मलाई सुर्खेतमा रहुञ्जेल मात्रै होइन, जुम्ला खलङ्गा बजारमा भेट्दा पनि आदरभावले उहाँले सम्झनुहुन्थ्यो। मेरो सरकारी वकिलको पेशा देखेर उहाँ अत्यन्तै खुसी हुनुहुन्थ्यो।
श्री भैरव माध्यमिक विद्यालय नराकोटका सहायक प्रधानाध्यापक तथा मेरा सुर्खेत वीरेन्द्रनगरमा पढ्दै गरेका अत्यन्तै कोमल स्वभाव, शिष्ट शैली, कसैसँग रुखो व्यवहार नगर्ने, मेरा मन परेका साथीहरू मध्येका एक हुनुहुन्थ्यो।
बि.सं. २०४७ सालदेखि म सुर्खेत वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा अध्ययन गर्थें। प्रविणता प्रमाणपत्र तह आइएल (कानूनमा) पढ्दथेँ। उहाँ पनि शाहिद शिक्षा विषयमा त्यही सुर्खेत शिक्षा क्याम्पसमा अध्ययन गर्नुहुँदोरहेछ।
एकदिन सुर्खेत बजारमा भेट भयो, परिचय भयो। त्यहाँदेखि हाम्रो सम्बन्ध अघि बढेको थियो। सुर्खेत एयरपोर्टमा आरएनएसीको प्लेन जुम्लाबाट हप्तामा दुई पटक जाने गर्दथ्यो।
सञ्चारको माध्यम त्यो बेला चिठ्ठी हुने भएकाले र विद्यार्थीलाई घरबाट खर्च जाने पैसा छिटो पाउन मानिसहरूको हातमा पठाउने भएकाले एयरपोर्टमा जाने गर्दथ्यौँ, त्यहाँ पनि प्लेन आउञ्जेल सँगै गफ गर्थ्यौँ।
मलाई सुर्खेतमा रहुञ्जेल मात्रै होइन, जुम्ला खलङ्गा बजारमा भेट्दा पनि आदरभावले उहाँले सम्झनुहुन्थ्यो। मेरो सरकारी वकिलको पेशा देखेर उहाँ अत्यन्तै खुसी हुनुहुन्थ्यो। उमेरले उहाँ जेठो भए पनि सम्मान गर्नुपर्ने मानिसलाई सम्मान गर्न कञ्जुस्याइँ गर्नुहुन्नथ्यो। संयोगले उहाँले शिक्षण पेशा रोज्नुभयो, त्यसैमा खुसी हुनुहुन्थ्यो।
जसले हिजोका दिनसम्म हजारौँ विद्यार्थीलाई दक्ष जनशक्ति बनाउनुभयो। उहाँ सिंजा जुम्लामा पर्ने आफ्नै गाउँपालिकाको शिक्षा क्षेत्रको धरोहर मात्र हुनुहुन्थेन। सम्पूर्ण शिक्षा क्षेत्रको एक अव्वल धरोहर हुनुहुन्थ्यो। विद्यालयले एक असल शिक्षक मात्र गुमाएन। उहाँबाट प्राप्त गर्नुपर्ने सबै विद्वत्ता, ज्ञानको अपार अनि बहुमूल्य खानी र मुहान गुमायो।
त्यस्तै असल शिक्षक पाउन विद्यालयले दशकौँ वर्ष कुर्नु पर्नेछ। विद्यार्थीहरूले आफूलाई जीवनमार्ग देखाउने र सिकाउने एक चम्किलो तारा गुमाएका छन्। सधैं दस बजे आउँदा देखिने सरलाई ‘नमस्कार सर गुरु’ भन्दथे। आजबाट त्यो आदरभाव कसलाई प्रकट गर्ने भनेर पीडा महसुस हुनेछ।
हिजोबाट विद्यार्थीले नदेखेपछि आफूहरू टुहुरो भएको महसुस गरेका छन्। यस्तै सम्पूर्ण अभिभावकहरूले एक असल चम्किलो हिरा गुमाएका छन्। धिँतालिहीँ गाउँले पनि एक भरोसायोग्य प्रतिभा गुमाएको छ।
समग्रमा भन्दा जुम्लाले अपूरणीय क्षति बेहोर्नु परेको छ। उहाँका केही स्वभाव कसैलाई व्यक्तिगत रूपमा मन नपरेको थियो होला तर धेरैको प्रिय नै हुनुहुन्थ्यो।
नेपाल सरकारले उहाँलाई एक असल शिक्षक बनाउन कैयौँ लगानी गरेको थियो। उहाँ त्यो लगानीको भरपुर उपयोग गर्न दिन रात, खाई नखाई, सुतिनसुती, हिउँद बर्सात, तातो चिसो नभनी आफ्ना व्यक्तिगत इच्छा रहर थाँति राखी खटिरहनुभएको थियो। आफ्ना प्यारा स्कुले बाबु–नानीहरूको लागि। देश र समाजको लागि।
घरपरिवारको लागि एउटा बलियो र भरपर्दो खम्बा ढल्यो। मैले सुनेको उहाँ अभिलेखहरूलाई एति धेरै सुरक्षित जतन गरी राख्नुहुन्थ्यो रे, अब कसले राखिदेला? शैक्षिक प्रमाणपत्रलाई कसरी जतन गर्ने भन्ने कला पनि उहाँसँग थियो। भेट हुँदा अरूका कुरा गम्भीर भएर सुन्ने, जवाफ बिस्तारै दिने।
सबैलाई सन्तुष्ट र खुसी बनाउने उहाँको सीप, क्षमता र कलालाई हामी सबैले सिक्नुपर्छ। अनुसरण गर्नु पर्छ भन्ने लाग्छ। एति धेरै गुण क्षमता भएको प्रतिभाले साँच्चिकै संसार छोडेर गएजस्तो लाग्दैन यस सुन्दर संसारबाट। अकस्मात बिरामी भएर उपचार गर्दागर्दै लिने हुनुभएछ। सामाजिक सञ्जालबाट थाहा पाउँदा एकछिन अपत्यारिलो लाग्यो।
जो कहिल्यै जीवनदेखि असन्तुष्ट हुनुभएन। सधैं अरूको खुसी मात्र हेरीरहनुभयो, अरूको सुखमा रमाइरहनुभयो। अरूको उन्नतिमा साथ दिइरहनुभयो। मलाई अहिले पनि विश्वास लागेको छैन कि उहाँ मात्र यतैकतै ‘हुनुहुन्छ’ भन्ने लागिरहेको छ।
मैले सुनेको थिएँ कि उहाँ प्रमोशन पनि हुनुभएको थियो रे। नियुक्तिपत्र बुझ्न प्राविधिक कारणले मात्र बाँकी। वर्षौँ शिक्षा क्षेत्रमा आफ्नो जीवन समर्पण गर्नुभयो, फल खाने बेला, आत्मसन्तुष्टि लिने बेला, जागिरे जीवन छोडेर सेवानिवृत्त जीवन जिउने बेलामा संसार छोड्नुभयो। भाग र भोग जीवनमा जति लेखिएको छ, त्यति मात्र हुने रहेछ अन्तिममा।
कलेजका साथी, आत्मीय मित्र देवराज धिताल सर, हामीमाझ रहनु भएन दुई तीन दिन एतादेखि। हृदय रोएको छ। मन छियाछिया भएको छ। अत्यन्तै स्तब्ध भएको छु। मृत्यु अपरिहार्य छ भन्ने थाहा हुँदाहुँदै पनि पत्याउनै नसकिने गरी असामयिक र अकल्पनीय मृत्युवरण गर्नुभयो।
आशा, अपेक्षा, रहर, इच्छा, उद्देश्य, लक्ष्य अनेक भए पनि थाँती राखी घर परिवार, छोराछोरी, दिदीबहिनी, दाजुभाइ, आफन्तजन, छिमेकी, गाउँले लगायत साथीभाइ, ईष्टमित्रजनहरूमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै गहिरो समवेदना सहित स्वर्गवासी देवराज धिताल सर प्रति हार्दिक श्रद्धाञ्जली समर्पण गर्दछु।
२०८२ मंसिर १८ प्युठान














