कागतीको रसलाई ‘हट लेमन’ वा ‘लेमन टी’ भनेर ठूला होटलमा दुई सय रुपैयाँमा एक गिलास पिउँदा हामी गर्व गर्छौं। तर, दश रुपैयाँमा कागती किनेर बनाउन सकिने घरको लेमन टी र कागती सर्वतलाई बेवास्ता गर्छौं।
बाल्यकालमा अक्षय तृतीयाको दिन सातु र सर्वत खान ठूलोआमा, सानीआमा, फुपू, काकीहरूको घरमा पुग्थ्यौं। त्यतिबेला थाहा थिएन, हामीले अति स्वस्थकर सातु र भिटामिनले भरपूर कागतीको सर्वत खाइरहेका रहेछौं।
गर्मीयाम सुरु हुनासाथ चनाको सातुबाट बनेको पेय जति स्वादिष्ट हुन्छ, स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै फाइदाजनक छ। चनाको सातुले बनेको पेय पिउँदा शरीर स्वस्थ रहन्छ।
यो जुनसुकै बेला तयार गरेर पिउन सकिन्छ। चनाको सातुमा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट र आइरनजस्ता पोषक तत्त्वहरू प्रशस्त पाइन्छन्।
यसले पाचन प्रणालीलाई बलियो बनाउँछ। बिरेनुन र कागती मिसाएर पिउँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ।
अस्वस्थ र महँगा चिसो पेय पदार्थको सट्टा गर्मीमा कागती-पानीको सर्वत, अलिकति सख्खर वा चिनी, नुन र कालोमरिच हालेर खानुपर्छ भन्ने कुरा अक्षय तृतीयाले सिकाएको छ, तर यो सिकाइलाई हामीले बेवास्ता गरेका छौं।
कागती र अमला पौष्टिकताले भरपूर फलहरू हुन्। यिनबाट पेय पदार्थ बनाउन, अचार र दालमा प्रयोग गर्न वा नुनसँग चुस्न सकिन्छ। यसले लामो यात्रामा वाकवाकी कम गर्छ।
कागतीको बोक्रालाई स-साना टुक्रा पारेर सिसीमा नुनसँग मिसाएर वा भिनेगरमा भिजाएर घाममा राख्दा केही दिनमा अचारजस्तै बन्छ। कागतीको बोक्रामा केही मात्रामा क्याल्सियम, पोटासियम र रेशायुक्त पदार्थ हुन्छ।
रेशायुक्त भोजनले कब्जियत हुन दिँदैन। “पौष्टिकताले भरपूर कागती गर्मीमा सर्वत बनाएर पिउन उत्तम हुन्छ र जाडोमा तातो पानीमा मह मिसाएर खाँदा रोगसँग लड्ने शक्ति बढ्छ,” हजुरआमाले भन्नुहुन्थ्यो।
कुनै स्वास्थ्यकर्मीले “तपाईंलाई भिटामिन सीको कमी छ, चक्की खानुस्” भन्यो भने कसैले पनि “हाम्रो भान्सा वा बारीमा पाइने फलफूल र खानाबाट भिटामिन सी पाइँदैन र?” भनेर प्रश्न गर्दैन।
सबै शारीरिक समस्याका लागि चक्की खानैपर्छ भन्ने ठान्छौं। हामी बिर्सन्छौं कि यस्ता चक्की पनि वनस्पतिबाटै बनाइन्छन्। अक्षय तृतीयाले सिकाएको कागतीको महत्त्व बुझेर वर्षभरि प्रयोग गरेमा भिटामिन सीको चक्की खानु पर्दैन।
कागतीको रसलाई ‘हट लेमन’ वा ‘लेमन टी’ भनेर ठूला होटलमा दुई सय रुपैयाँमा एक गिलास पिउँदा हामी गर्व गर्छौं। तर, दश रुपैयाँमा कागती किनेर बनाउन सकिने घरको लेमन टी र कागती सर्वतलाई बेवास्ता गर्छौं।
घरमा पाहुनालाई चिसो पेय पदार्थको सट्टा कागतीको चिया दिन सुरु गर्दा सुरुमा असजिलो लाग्न सक्छ। तर, मानिसहरूले सस्तो कागती नै स्वास्थ्यका लागि उत्तम हुन्छ भन्ने बुझ्छन् र विस्तारै सहज लाग्न थाल्छ।
(डा. अरुणा उप्रेतीको फेसबुक वालबाट)