शनिबार, १४ भाद्र, २०८२

बडिमालिका यात्रा -भाग ३

बाटोमा पर्ने पादुका कैलाश धामको दर्शन गर्दा साँच्चै आत्माले शान्ति पायो। शिवलिङ्गको समूह नै थियो त्यहाँ, यति धेरै शिवलिङ्ग कि गन्न पनि समय लाग्ने। पानी परिरहेको थियो। गुरुले पूजा सकाएपछि टीका लगाइदिनुभयो।

यात्रा निरन्तर चलिरहेको छ। दुखेका छैनन् मेरा काँध, थाकेका छैनन् मेरा खुट्टा निरन्तर अघि बढिरहेका छन्। मेरा खुट्टाका औलामा फोका उठेका छन्, घुँडा र मांसपेशी दुखेका छन्, तै पनि मन थाकेको छैन। उर्जा सकिएको छैन। एउटै उद्देश्य छ, बडिमालिका।

झङ्गारबाट बिहानै हामी हिँड्दा पानी परिरहेको थियो। हुम्ला कर्णाली पार गर्दै थियौँ। केही समयको हिँडाइपछि माथि गाउँको बिचमा रहेको सडकमा पुग्यौँ, जसलाई बोल्डी गाउँ भन्ने रहेछन्। यहीँबाट केही साथीहरू गाडी चढेर बाधु भन्ने ठाउँसम्म गए, किनभने आजको बिहानको खाना बाधुमा थियो।

म, धिरेन्द्र, रमा, गुरुसँगै अन्य केही साथीहरू पैदलै जाने निर्णय गर्यौँ। गाडी हिँडे, हामी हिँड्यौँ। सडकै सडक, सडकभन्दा मुनि हुम्ला कर्णाली पनि हामीसँगै यात्रामा थियो, केही दिनदेखि यसले हाम्रो साथ छोडेको थिएन।

२–३ घण्टाको यात्रा पछि एउटा रुख मुनिको चौतारामा थकाइ मार्न लाग्दा गुरुले चिन्नु भएका एक जना आफन्तले चिसो पानी र केही खानेकुरा दिनुभयो। थाकेको शरीरलाई अमृतपान सरह भयो।

थकाइपछि फेरि यात्रा सुरु भयो। हिँड्दै गर्दा वरिपरिको सुख्खा डाँडाकाँडा, ढुङ्गैढुङ्गा, ठूला–ठूला पहाड, नदी अनि एउटै प्रकारका केही रुख बाहेक अरु केही थिएनन्। बाटोमा गुरु आफू यो भन्दा अगाडि आउँदा यस्तो बाटो थियो, यस्तो अप्ठेरो हुन्थ्यो भन्दै हामीलाई पुरानो बाटो देखाउँदै हुनुहुन्थ्यो।

मलाई पनि लाग्यो, बाटो अहिले यस्तो छ भने पहिला कस्तो हुँदो हो? सजिलो पक्कै पनि थिएन भन्ने लाग्यो, तर पहिलाका तीर्थयात्रीहरूले यात्रा गरेकै हुन्।

बाधु पुगियो। अगाडि आएका साथीहरूले खाना पकाउँदै थिए। कोही आराम गर्दै थिए, कोही नुहाउँदै, कोही लुगा धुंदै। खाना तयार भयो, खायौँ।

एकछिन आराम गरेपछि नजिकै त्रिपाल रहेछ, यहीँबाट पाल किनेर लिने भन्यौँ, उता पाइँदैन। पैसा उठाउन भने खै कसैले मानेनन्। मैले र एक जना दाजुले हाल्यौँ।

पाल बोक्ने काम कमल दाइले लिए। बाटो लाग्यौँ – उस्तै हिँडाइ, उस्तै गफ। नयाँ ठाउँ, नयाँ दृश्यले हामीलाई बाटो काट्न सजिलो मात्र होइन, मनोरञ्जन पनि प्रदान गरेको थियो।

बाटोमा पर्ने पादुका कैलाश धामको दर्शन गर्दा साँच्चै आत्माले शान्ति पायो। शिवलिङ्गको समूह नै थियो त्यहाँ, यति धेरै शिवलिङ्ग कि गन्न पनि समय लाग्ने। पानी परिरहेको थियो। गुरुले पूजा सकाएपछि टीका लगाइदिनुभयो।

हामी त्यहाँबाट बाहिर आयौँ, एउटा सुन्दर दृश्य देखियो – पिलिचौर बजार। यो हाम्रो यात्राको क्रममा भेटिने अन्तिम बजार थियो। यात्रुले आफूलाई चाहिने सामान किन्ने अन्तिम बजार पनि यही थियो।

मैले केही सामान किनिनँ, हामीले ढिला नगरी यो बजारदेखि माथिको उकालो बाटो समात्यौँ। सबै जना लामबद्ध भई जयजयकार गर्दै गाउँलेले दिएका भेटी, फूलपाती ग्रहण गर्दै अघि बढ्यौँ।

हाम्रो निधार कहिल्यै पनि खाली भएन, कानमा दुबो फूल कहिल्यै खाली भएन। आजसम्मको यात्रामा चिनेका–नचिनेका सबैले हाम्रो र आफ्नै मनोकामना पूरा होस् भन्दै आशीर्वाद दिन्थे। हामी त्यसलाई सहर्ष स्वीकार्दै अघि बढ्थ्यौँ।

आमवारी–केरावारी हुँदै हामी ढाडाकोट गाउँ नजिक पुग्न लाग्दा हाम्रै समूहकी एकजना यात्री ‘खै माता चढिन्’ भन्दै थिए। अरु उनी एक्कासी पथुर्दै अगाडि जानुभयो।

म जयजयकार गरिरहेँ, उहाले भन्नुभयो, “खै कसको शक्ति छ अगाडि आउने?” म डराएँ, मलाई नै भनेको जस्तो लाग्यो। गुरु र उहाँबीच कुराकानी भइरहेको थियो। मलाई भने डर लागेको थियो। समूहमा म र अर्को भाइ जगदिश अलिकति बढी रमाइलो गरिरहेका थियौँ। सोचेँ, यो उहाँलाई मन परेन कि क्या हो?

गाउँ पुग्यौँ। खै, यसपाली हामी आउने समय उहाँहरूलाई जानकारी भएनछ। उहाँहरूले तयारी गरेको देखिएन। गत सालतिर पूरै बाजागाजा सहित स्वागत गर्ने मानिसहरूले यसपाली केही नगरेको देख्दा गुरु रिसाउनुभयो।

हाम्रो समूहकी माता र त्यहाँका धामीबीच निकै चर्काचर्की पर्‍यो। केही समयपछि कुरा मिल्यो। सबै जना गाउँका मान्छे पल्टन आयो भनेर हेर्न आउनुभएको थियो, वडा अध्यक्षसहित। सबैले झोला राखे, एकछिनको खैलाबैला पछि सबै धर्मशाला भित्र गयौँ। हाम्रै निम्ति धर्मशाला बनाइएको रहेछ।

पहिला उताको एउटा घरमा गाथ राख्थे, त्यो घर भत्किएपछि यता बनायौँ र यतै राख्ने गरेको भन्ने एउटा बृद्धले सुनाउनुभयो। शौचालय–भान्सा सहितको धर्मशाला देखेर मन प्रसन्न भयो।
गाउँले भन्दै थिए, “भोलि पल्टन पुग्छ होला। तर आज आउने खबरै भएन। तयारी कमी भयो होला, क्षमा गर्नु होला।” उता गुरु भन्दै हुनुहुन्थ्यो, “एक तिथि बढेकाले एक दिन अगावै हामी पुग्यौँ। वडा अध्यक्षलाई खबर गरेको थिएँ, खै किन तयारी पुगेन?” मैले विचार गरेँ।

वडा अध्यक्षलाई खबर नगरी गाउँको धामीलाई खबर गरेको भए तयारी हुने थियो। अहिले नेता देखी गाउँले दिक्क भएकाले अध्यक्षको बोली सुनेनन् जस्तो लाग्यो।

यस्तै नोकझोक चलिरहेकै अवस्थामा खानाको व्यवस्था भयो। वडाबाट चामल र अन्य सामान व्यवस्थापन भयो। भित्र आरती सुरु हुँदै थियो।

ॐ जय जगदिश हरे …

बाहिर खाना पकाउन सुरु हुँदै थियो ।

यसपाली धर्मशालाको लिङ्गो नफेरेर होला, गुरु रिसाउँदै हुनुहुन्थ्यो। “जहिले पनि हामी आउँदा यो लिङ्गो फेर्ने, यसपाली किन फेरिएन?”

बेलुकी खाना खाएपछि त्यहाँका महिला दिदी–बहिनी, आमा–हरु पुरै सजिएर देउडा खेल्न आउनुभएको थियो। खै, हाम्रो समूहका महिलालाई देउडा खेल्न आउँदैन रहेछ क्यारे।

देउडा खेल्ने रहर पूरा हुन सकेन ती आमाहरूको। मलाई लाग्यो, यसरी यात्रामा आउँदा यस्ता कला–गला भएका महिला–पुरुषलाई पनि ल्याउनु पर्ने रहेछ।

हामी खाना खाएर धर्मशाला नजिकैको एक जना बुढी आमाको घरमा बस्न गयौँ। मोटा शरीर, कालो वर्ण, स्वभावमा आमा जस्तै, कति मीठो बोली। म उहाँको व्यवहार देखेर धेरै प्रसन्न भएँ।

थोरै समय अगाडि उही घरमा गई दुई रोटी मागेर आफ्नो भोक मेटाएको थिएँ। अहिले सुत्नका लागि पनि त्यही घरमा आएछु। गुरुलाई नजिकबाट चिनेकी आमाले हामीलाई पनि कुनै कुराको कमी हुन दिइनन्।

तेल तताई खुट्टादेखि शिरसम्म घस्न लगाउनुभयो। मीठो खाना खुवाउनुभयो, आफैं ओछ्यान लगाउनुभयो। हामी सुत्यौं। धेरै दिनपछि मजाले आनन्ददायी सुताइ भएको थियो। कति खेर निदायौं पत्तै भएन। बिहान भयो। आजको एक दिन थकाइ मार्नका लागि यतै बस्ने भनेका थियौं। तिथि बढेको थियो नि त्यसैले।

हाम्रै लागि आमा आँगनमा सातु तयार गर्दै हुनुहुन्थ्यो। यति धेरै सेवा गर्नुभयो आमाले, सायद यो यात्रामा सबैभन्दा बिर्सन नसकिने आमा बन्नुभयो। मैले गुरुलाई भनेँ, “कति मजाकी आमा हुनुहुन्छ है ?” यतिकैमा कुनै गाउँलेले भने, “आमा सारै मजाकी हुनुहुन्छ। यो वर्ष त झन् खुसी हुनुहुन्छ।” मैले भनेँ, “किन?” कुरा थप्नुभयो, “वर्षौंदेखि हराएका छोरा घर आउनुभयो। कसरी आए थाहा भएन तर सोध्दै सोध्दै उहाँको छोरा आफ्नै घरसम्म पुगे।” मन खुसी भयो। यसरी सेवा गर्ने आमालाई कहाँ छोरा बाट टाढा राख्न सक्छ दैवले पनि?

आमा र छोराको वर्षौंपछि भेट भएछ। खुसी साट्यौं आमासँग। मैले मनमनै भनेँ, “आमाको जय होस्। बडिमालिकाले सधैं रक्षा गरून्।”

आजको गाउँ घुम्यौं, स्कुल घुम्यौं। स्कुलको दयालाग्दो अवस्था देख्यौं। गाउँ भने निकै रमाइलो थियो। स्वास्थ्य इकाई भने राम्रो थियो। केही साथी बनायौं। जगन्नाथको मन्दिर हेऱ्यौं। बन्दै थियो मन्दिर। त्यो दिन यसरी बितायौं।

बिहान भयो। केही सामान यतै आमाको घरमा राखेर झोला बोकेर उकालो लाग्यौं। आमाले बिदाइ गर्नुभयो। यो गाउँ बडिमालिका जाने प्रवेश द्वार नै रहेछ। यहाँबाट सुरु हुन्छ असल्ली यात्रा, रमणीय दृश्य, पाटन, जंगल, उकालो बाटा, खोला तर्नुपर्ने, खोलैखोलाको बाटो, अलि डरलाग्दो बाटो सबै यसै बाटोमा पर्ने रहेछन्। त्यसैले होला हामी अलि सर्तक भएर हिँड्ने ग-र्यौं। झोलामा राखेका रोटी खाँदै हिँड्दै ग-र्यौं। न तरकारी, न मासु, न गेडागुडी, नुनसंग ती रोटी पनि कम्ता मीठा थिएनन्।

बेलुकीपख देउडा पाटन भन्ने ठाउँमा पुग्यौं। जहाँ ढाडाकोटका गोठालाका आटी थिए। र केही गोठाला थिए। गुरु र योभन्दा पहिला गएका यात्री भन्नुहुन्थ्यो, “हाम्रो समूहलाई स्वागत गर्न माथिबाट गोठाला आउँछन्।”

पाटनको केही दूरी तय गरिसकेपछि साँच्चै हाम्रो स्वागतका लागि गोठाला आए। हातमा लिङ्गो समातेका, हाम्रो पर्खाइमा बसिरहेका थिए। हामी पुग्यौं। कस्तो मजाको चलन! त्यही बस्ने ढाडाकोटका गोठालाहरूले प्रत्येक वर्ष लिङ्गो काटेर तयार गरी राख्ने रहेछन्। हामीसँगै गएका गुरुले स्व लिङ्गोलाई पूजा गर्नुभयो। मैले पनि तीन फन्का हानेँ। हातमा धूपबत्ती फूलपाती समातेर,

बडिमालिकाकी जय।
नवदुर्गाकी जय।
चन्दननाथकी जय।
शैलेश्वरी माइकी जय।

लिङ्गामा ध्वजा हाल्यौं। गुरुको हातबाट टीका ग्रहण गर्यौं। लिङ्गो बोक्नुभयो एउटा डोल्पाली दाजुले। हेर्दा मोटै थिए, भारी बोक्न माहिर। “भोलि म एक्लै लिङ्गो बोकेर बडिमालिका पुर्‍याउँछु” भन्दै थिए। यसअघि पनि उहाँले बोकेर ल्याउनुभएको रहेछ। योभन्दा माथि जंगल नहुने भएकाले यो लिङ्गो यतैबाट दुई वासको यात्रा तय गर्ने रहेछ। जंगलको सीमा यही देउडा पाटनसम्म रहेछ।

आजको वासस्थानतर्फ हामी सबै लाग्यौं। केही समयपछि दुई–तीन वटा गोठहरू देखिए। “आजको बसाइ यिनै गोठमा हुनेछ” भन्नुभयो गुरुले। गोठ नजिक पुग्यौं। “को छ यहाँ? गाथ राख्ने ठाउँ छ कि छैन?” सोध्नुभयो गुरुले। गोठाला भित्रैबाट भने, “यहाँ बस्ने ठाउँ छैन। उ पर छ तपाईंहरूको बस्ने ठाउँ।” गुरु रिसाउँदै भन्नुहुन्छ— “गतवर्ष यतै बसेका थियौं हामी। यो पटक पनि यतै बसौं।” भन्दै हुनुहुन्थ्यो।

तर ढोका बन्द गरेर दिन्छन् गोठालाले। त्यहाँ भित्र हामीसँगै गएका केही साथी थिए, जुन सिन्जाबाट हामीसँगै आएका थिए। उनीहरूले पनि गाथ राख्ने ठाउँबारे केही बोलेनन्। दुख लाग्यो। मलाई लाग्यो, आफू बस्ने ठाउँ पाएपछि सबै चुप। उहाँसँगै एक जना वडा अध्यक्ष पनि हुनुहुन्थ्यो। अह! उहाँले पनि चुइँक्क बोल्नुभएन। खैर, नेताको स्वभाव नै यस्तै हो।

म अलि रिसाएँ पनि। गुरुलाई भनेँ, “जाउँ, पुरानै ठाउँमा पाल हाएर बसौं।” सबै साथीलाई भनेँ पाल हालौं। सबै लाग्यौं। केही समयपछि पाल तयार भयो। आगो बाल्यौं। चिसो मौसम थियो। भिजेका कपडा, जुत्ता आगोमै सेक्यौं। भोलि लगाउनु पर्ने थियो।

भोकले आलस–तालस भएको थियो। म गोठालाबाट ल्याएको दहीमा चिउरा हालेर सबैले बाँड्यौं। त्यही आजको खाना भयो। “भोक मीठो कि भोजन” भन्ने रहेछ। कति मीठो भयो दही–चिउरा! भोक थोरै भए पनि शान्त भयो। अब सुत्न सकिने सम्म भयो। रातको ११ बजिसकेको थियो। राति पानी नपरेर होला, आजको रात निकै रमाइलो भयो। सोचेजति दुख पाइएन।

सुत्यौं सबै जना। ढुंगामाथि म्याट फालेर, पछ्यौरीले मुख छोपेर एक रात जेनतेन काट्नै पर्ने थियो। आज धेरै मान्छेहरू सँगै सुतेर होला, त्यति चिसो पनि भएन। तर ढुंगाले शरीरलाई भने घोटेको–घोटै थियो। निन्द्रा पनि कहाँ लाग्छ र! मनले सम्झिरहेको थियो बुढी आमाको घरको ओछ्यान।

रातिको २ बजिसकेको थियो। मेरो काखैमा सुतेको सुमन जुरुक्क उठ्यो। मैले सोधेँ, “कहाँ जान लागेको? बाटो नै छैन, खुट्टा कुल्चिएलान, हेरेर जानू।” सुमन भन्छ, “पिसाब लाग्यो मलाई।” “ल, जाऊ–जाऊ” भनेँ मैले। आँखा बन्द गरेँ।

कानले सुनेँ, कसैले खस्याकखुसुक गरेको। हेरेँ, सुमन झोलाबाट चाउचाउ निकाल्दै थियो यति राती। बिस्तारै मेरो काखमै आयो। चाउचाउ फुटायो, फाका हाल्यो। त्यस्तै ३ फाकामा सक्यो होला। मैले भनेँ, “यति राती चाउचाउ?” मलाई हासो लाग्यो। हासेँ, हा हा हा।

उसलाई पिसाब लागेको होइन, भोक लागेको रहेछ। भोकले उठाएको थियो उसलाई। भोकको आगो सहन नसकी उठेको रहेछ सुमन। भोक सहन नसकी रातको २ बजे चाउचाउ खान बाध्य भएको थियो। भोकको अगाडि कसको के लाग्दोरहेछ? खायो चाउचाउ। म हासे अनि सुतेँ।

भोलि बिहानबाट सुन्दर यात्रा त्रिवेणी पाटनको हुनेछ… सँगै रहनु होला।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार