चन्दननाथ मन्दिरका सातौँ/आठौँ शताब्दीका महत्त्वपूर्ण, मूल्यवान तथा पुरातात्त्विक मूर्तिहरू चोरी भए। त्यो बेला जुनसुकै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख वा ड्युटीमा खटिएका सुरक्षाकर्मी भए पनि मन्दिरको सुरक्षा कडाईका साथ भएको पाइएन।
पत्रकार विक्रम तिरुवा ‘सलिन’ले कुटिरो डटकममा पोस्ट गरेको “जुम्लामा नयाँ प्रमुख जिल्ला अधिकारीले नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता” नामक लेख/समाचार पढ्ने अवसर पाएँ।
सो लेख/समाचारमा जुम्लामा सरुवा भएर आएका नयाँ प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले मंसिर १ गतेदेखि जिल्ला प्रशासन कार्यालय जुम्लाको कार्यभार एवं जिम्मेवारी सम्हालेको खबर पढ्नुका साथै प्र.जि.अ. ज्युले कार्यभार सम्हालेसँगै जिल्लाका पत्रकारहरूसँग जिल्लामा भएका समस्या र सेवा प्रवाहका सन्दर्भमा अभिमुखीकरण कार्यक्रम गरेको समाचार समेत पढ्न पाइयो।
यसका साथै प्र.जि.अ. ज्युले जुम्लाका नागरिकहरूलाई दिने सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनेतर्फ आफू कटिबद्ध रहेको कुरामा प्रतिबद्धता पनि जनाएका रहेछन्।
सो कटिबद्धता र प्रतिबद्धतासँगै आम जुम्लाका नागरिकहरूले सेवा लिन एकपटकभन्दा बढी धाउन नपर्ने वातावरणको तयारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको कुरा पढ्न पाउँदा म त अत्यन्त खुसी भएँ। यो खबर थाहा पाउने अरू जनतामा पनि अवश्य खुसी छाएको हुनुपर्छ।
राज्यले शान्ति सुरक्षा लगायत अमन चैन, विकास, लोककल्याणकारी कार्य, जनतामा सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, मदिरा नियन्त्रण, विभिन्न प्रशासनिक कार्यमा सर्वसुलभ सेवा प्रवाह गर्ने, साथै लागू औषध कारोबार नियन्त्रण, जुवातास नियन्त्रण, बलात्कारका घटनाको नियन्त्रण, मारपिट नियन्त्रण गर्छ।
मानव बेचबिखन नियन्त्रण लगायतका कामको जिम्मा लिएको हुन्छ र सो जिम्मेवारी राज्यका विभिन्न निकाय र अधिकारीहरूले कार्यान्वयन गरेर पुरा गर्ने गर्छन्। यसैगरी मानव अधिकारको रक्षा एवं मौलिक हकहरूको संरक्षण गर्ने गराउनेतर्फ पनि उत्तिकै जिम्मेवार हुन्छ।
यसैगरी व्यक्तिको जिउ धन, सम्पत्ति र हकको सुरक्षा, सरकारी र सार्वजनिक सम्पत्तिको रक्षा, विभिन्न गुठीका सम्पत्तिको खोजबिन तथा सुरक्षा गर्ने दायित्व समेत हुन्छ। जुन जिम्मेवारीलाई पालना गर्न आफू उत्तरदायी भएको कुरा प्रमुख जिल्ला अधिकारी ज्युले पत्रकारमार्फत सार्वजनिक रूपमा बताउनु प्रशंसनीय कुरा मान्नुपर्छ। यसको लागि जिल्लाका हरेक सचेत नागरिक, पत्रकार बुद्धिजीवी, राजनीतिक दल र नेताहरूले पनि साथ दिनुपर्छ।
एक्लो प्रयासले मात्र कुनै पनि कुरा सम्भव हुन सक्दैन। प्रमुख जिल्ला अधिकारी ज्युले भने अनुसार जिल्लामा भएका समस्या, जिल्ला प्रशासन कार्यालयले गर्न बाँकी रहेका थुप्रै कामहरू के–कसरी अघि बढाउन सकिन्छ? जिल्लाका आम समस्याहरू के–के छन्? जिल्लाका समग्र अवस्था कस्ता छन्? जस्ता सवालमा पत्रकारहरूसँग छलफल गरी सल्लाह सुझाव र सहयोग माग्नुलाई सकारात्मक पक्षको रूपमा लिनुपर्दछ।
प्रमुख जिल्ला अधिकारी ज्युले यति भनिरहँदा यस पंक्तिकारलाई लागेका केही समस्याका समाधान तत्काल सुरु गर्नुपर्ने देखिन्छ। हालै मात्र सामाजिक सञ्जालमा सुनिन आए अनुसार चन्दननाथ भैरवनाथ मन्दिरका गुठीका जग्गाहरू यत्रतत्र हिनामिना भइरहेको देखिन्छ।
चन्दननाथ भैरवनाथ मन्दिर गुठीका जग्गा कब्जा गर्ने कार्य अहिले मात्रै होइन, एक डेढ सय वर्षअघिदेखि हुँदै आएको पाइन्छ। जसले–जसले कब्जा गरेका छन्, “ममा भने हुन्छ” जस्तो सोच्दै। जुम्लामा नापी हुँदा कतिले गुठीको जग्गा आफ्नो नाममा नापेर पनि “पक्का भइसक्यौँ” भन्ने सोचेका होलान्। कुनै बेला जसले गुठीको जग्गा कब्जा गरेका छन्, उनीहरूले चोरी गरेर लिएका मूर्ति बाटोघाटोमा राखेर फिर्ता गरेजस्तै गुठीलाई आफैँ जिम्मा लगाउने दिन नआउलान् भन्न पनि सकिँदैन।
सरकारी निकायदेखि लिएर व्यापारी र व्यक्तिहरूले समेत गुठीको जग्गा भाडाको नाममा सटर बनाई, सटरको नाममा पक्का बनाई बसेको समाचार सुन्दा मन अमिलो भयो। मेरो मात्र होइन, पुरै जिल्लावासीको मन एकदमै अमिलो र भतभती पोलेको छ।
यस्ता पवित्र गुठीका जग्गाको समुचित उपयोग गरी, यसबाट आएको आय व्यय प्रयोग गरेर पवित्र सामाजिक कार्य तथा धार्मिक पर्यटक आकर्षित गर्न सके जिल्लाकै उन्नति, प्रगति र समृद्धि हुने कुरामा दुई मत छैन।
यदि यसरी नै चन्दननाथ मन्दिर गुठीका जग्गा हिनामिना र कब्जा साँच्चिकै भइरहेको हो भने यस्तो हुनु बिडम्बना र निन्दनीय कुरा हो। यसलाई क्रमिक रूपमा सुधार गर्दै कब्जा गरिएका जग्गा गुठीको नाममा फिर्ता गराउनुपर्ने र नदिएको सटरभाडा जसरी पनि असुल्न थाल्नु पर्दछ। साथै नियमसंगत कार्य नगर्नेबाट सटरभाडाको करार भंग गरी नयाँ र ईमानदार इच्छुक व्यक्तिसँग पुनः करार गर्नुपर्ने हुन्छ।
यसअघि पनि देशकै प्रमुख धार्मिक स्थलमध्ये चन्दननाथ मन्दिरका सातौँ/आठौँ शताब्दीका महत्त्वपूर्ण, मूल्यवान तथा पुरातात्त्विक मूर्तिहरू चोरी भए। त्यो बेला जुनसुकै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख वा ड्युटीमा खटिएका सुरक्षाकर्मी भए पनि मन्दिरको सुरक्षा कडाईका साथ भएको पाइएन।
यदि प्रहरी प्रमुख र प्र.जि.अ.ले कडा व्यवस्था अपनाएका भए तथा इमानदार भएर काम गरेको भए, जिल्ला प्रशासन कार्यालयदेखि पचास मिटर मात्र दूरीमा रहेको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी हुन सक्दैनथ्यो। जुम्लाको इतिहासमा त्यस्ता प्रशासकको नाम सुनौलो अक्षरले लेखिने छैन।
हुनत पछि केही मूर्ति फेला परे। तर अझै पनि सक्कली कि नक्कली भन्ने विषयमा जनतामा कौतुहलता बाँकी नै छ। चन्दननाथ गुठी समिति पनि छ, तर जनताले गुठी समितिले उच्च सतर्कता अपनाएको अनुभव अझै गर्न सकेका छैनन्।
अहिले पनि गुठीका जग्गा हिनामिना र कब्जा भइरहेको बेला गुठी समितिको बेवास्ता हो कि पहुँच नभएको हो? प्रहरी प्रशासन सचेत नभएको हो? नागरिकको सहयोग नपाएको हो? वा समिति पदाधिकारी नै कतै लिप्त त होइनन्? कतै प्रशासनले नै आँखा चिम्लेको त होइन? भन्ने शंका जनतामा उठिरहेको छ।
यसबाहेक ठेक्कापट्टा समयमै सुचारु गराउनु, हरेक सरकारी निकायले जनताप्रति गर्नुपर्ने सेवा सुविधा समयमै भैरहेका छन् कि छैनन्? राष्ट्रिय परिचयपत्र वितरण कार्य घरदैलोमै पुर्याउनु पर्ने हो कि? मतदाता नामावली संकलन कार्य घरदैलोमै पुर्याउनुपर्ने हो कि? शिक्षा तथा स्वास्थ्यलाई सर्वसुलभ र पहुँचयोग्य बनाउन सम्बन्धित निकायलाई घर टोलमै पुर्याउनुपर्ने हो कि? हवाई कार्यालय भएको ठाउँमा प्लेन टिकट सहज उपलब्ध हुने वातावरण बनाउनुपर्ने हो कि? यसतर्फ जिल्ला प्रशासन कार्यालय जुम्ला तथा प्रमुख जिल्ला अधिकारी सजग र चनाखो हुनुपर्ने देखिन्छ।
कार्यालय प्रमुखहरूको नियमित छलफल गराई, हरेक निकायबाट बिना झन्झट सर्वसाधारणलाई सहज सेवा–सुविधा दिलाउनेतर्फ भूमिकासमेत खेल्न आवश्यक छ।
अन्तमा जसरी जुम्लाका वर्तमान प्र.जि.अ. श्री दीपक पौडेल ज्युले जुम्लीवासीका हरेक समस्या समाधान गर्न आफू प्रतिबद्ध रहने बताउनु भएको छ, त्यति नै पालना गर्न पनि कठिन छ। आफू अत्यन्त ईमानदार हुनु पर्नेछ।
आफू ईमानदार भई, हरेक काममा चनाखो भएर लागेमा कुनै पनि समस्या समाधान गर्न कठिन हुने छैन। होइन भने—आफ्नो कार्यकाल सफल पार्न निहित स्वार्थमा लागेको व्यक्तिको पछि लागेर काम गर्न थाले, आज व्यक्त गरिएका सबै अभिव्यक्तिहरू गोहीका आँसु जस्तै हुने बाहेक अरू केही हुने छैनन्।
२०८२/८/४, बिहीबार, प्यूठान














