सोमबार, २ असार, २०८२

तिलागुफामा शिक्षा सुधारको पहल: सरोकारवालाहरूको गम्भीर छलफल र समिति गठन

कालिकोटको तिलागुफा नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउन सरोकारवालाहरूबीच गहन छलफल गरेको छ।

शिक्षक र विद्यार्थीको अनियमितता, हिउँदमा विद्यार्थीहरू ट्युशनका लागि जिल्ला बाहिर जाने प्रवृत्ति, शिक्षक-विद्यार्थी अनुपात र विद्यालय मर्जजस्ता जटिल मुद्दाहरूमा केन्द्रित यो छलफलले नगरको शैक्षिक गुणस्तर सुधारमा ठोस कदम चाल्ने संकल्प गरेको छ।

नगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख शंकर उपाध्यायले शिक्षकहरूको हातमा शिक्षा सुधारको मुख्य जिम्मेवारी रहेको बताए। “शिक्षकहरूको रचनात्मक सुझाव र प्रतिबद्धताले नै हाम्रो शिक्षा क्षेत्रको भविष्य निर्धारण गर्नेछ,” उनले भने।

उनले आवश्यकताभन्दा बढी लहड र रहरले सञ्चालित विद्यालयहरू समस्याको जड बनेको औंल्याए। महादेव माविका प्राचार्य नरदीप शाहीले पनि शिक्षकहरूको प्रतिबद्धता र सक्रियता नै शिक्षा सुधारको आधार भएको जोड दिए।

छलफलले शिक्षक दरबन्दी मिलान र विद्यालय मर्जलाई प्रमुख समस्याका रूपमा पहिचान गर्दै तत्काल समाधानका लागि कदम चाल्ने निर्णय गरेको छ।

यसका लागि नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको संयोजकत्वमा वडाध्यक्ष, शिक्षक महासंघ र पेसागत संगठनका प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको छ। समितिले स्थलगत अनुगमन र तथ्यांकको आधारमा प्रतिवेदन तयार गरी नगरसभामा पेस गर्नेछ, जसलाई कार्यान्वयनमा लैजाने योजना छ।

तिलागुफा नगरपालिकामा १० माविसहित ३६ वटा विद्यालय छन्। यीमध्ये १४ वटामा विद्यार्थी संख्या ५० भन्दा कम छ, तर शिक्षक दरबन्दी भने आवश्यकताभन्दा बढी छ।

उदाहरणका लिएर, वडा नं. १ मा २ विद्यालयमा ९ शिक्षक, वडा नं. ५ मा २ विद्यालयमा ६ शिक्षक, वडा नं. ७ मा २ विद्यालयमा ८ शिक्षक छन्। यस्तै, नगर अनुदानबाट समेत शिक्षक भर्ना गरिएको छ, तर केही माविमा विषयगत शिक्षकको अभाव छ।

कालिका मावि राचुलीका शिक्षक दुर्गाप्रसाद कोइरालाले दसैंपछि १० कक्षाका विद्यार्थीहरू विद्यालयमा टिक्न नसक्ने र ट्युशनका लागि जिल्ला बाहिर जाने प्रवृत्ति रहेको बताए।

“विषयगत शिक्षक नहुँदा विद्यार्थी बाहिर जान बाध्य छन्, जसले अभिभावकको लाखौं खर्च हुने गरेको छ,” उनले भने।

शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति नवीन हमालले समितिले तथ्यांकमा आधारित प्रतिवेदन तयार गरी कार्यान्वयनमा जोड दिने बताए। “विद्यालय मर्ज र दरबन्दी मिलानले शैक्षिक गुणस्तर सुधारमा ठूलो योगदान पुग्नेछ,” उनले भने।

नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले शिक्षामा राजनीति गर्न नहुने र भावी पुस्ताको भविष्यका लागि सामूहिक निर्णय आवश्यक रहेको बताए। “शिक्षामा तेरो-मेरो भन्नु हुँदैन, निर्मम भएर गुणस्तर सुधारमा लाग्नुपर्छ,” उनले भने।

बैठकले विद्यालयका प्रधानाध्यापकहरूलाई दैनिक शिक्षक हाजिरी नगरपालिकामा पठाउने र वैशाखमा विद्यालय नचलेका दिनको हाजिरी अपडेट गर्ने निर्णय गरेको छ। यी कदमले शिक्षकको जवाफदेहिता र शैक्षिक पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

तिलागुफा नगरपालिकाको यो पहलले विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, खर्च कटौती, शिक्षक दरबन्दीको व्यवस्थापन र अभिभावकको विश्वास बढाउने लक्ष्य राखेको छ।

गठित समितिको प्रतिवेदन र नगरसभाको निर्णयले यहाँको शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारको ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार