जुम्ली धाविकाहरूको यो जीतले उनीहरूको प्रतिबद्धता, मेहनत र दृढ इच्छाशक्तिको ज्वलन्त प्रमाण प्रस्तुत गरेको छ। यसले नेपालका धावकहरूको लागि नयाँ अवसर र उच्चस्तरीय दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सम्भावना निर्माण गरेको अध्यक्ष शाहीको बुझाई छ।
भारतमा सम्पन्न ८ औं टेकिओन मलनद अल्ट्रा ट्रेल रेस मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र द्वितीय स्थान हात पारेका जुम्ली धाविकाहरू राज्यलक्ष्मी रावल, कल्पना बुढा र मिमु बुढाको स्वदेश फर्किएपछि जुम्लामा स्वागत गरिएको छ।
कर्णाली स्पोर्ट्स क्लबको आयोजनामा भएको स्वागत कार्यक्रमले उनीहरूको उपलब्धिलाई राष्ट्रिय गौरवका रूपमा स्वीकार गर्दै सम्मान प्रकट गर्यो। यस अवसरमा जुम्ली खेलाडीहरूको यो ऐतिहासिक सफलता खेलकुद क्षेत्रको प्रेरणादायी घटनाका रूपमा स्थापित भएको छ।
टेकिओन मलनद अल्ट्रा ट्रेल रेस भारतको कर्नाटक राज्यमा आयोजना हुने प्रतिष्ठित दौड प्रतियोगिता हो। यो रेसलाई एटीएम (एशिया ट्रेल मास्टर), आईटीआरए (इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन), र यूटीएमबी (अल्ट्रा-ट्रेल डु मोंट ब्लाङ) जस्ता अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूले मान्यता दिएका छन्।
कडा प्रतिस्पर्धा र चुनौतीपूर्ण भूगोलमा आयोजित यस दौडमा सहभागी सयौं प्रतिस्पर्धीलाई पछि पार्दै जुम्ली धाविकाहरूले उत्कृष्ट प्रदर्शन गरे।
राज्यलक्ष्मी रावलले ५० किलोमिटरको दौडमा उत्कृष्टता प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरिन्। उनीसँगै सहभागी भएकी मिमु बुढाले यसै दौडमा दोस्रो स्थान हात पारिन्।
यसरी एउटै श्रेणीमा जुम्ली खेलाडीहरूले स्वर्ण र रजत पदक जित्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्। त्यस्तै, अर्को श्रेणीमा, कल्पना बुढाले ३० किलोमिटरको दौडमा प्रथम स्थान प्राप्त गर्दै नेपालको खेलकुद इतिहासमा नयाँ आयाम थपिन्।
जुम्लामा आयोजना गरिएको स्वागत कार्यक्रममा कर्णाली स्पोर्ट्स क्लबले राज्यलक्ष्मी र कल्पनालाई विशेष सम्मान गरेको थियो। हाल सुर्खेतमा रहेकी मिमु बुढालाई भने व्यक्तिगत रूपमा कार्यक्रममा समेट्न नसकिएको भए पनि उनको सफलतालाई समान रूपमा सम्मान गरिएको थियो।
कार्यक्रमका दौरान एभरेष्ट ट्रेल रेसमा सहभागी अल्ट्रा धावक दलबहादुर कुँवरलाई पनि क्लबले सम्मान गर्यो।
क्लबका सचिव मधुराज न्यौपानेले भारतमा जुम्ली धाविकाहरूले देखाएको प्रदर्शन केवल व्यक्तिगत सफलतामा सीमित नभई कर्णाली क्षेत्रको खेलकुद क्षमताको प्रमाण भएको बताए।
उनले भने, “यो उपलब्धिले जुम्लाका अन्य युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रेरणा प्रदान गर्नेछ।”
अन्तर्राष्ट्रिय धावक हरि रोकायाका अनुसार टेकिओन मलनद अल्ट्रा ट्रेल रेसमा सफलता प्राप्त गर्नु केवल प्रतिष्ठाको विषय नभई भविष्यका अवसरहरूको ढोका खोल्ने काम हो।
यस रेसमा उत्कृष्ट प्रदर्शन गर्ने धाविकाहरूले अब अन्तर्राष्ट्रिय स्तरका अन्य दौड प्रतियोगितामा भाग लिन पाउने अवसर सुनिश्चित गरेका छन्।
उनले भने, “यो केवल व्यक्तिगत जित होइन, नेपालको खेलकुद क्षेत्रका लागि कोसेढुंगा हो। जुम्ली धाविकाहरूको प्रदर्शनले नेपाललाई विश्व खेलकुद क्षेत्रमा चिनाउने महत्वपूर्ण भूमिका खेल्नेछ।”
यस ऐतिहासिक सफलताले जुम्ला क्षेत्रका धावकहरूका लागि एउटा नयाँ दिशानिर्देश प्रदान गरेको छ।
कर्णालीको विकट भूगोलमा अभ्यस्त व्यवस्थापनका बावजुत खेलाडीहरूले आफ्नो क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको क्लबका अध्यक्ष सरोज शाहीले बताए।
उनका अनुसार राज्यलक्ष्मी, कल्पना र मिमुको यो उपलब्धि नेपालभरिका खेलकुदप्रेमीहरूको लागि प्रेरणा बन्नेछ।
कार्यक्रममा सहभागीहरूले जुम्ला र कर्णाली क्षेत्रको खेलकुद क्षेत्रमा यस्ता प्रतियोगिताहरूको आवश्यकता र खेलाडीहरूको प्रोत्साहनमा अझ सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे।
यो सफलता जुम्लाका अन्य युवा खेलाडीहरूको लागि मार्गनिर्देशक हुनेछ र अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको प्रतिनिधित्वलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।
जुम्ली धाविकाहरूको यो जीतले उनीहरूको प्रतिबद्धता, मेहनत र दृढ इच्छाशक्तिको ज्वलन्त प्रमाण प्रस्तुत गरेको छ। यसले नेपालका धावकहरूको लागि नयाँ अवसर र उच्चस्तरीय दौड प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सम्भावना निर्माण गरेको अध्यक्ष शाहीको बुझाई छ।