स्वर्गद्वारी मन्दिर समुद्र सतहबाट २,१२१ मिटर उचाइमा अवस्थित छ । यस प्रसिद्ध मन्दिर क्षेत्रलाई श्रद्धालु र पर्यटकले साँच्चै स्वर्गको द्वार नै ठान्दछन् ।
नेपालका प्रमुख धाम र मन्दिरमध्ये स्वर्गद्वारी पनि एक प्रमुख मन्दिरभित्र पर्दछ । यस मन्दिरमा आएर स्वर्गद्वारी महाप्रभु र यहाँ पालिएका गाईगोरूको दर्शन गर्नाले पुण्य मिल्ने, मनोकामना पूरा हुने धार्मिक मान्यता र विश्वास रहँदै आएको छ ।
पौराणिक कालमा पाँच भाइ पाण्डव र द्रौपदी स्वर्ग जाँदा यही बाटो हुँदै गएको द्वार भएकाले यसको नाम स्वर्गद्वारी (गुप्तसागर) रहेको भन्ने जनविश्वास रहँदै आएको छ । यही स्वर्गीय आनन्द दिलाउने मन्दिर दर्शन गर्ने धेरै पहिलेदेखिको धोको थियो । जिल्ला सरकारी वकिल कार्यालय प्युठानमा न्याय सेवा आयोगले उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जबाट सरुवा गरेपछि दर्शन गर्ने अवसर मिलेको थियो ।
वि.सं. २०८१ साल असार ४ गते सरुवा भई श्रावण २ गते बिहानै कोहलपुरबाट लमही, दाङको भालुवाङ, प्युठानस्थित सरुमारानी गाउँपालिकामा पर्ने वरडाँडा बजार जो प्युठानको एउटा आर्थिक कारोबार हुने व्यावसायिक केन्द्र पनि मानिन्छ । त्यसपछि खहरे खोला, सिमलचौर देविस्थान, माण्डवी गाउँपालिकाको चकचके बजारसम्म पुग्यौँ ।
चकचके बजारको दायाँ किनारमा माण्डवी नदी उर्लेर बगिरहेकी थिई । त्यसो त यस माण्डवीमा केही माथिबाट चेरनेटाको मुनि झिमरूक खोलाको पानीलाई ड्याम बाँधी सुरुङभित्रबाट नहर बनाएर माण्डवी खोलातर्फ झारी बिजुली उत्पादनका लागि खसालिएको रहेछ । यसले गर्दा पानी बढी थियो भने असार साउनको बढ्दो बाढीले पनि पानी धेरै र धमिलो थियो ।
साइडमा चकचके बजारमा पुगेपछि एकातिर स्वागतद्वार जस्तो लाग्ने, अर्कोतिर होर्डिङ बोर्डजस्तो थियो । माथि हरियो पृष्ठभूमिमा किलोमिटरमा लेखिएको थियो, रोल्पा जिल्लाको सदरमुकाम लिवाङ ६३ किमी, स्वर्गद्वारी मन्दिर ३२ किमी र खलंगा प्युठानसम्मको दूरी २५ किमी ।
साथमा आफ्नै अफिसका गुरु सुनिल चौधरीले पहिले अफिसमा गएर फ्रेस भएपछि स्वर्गद्वारी पुग्न सहज हुने सल्लाह दिएकाले हामी चेरनेटा, क्वाडी जुम्री (खोला) बजार, बिजुवार बजार, स्वर्गद्वारी क्याम्पस, पुण्यखोला, बाघदुला बजारबाट झिमरूक खोलामाथिको पुल तर्दै, बडौरा, सारीबाङ, धरमपानी, पाटीचोक, खलंगा हुँदै बिहान ११:३० तिर कार्यालयमा पुगेका थियौँ ।
कार्यालयमा फूलमाला, अविर, खादा, डायरी सहित कम्प्युटर अपरेटर जानकी खड्का लगायत अन्य कर्मचारी साथीहरूले स्वागत गर्नुभयो । केही समय लगत्तै प्रहरी निरीक्षक केशव खत्रीसहितको टोली सरकारी वकिल कार्यालयमै आएर फूलमाला खादासहित न्यानो अभिवादन प्रकट गर्दै स्वागत गर्नुभयो । त्यो स्वागत र अभिवादन न्यानो आत्मीयताको पुल बनेको थियो ।
केही हप्तापछि त्यही चकचके हुँदै स्वर्गद्वारी नगरपालिका स्थित भिङ्गृ बजार हुँदै प्र.जि.अ. रमा आचार्य, प्र.ना.उ. दिपेश बस्यालसहित स्वर्गद्वारी पुग्ने तल्लो गेटसम्म पुग्यौँ । त्यहाँबाट ढुङ्गाका स्लोटका खुट्किला चढ्दै स्वर्गद्वारीतर्फ पैदल हिँड्न सुरु गरेका थियौँ । गोधूलि साँझ ढल्किसकेको थियो । वरिपरि मधुरा बादलले डढेका जस्ता अग्ला–अग्ला रंगीन पहाड देखिन्थे ।
ठूलो विभिन्न चित्र कुँदेर बनाइएको ‘स्वर्गद्वारी’ लेखिएको प्रवेशद्वार थियो । बिजुली बत्तीको सहारामा हामी खुट्किलै खुट्किलामा टेकेर स्वर्गद्वारी मन्दिर परिसरमा पुग्यौँ । फटाफट हिँडेर जाँदा करिब आधा घण्टा जति समय लाग्दो रहेछ ।
खुट्किला फराकिला थिए । दोहोरो आवागमन मिल्नेगरी एकैचोटि २/३ जना मानिस सँगै हिँड्न मिल्ने ढुङ्गाका स्लेट राखिएका खुट्किला थिए । बिचबिचमा आस्थावान भक्तजनले आफ्ना स्वर्गवासी आमाबाबु वा छोराछोरीको नाममा बनाएका प्रतिक्षालयहरू थिए, जसले चर्को घाम लाग्दा छायाँ र पानी परेको बेलामा ओत लाग्न मद्दत पुर्याउँथे ।
मन्दिर पुग्ने बेलामा पनि विभिन्न आकृतिसहितको आकर्षक प्रवेशद्वार थियो । जसको भित्तामा विभिन्न जानकारी र सूचना लेखिएका थिए । हामीलाई स्वर्गद्वारी मन्दिरका गुरु रामचन्द्र अधिकारीले स्वागत गर्दै खाने सुत्ने राम्रो व्यवस्था मिलाइदिनुभयो । स्वर्गद्वारीमा भि.आइ.पी.देखि सर्वसाधारणसम्मका लागि निःशुल्क कोठाहरूको व्यवस्था हुने रहेछ । हरितालिका परेकोले धेरै मानिसहरूको भीड थियो । भारतीय भक्तजन र श्रद्धालु पनि उत्तिकै आउँदा रहेछन् । खाना पछि केही समय भजन–कीर्तन र नाचमा सहभागी भई सबेरै सुत्यौँ ।

स्वर्गद्वारी आश्रम
स्वर्गद्वारी मन्दिर नेपालकाे लुम्बिनी प्रदेश, साविकमा राप्ती अञ्चल अन्तर्गत प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ मा पर्दछ । भौगोलिक हिसाबले यो क्षेत्र २२४.७० वर्ग किलोमिटरमा फैलिएको छ भने रोपनीमा भन्नुपर्दा मन्दिरको भू–भाग २६,००० रोपनी रहेको छ ।
स्वर्गद्वारी मन्दिर समुद्र सतहबाट २,१२१ मिटर उचाइमा अवस्थित छ । यस प्रसिद्ध मन्दिर क्षेत्रलाई श्रद्धालु र पर्यटकले साँच्चै स्वर्गको द्वार नै ठान्दछन् ।
स्वर्गद्वारीका गुरु रामचन्द्र अधिकारी एवं विकिपिडियाका अनुसार सत्ययुगमा देवताले यात्रा गरेको तपोभूमिमा रोल्पा जिल्लाको रुम्टी गाउँमा वि.सं. १९१६ मा जन्मनुभएका १०८ महाप्रभु बालतपस्वी श्री नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आएर वेदका मन्त्रद्वारा अग्नि प्रज्वलित गर्नुभएको थियो । यसैगरी वि.सं. १९५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु गरी विश्वशान्तिका लागि सञ्चालित यो अखण्ड यज्ञ हालसम्म निरन्तर बलिरहेकाले प्रसिद्ध छ ।
अभिलेख अनुसार पिता अनिरूद्ध गौतम र माता श्वेताकुमारीबाट जन्मनुभएका नारायण गौतमलाई जन्मेपछि छैटौँ दिन आमाले मासु आहार गरेको थाहा पाएर तीन दिनसम्म भोकै बसेर, दशौँ दिनदेखि कपिला गाईको दूध सेवन गर्दै ३ वर्षको उमेरदेखि शिवभक्त बन्नुभएको थियो । गाउँको माथि एउटा स्मरणीय ओढारमा ५ वर्षको उमेरमा अदृश्य भई ३ वर्षपछि विद्वान् रूपमा प्रकट हुनुभएको थियो ।
१९४२ मा गुरु सच्चिदानन्द गिरीबाट संन्यास दीक्षा लिएपछि उहाँको नाम ‘हंसानन्द गिरी’ भएको हो ।
उहाँ आफ्नो गाउँ छाडी चेलाहरूसहित धर्मरक्षाका लागि हिँड्नुभयो । हिँड्दै–हिँड्दै स्वर्गद्वारी नामको उच्च पर्वतमा पुगेर त्यहाँ प्राचीन यज्ञशालाको अवशेष भेटिएपछि बाझको बृक्षमुनि आश्रम स्थापना गर्नुभएको भनिन्छ ।
विकिपीडियाअनुसार स्वर्गद्वारीको उच्च टाकुरामा एउटा गुफा छ । उक्त गुफाबाट प्रभुले स्नानका लागि २३०० मिटर तल लुग्रीं–माडी दोभानमा झर्नुहुन्थ्यो र त्यही द्वारमार्फत फर्किनुहुन्थ्यो भन्ने चलन छ । हाल यसको द्वारलाई ‘स्वर्गको द्वार’ र ‘गुप्तसागर’ भन्ने गरिन्छ । यो द्वार अनुसन्धानको विषय बनेको छ ।
स्वर्गद्वारीका समतल टाकुराबाट मुस्ताङस्थित अन्नपूर्ण–शृंखलाका नीलगिरि लगायतका हिमशिखर तथा म्याग्दी जिल्लास्थित धौलागिरी हिमाल र अन्य दृश्यहरू अवलोकन गर्न सकिन्छ । त्यसैले स्वर्गद्वारी पुगेपछि साँच्चै स्वर्गमै पुगेको अनुभूति हुन्छ ।
हवनकुण्डमा वेदका मन्त्रद्वारा अग्नि स्थापना गरी दीप प्रज्वलित गरिएको पाइयो, जो आजसम्म निरन्तर बलिरहेको छ । गुरुहरूको भनाइ अनुसार दैनिक ३ किलो घिउद्वारा पूजा गरिने हवनकुण्ड पनि आश्रमभित्र छ ।
वेदमन्त्र वाचनसहित हुने पूजा, हवनकुण्डको विभूति प्रसादीका रूपमा ग्रहण गर्दा रोग–व्याधि नलाग्ने, भूतप्रेत नडराउने विश्वास पाइन्छ ।

प्युठान नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो । यसको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बागलुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ पर्दछन् । सोझो दूरीका हिसाबले स्वर्गद्वारी मन्दिर प्युठान सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिम, स्वर्गद्वारी नगरपालिका–२ मा पर्ने धार्मिक तथा पर्यटन गन्तव्य हो ।
यस स्वर्गद्वारी मन्दिरलाई नेपालका पौराणिक तथा प्राचीन मन्दिरमध्ये एक महत्त्वपूर्ण मन्दिर मानिन्छ । माघी, शिवरात्रि, वैशाख पूर्णिमा, श्रावण पूर्णिमा तथा दशैँ तिहारमा विभिन्न मेला लाग्ने गर्छन् ।
मन्दिर व्यवस्थापन समूह अन्तर्गतका गुरु रामचन्द्र अधिकारीका अनुसार आश्रमभित्र गणेशपञ्चाङ्ग, शिवपञ्चाङ्ग, देवीपञ्चाङ्ग, सूर्यपञ्चाङ्ग र विष्णुपञ्चाङ्ग गरी ५ कुण्ड रहेका छन्, जहाँ वैदिक विधिपूर्वक दैनिक ३ पटक पूजा हुन्छ ।
स्वर्गद्वारी प्रभु महाराजको जन्म असार शुक्लपक्ष पुत्रदा एकादशीका दिन भएको हो । उहाँको स्मरणमा नागपञ्चमी, दशैँको फूलपाती, तिहारको औँसीका दिन हजारौँ भक्तजनको उपस्थितिमा रथयात्रा निकालिन्छ ।
दूध घ्यूबाट आश्रमको नित्यपूजा हुन्छ र दर्शनार्थी पाहुनालाई चियाको व्यवस्था हुन्छ । आश्रममा १०० रोपनीबढी जग्गामा गाई–भैंसीको गोबरबाट बनेको मलिलो माटोमा उत्पादन हुने तरकारी सागसँग भक्तजनलाई सशुल्क खाना खुवाइन्छ ।
आश्रमको आम्दानीबाट संस्कृत विषय अध्ययन गर्ने विद्यार्थीका लागि वेद पाठशाला स्थापना गरिएको छ । वेद, रुद्री, चण्डी, अमरकोष आदि विषय अध्यापन गराइन्छ ।
व्यवस्थापन र स्टोर हेर्न बेग्लाबेग्लै कर्मचारी छन् । भक्तजनका लागि निःशुल्क खाना र प्रसादीको पनि व्यवस्था छ । बैशाख पूर्णिमा, जेठ, भदौ, कार्तिक र माघेसंक्रान्तिमा मुख्य मेला लाग्छ, जसमा नेपाल र भारतको उत्तरप्रदेश तथा बिहारका तीर्थयात्री आउँछन् ।
एकताका चौविसे राज्यभित्र पर्ने स्वर्गद्वारी तपोभूमि विगतमा खस राज्यमा रहेको प्रमाण पाइन्छ । खस सम्राटले १२ औँ शताब्दीको पूर्वार्द्धमा गोरखासम्म राज्य विस्तार गरेका थिए । पछि १५ औँ शताब्दीमा खस राज्य स्वार्थ भोगमा परेपछि कमजोर बन्दै गयो ।
खस राज्य कमजोर भएपछि बाँडफाँड हुँदै बाइसी र चौविसे राज्यमा विभाजित भयो । पछि प्युठान चौविसे राज्यभित्र पर्न गयो, जहाँ मगरको प्रभाव थियो । आज पनि प्युठानमा मगर जातिको जनसंख्या तुलनात्मक रूपमा बढी पाइन्छ ।
अन्त्यमा प्युठान घुम्दा स्वर्गद्वारी धाम, गौमुखी गाउँपालिकाको सुन्दर गौमुखी गुफा तथा झरना, मल्लरानी थुम्काबाट देखिने बिजुवार प्युठानका दृश्य, गौमुखीबाट उत्पन्न भई झिमरूक हुँदै बग्ने झिमरूक खोला, जसले प्युठानी सभ्यता निर्माण गरेको छ । त्यसैगरी ऐरावती, नौबहिनी गाउँपालिकाको कोठेभिर, प्युठान नगरपालिकाको भित्रीकोट दरबार, झिमरूकको ओखरकोट बाँधिकोट दरबार, माण्डवी खोला, सरुमारानीका मनोरञ्जनपूर्ण पर्यटकीय स्थलहरू आकर्षक छन् ।
2०८२/०७/२८ प्युठान















