वतन्त्र जन्मिन्छ, तर समाजले उसलाई विभिन्न वर्ग, जात, धर्म र पहिचानमा बाँड्छ।
यही विभाजन कहिले सांस्कृतिक विविधताको रूपमा सुन्दर देखिन्छ भने कहिले विभेद र अन्यायको कारण बन्छ। आजको संसारमा सबैभन्दा ठूलो प्रश्न यही हो: के हामी साँच्चै समान र स्वतन्त्र छौं
धर्म मानिसको आस्था हो, पहिचान हो, आत्मिक शान्तिको माध्यम हो। कसैले मन्दिरमा पूजा गर्छ, कसैले मस्जिदमा नमाज पढ्छ, कसैले चर्चमा प्रार्थना गर्छ, कसैले गुम्बामा ध्यान बस्छ। विविध आस्था हुनु मानव सभ्यताको स्वाभाविक विशेषता हो।
दक्षिण एशियाको सन्दर्भमा हेर्दा नेपाल जस्तो देशमा हिन्दु, बौद्ध, मुस्लिम, इसाई, किराँत लगायतका समुदाय शताब्दीयौँदेखि सँगै बस्दै आएका छन्। संविधानले सबैलाई आफ्नो धर्म मान्ने वा परिवर्तन गर्ने स्वतन्त्रता दिएको छ। तर व्यवहारमा कहिलेकाहीँ धर्मकै नाममा विभाजन, घृणा र राजनीति हुने गरेको देखिन्छ।
साँचो सहअस्तित्व भनेको आफ्नो आस्था जोगाउँदै अर्काको आस्थाको सम्मान गर्नु हो। धर्मले यदि प्रेम, सहिष्णुता र नैतिकता सिकाउँछ भने त्यो समाजको शक्ति हो; यदि घृणा र विभाजन सिकाउँछ भने त्यो कमजोरी हो।
जातीय विभेदको विडम्बना
एउटै देश, एउटै भाषा, कहिलेकाहीँ एउटै धर्म मान्ने मानिसहरूबीच पनि जातको आधारमा विभेद हुनु ठूलो विडम्बना हो। छुवाछुत, माथिल्लो तल्लोको सोच, सामाजिक बहिष्कार, यी सबै प्रचलनले हजारौँ मानिसको आत्मसम्मानमा चोट पुर्याएको छ।
कानूनले छुवाछुतलाई अपराध घोषणा गरिसकेको छ, तर सोच परिवर्तन हुन समय लाग्छ। वास्तविक समानता केवल कागजमा होइन, व्यवहारमा देखिनुपर्छ। जबसम्म एक जना मानिस आफूलाई अपमानित महसुस गर्छ, तबसम्म समाज पूर्ण रूपमा सभ्य भन्न सकिँदैन।
वर्गीय समाज र शक्ति सन्तुलन
समाज सधैँ वर्गमा विभाजित रह्यो, धनी र गरिब, मालिक र मजदुर, शासक र शासित। इतिहासमा हलिया, कमैया जस्ता श्रम प्रणालीहरूले धेरैलाई शोषणमा राख्यो। जब ती व्यवस्थाहरू अन्त्य भए, परिवर्तनले केहीलाई राहत दियो र केहीलाई असहज बनायो।
प्रसिद्ध दार्शनिक कार्लले भनेका थिए कि समाजको इतिहास वर्ग संघर्षको इतिहास हो। अर्थात्, शोषित वर्गले अधिकार खोज्दा परिवर्तन अनिवार्य हुन्छ। तर परिवर्तन केवल सत्ता परिवर्तन मात्र होइन, चेतनाको परिवर्तन पनि हुनुपर्छ।
यदि हिजो शोषित वर्ग आज सशक्त बन्छ भने त्यो न्यायको प्रक्रिया हो। तर नयाँ शक्ति पनि यदि अहंकार र अन्यायमा बदलियो भने फेरि अर्को असन्तुलन पैदा हुन्छ। त्यसैले लक्ष्य बदला होइन, सन्तुलन र न्याय हुनुपर्छ।
लैङ्गिक समानता
लैङ्गिक विभेद पनि समाजको ठूलो समस्या हो। महिला, पुरुष र अन्य लैङ्गिक पहिचान भएका व्यक्तिहरू सबैलाई समान अवसर र सम्मान मिल्नुपर्छ। शिक्षामा, रोजगारीमा, राजनीतिमा, घरपरिवारमा जहाँ पनि असमानता छ, त्यहाँ सुधार आवश्यक छ।
समानता भनेको सबैलाई एउटै भूमिका दिनु होइन; समान अवसर र सम्मान दिनु हो। जब समाजले महिलालाई दोस्रो दर्जाको नागरिक ठान्दैन, तब मात्र वास्तविक विकास सम्भव हुन्छ। स्वतन्त्रता र जिम्मेवारी सबैलाई आफ्नो विचार राख्ने अधिकार छ।
लोकतन्त्रको सुन्दरता नै यही हो। तर स्वतन्त्रता सँगै जिम्मेवारी पनि आउँछ। मेरो स्वतन्त्रता त्यतिसम्म मात्र हो, जहाँसम्म त्यसले अर्काको अधिकारमा चोट पुर्याउँदैन।
आज सामाजिक सञ्जाल र राजनीतिक बहसमा मानिसहरू सजिलै एकअर्कालाई अपमान गर्छन्। तर वास्तविक परिवर्तन संवाद, शिक्षा र सहकार्यबाट आउँछ।
‘जनता इतिहासका निर्माता हुन्’ भन्ने विचारले देखाउँछ कि परिवर्तनको स्रोत जनतामा हुन्छ। जब जनता सचेत हुन्छन्, अन्यायविरुद्ध आवाज उठाउँछन्, तब समाज अगाडि बढ्छ।
तर इतिहास लेख्ने क्रममा हामीले विगतका त्याग र बलिदानलाई बिर्सनु हुँदैन। अधिकार सहजै प्राप्त भएका होइनन्; धेरै संघर्षपछि आएका हुन्। समानता, स्वतन्त्रता र न्याय कुनै एक दिनमा प्राप्त हुने लक्ष्य होइनन्; ती निरन्तर यात्रा हुन्।
जातीय विभेद, वर्गीय शोषण, लैङ्गिक असमानता र धार्मिक असहिष्णुता हटाउन शिक्षा, चेतना र मानवीय संवेदनशीलता आवश्यक छ।
हामी सबैले आफूलाई पहिले ‘मानव’को रूपमा हेर्न सिक्यौं भने मात्र समाजमा साँचो सम्मान र अस्तित्व स्थापित हुन्छ। समाज परिवर्तनको जिम्मा अरू कसैको होइन हामी सबैको हो।
जब हामी आफ्ना अधिकार जोगाउँछौं र अरूको अधिकारको सम्मान गर्छौं, तब मात्र न्यायपूर्ण र सभ्य समाजको निर्माण सम्भव हुन्छ।














