शुक्रबार, २९ फाल्गुन, २०८२

भूगोलका कारण जीवन गुमाउनु पर्ने हो ?, अनिल बानियाँ

तिमी एउटी आमा मात्र थिइनौ, तिमी कर्णालीको पीडा थियौ, तिमी त्यो प्रश्न थियौ जसको उत्तर अझै पनि सिंहदरबारसँग छैन।

जुम्लामा सुत्केरी भएर हेलिकप्टरमार्फत उद्दार गरिएकी तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्युु पछि यतिबेला सामाजिक संजाल तातिरहेको छ। मुगु जिल्लाका युवा अभियन्ता अनिल बानियाँले फेसबुकमा लेखेको भावुक स्टाटसले विकट क्षेत्रमा रहेको स्वास्थ्य सेवाको अवस्था र राज्यको पहुँचबारे गम्भीर प्रश्न उठाएको छ।

बानियाँले आफ्नो स्टाटसमा मृतक महिलालाई सम्बोधन गर्दै लेखेका छन्, ‘सायद तिम्रो जन्म विकसित शहरमा भएको भए, सायद तिमी धनी परिवारकी छोरी भएको भए, सायद तिम्रो जन्म दुर्गम भनिने कर्णालीको कुन्धरामा नभएको भए आज सायद तिमी जीवित रहन्थ्यौ, बहिनी।’

सुत्केरी भएको तीन दिनपछि उनको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धारका लागि बानियाँले प्रयास गरेका थिए। तत पश्चिम मृतक नेपालीको समयमै उद्धार गरिएको थियो। उद्धार सफल भएको खबरले आशा पलाएको थियो, आमा बाँच्नेछिन् र नवजात शिशुले आमाको काख पाउनेछ भन्ने विश्वास जागेको उनको भनाई छ।

तर दुर्भाग्यवश, अस्पतालमा उपचारकै क्रममा ती आमाको मृत्यु भएको खबर आयो। यो खबरले परिवार मात्र होइन, कर्णालीका नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत स्तब्ध बनायो।

बानियाँले आफ्नो पोस्टमा लेखेका छन्, ‘तिमी एउटी आमा मात्र थिइनौ, तिमी कर्णालीको पीडा थियौ, तिमी त्यो प्रश्न थियौ जसको उत्तर अझै पनि सिंहदरबारसँग छैन।’

उनका अनुसार विकट क्षेत्रमा बिरामी हुनु कहिलेकाहीँ जीवन र मृत्युबीचको अन्तिम जुवा जस्तै हुन्छ। स्वास्थ्य सेवा, सडक पहुँच, समयमै उद्धार र उपचारको अभावले कर्णालीका धेरै नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था अझै कायम रहेको उनले संकेत गरेका छन्।

यस घटनाले नवजात शिशुको भविष्यप्रति पनि गम्भीर प्रश्न उठाएको छ। जन्मेको तीन दिनमै आमाको माया गुमाएको बालक अब टुहुरो बनेको छ। बानियाँले लेखेका छन्, ‘उसले संसार त देख्यो, तर आमाको माया बुझ्न नपाउँदै जीवनले उसलाई टुहुरो बनाइदियो।’

युवा अभियन्ता बानियाँ लामो समयदेखि कर्णालीका सामाजिक समस्या, स्वास्थ्य सेवा, शिक्षा र विकासका विषयमा आवाज उठाउँदै आएका छन्। उनका पोस्टहरू सामाजिक सञ्जालमा व्यापक रूपमा साझा हुने गरेका छन् र कर्णालीका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउन उनले सक्रिय भूमिका खेल्दै आएका छन्।

यो घटनाले फेरि एकपटक कर्णाली क्षेत्रको स्वास्थ्य संरचना, आपतकालीन उद्धार प्रणाली र ग्रामीण स्वास्थ्य सेवाको प्रभावकारिताबारे बहस सुरु गराएको छ। विशेषज्ञहरूका अनुसार दुर्गम क्षेत्रमा स्वास्थ्य पूर्वाधार सुदृढ नगरेसम्म यस्ता दुःखद घटना दोहोरिन सक्ने जोखिम कायम रहनेछ।

बानियाँले अन्त्यमा लेखेका छन्, ‘सायद अर्को जन्ममा धनी घरमा जन्म होस्, विकसित शहरमा जन्म होस्, जहाँ जीवनको मूल्य भूगोलले होइन, मानवताले निर्धारण गरोस्।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार