सोमबार, २ असार, २०८२

पातारासीमा सुनमाया बुढा सहित आठ जना खेलाडीलाई सम्मान

सम्मानित हुनेमा अल्ट्रा धावक सुनमाया बुढा, राममाया बुढा, कल्पना बुढा, रेजिना भण्डारी, समिता बुढा, मिमु बुढा, विश्वरुपा बुढा र दिपेन्द्र बोहोरा रहेका छन्।

पातारासी गाउँपालिकाले चर्चित अल्ट्रा धाविका सुनमाया बुढा सहित आठ जना खेलाडीलाई सम्मान गरेको छ। जुम्ला बजारबाट बाजासहित भव्य स्वागत गर्दै उनीहरूलाई गाउँपालिकासम्म पुर्‍याइएको थियो।

खेलकुदका माध्यमबाट देश र क्षेत्रको प्रतिष्ठा बढाएका कारण उनीहरूलाई नगद, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराकाले बताए।

उनले भने, “अनुसार खेलाडी राष्ट्रका गहना हुन्। उनीहरूको सम्मान गर्नु स्थानीय सरकारको प्रमुख कर्तव्य हो।”

सम्मानित हुनेमा अल्ट्रा धावक सुनमाया बुढा, राममाया बुढा, कल्पना बुढा, रेजिना भण्डारी, समिता बुढा, मिमु बुढा, विश्वरुपा बुढा र दिपेन्द्र बोहोरा रहेका छन्।

अध्यक्ष बोहोराका अनुसार पातारासीको गरिमा विश्वसामु बढाउन खेलाडीहरूको योगदान उल्लेखनीय रहेको छ। त्यसैले खेल क्षेत्रको विकास र प्रोत्साहनमा स्थानीय सरकार कटिबद्ध रहेको छ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले खेलाडीहरूको मनोबल उच्च बनाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए।

“खेल क्षेत्रले जुम्ला र देशको पहिचान बनाउन योगदान पुर्‍याएको छ। पातारासीमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ स्थापना भएमा खेलाडीहरूलाई थप सहजता हुनेछ।”

सम्मान कार्यक्रमले खेलाडीहरूलाई थप प्रेरणा प्रदान गर्ने पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले बताइन्। नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न पनि यस्ता कार्यक्रमहरू आवश्यक रहेको उनको भनाई छ।

उनले भने, “खेलाडीहरूले विश्वस्तरमा देश र पातारासीको नाम चिनाउनु भएको छ। त्यसैले उहाँहरुलाई हृदयदेखि धन्यवाद।”

गाउँपालिकाका पूर्वअध्यक्ष लछिमन बोहोराले पातारासीले धावक सुनमाया बुढा र विश्वरुपा बुढाजस्ता खेलाडी उत्पादन गरेर क्षेत्रको नाम विश्वस्तरमा चिनाएको बताए।

“नयाँ पुस्ताका युवाहरूलाई खेलकुद क्षेत्रमा सहभागी गराउन स्थानीय सरकार र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ,” उनले भने।

कार्यक्रममा धावक हरि बहादुर रोकायाको योगदान पनि स्मरण गरिएको थियोे। खेल क्षेत्रको विकासका लागि लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय सरकारको समर्पणबाट योग्य खेलाडी उत्पादन हुनेमा सहभागीहरूले विश्वास व्यक्त गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार