संस्कारमध्ये एउटा अत्यन्तै गहिरो, भावुक र जीवन दर्शनको मूलभूत सत्य बोकेको परम्परा आज पनि जीवित छ।
नेपाल एउटा यस्तो देश हो जहाँ अनेकौँ भाषा, जाति, संस्कार र सभ्यताहरूको बसोबास छ। भौगोलिक रूपमा ठूलो देखिँदैन तर यहाँको जैविक विविधता, परम्परा, कला संस्कृति र जीवनशैलीलाई हेर्दा यो भूभाग संसारकै मौलिक जरा बोकेको देश हो।
विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा यो मौलिकता अझै जीवित छ। जुम्ला, हुम्ला, अछाम, दैलेख, बझाङ, बाजुरा, बर्दिया जस्ता जिल्लाहरू धेरै वर्षसम्म काठमाडौँको नजरमा विकट र उपेक्षित क्षेत्रका रूपमा हेरिए।
शासन फेरिए, शासक बदलिए, तर यी ठाउँलाई हेर्ने दृष्टि लामो समयसम्म अपरिवर्तित रह्यो। भौतिक विकास ढिलो भयो तर यहाँको सभ्यताको जरा गहिरो थियो। प्रकृतिसँग मेल राखेर हजारौँ वर्षअघिदेखि नै विकसित भएको जीवनदर्शन यहाँको पहाडमै उम्रिएको थियो।
कर्णाली र सुदूरपश्चिमका पहाडमा बसोबास गर्ने खस समुदायको इतिहास अत्यन्त पुरानो मानिन्छ। बार्ह हजार वर्षअघिदेखि नै विकसित भाषा, परम्परा, संस्कार र जीवनशैली आज पनि निरन्तरता बोकी रहेको छ।
जुम्लाको सिजा भाषालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ। हावा, पानी, आकाश, पृथ्वी र अग्नि जस्ता प्राकृतिक तत्वलाई जीवनका आधार मानी प्रकृतिपूजालाई केन्द्र बनाएर बसेको यो सभ्यताले धेरै प्रभावको झड्का बेहोरे पनि आफ्नो मौलिकता हराउन दिएन।
विदेशी शासक, नीतिगत हस्तक्षेप र धार्मिक प्रचारकहरूले केही संरचनामा परिवर्तन ल्याए तर प्रकृतिबाट जन्मिएको परम्परालाई मेटाउन सकेनन्।
यिनै मौलिक संस्कारमध्ये एउटा अत्यन्तै गहिरो, भावुक र जीवन दर्शनको मूलभूत सत्य बोकेको परम्परा आज पनि जीवित छ।
छोराको बिहे भएको दिन, आमाले दूध चुसाइसकेपछि बरबर खुसीको आँसु झार्दै सम्झाउँछिन्, ‘बाबु, तिमी अबदेखि मेरो कोखबाट निस्क्यौ। तिमी बाहिरी संसारमा दुःख, सुख, संघर्ष र मेहनत गर्न सक्छौ। तिमी आफैँ जिम्मेवार बन्नुपर्छ। तिमी सबै कुराका लागि योग्य र सक्षम छौ।’ भनेर दीक्षित गर्छिन्।
यो केवल संस्कार होइन। यो आमाले आफ्नो दीर्घ मातृत्व यात्राको महत्वपूर्ण घोषणा हो। त्यो दिन छोराले बुझ्छ कि अब ऊ बच्चा मात्र होइन, जीवनका यात्रु भएको छ।
बाहिरबाट हेर्दा सामान्य दृश्यजस्तो लागे पनि यसको अर्थ गहिरो छ। चराले बच्चालाई गुँडमा पाल्छ, तातो दिन्छ, हेरचाह गर्छ तर जब पखेटा मजबुत हुन्छन्, एउटा दिन आकाशमा फालेर उड्न सिकाउँछ।
त्यो क्षण चराको जीवनमा स्वतन्त्रताको पहिलो पाठ हो। यही त मानव जीवनमा पनि सिकाइ हो तयार हुनु, जिम्मेवार बन्नु र नयाँ संसारसँग जुध्न सक्षम हुनु।
यो परम्परा कुनै अन्धविश्वास होइन। यो प्रकृतिबाट जन्मिएको जीवन दर्शन हो। पुराना पुस्ताले प्रकृतिको अध्ययन गर्दै जीवनका नियमहरू बुझेर यस्ता संस्कार निर्माण गरे। आजको पुस्ताले धेरै शिक्षा, ज्ञान, प्रविधि पाए पनि यस किसिमका मौलिक परम्परामा लुकेको वैज्ञानिक र भावनात्मक अर्थ बिस्तारै भुलिँदै गएको देखिन्छ।
धर्मकर्म भन्नाले मानिसले बनाएको मन्दिर, मस्जिद वा चर्च मात्र होइन। सबैभन्दा ठूलो धर्म भनेकै आमाबाबुको सम्मान हो। उनीहरूको वृद्ध अवस्थाको सहारा बन्नु हो। बाल्यकालमा जसरी उनले हात समातेर हिँडाउन सिकाए, त्यही हातलाई बुढेसकालमा थामिदिनु नै साँचो धर्मकर्म हो।
छोराले आफैँलाई नयाँ व्यक्तिमा देख्ने क्षण यही संस्कारले दिन्छ। ‘अब म आमाको कोखको मात्र बच्चा होइन, संसारको जिम्मेवार व्यक्ति हुँ’ भन्ने अनुभूति उसमा बन्छ। यही आत्मविश्वास लिएर ऊ बाहिरी संसारतर्फ उडान भर्न थाल्छ। यही क्षण जीवनको ठूलो मोड हो।
त्यो दिन विशेष कुनै तामझाम हुँदैन। कुनै देखावटी अनुष्ठान हुँदैन। भावनाको पवित्रता हुन्छ। विश्वासको गहिरो आधार हुन्छ। र सबैभन्दा ठूलो कुरा आमाको अटल माया हुन्छ।
मानिसले ठूलाठूला मन्दिर बनायो, त्योभन्दा ठूलो पवित्र धरोहर त आमाबाबुको मुटु नै हो। उनीहरूको माया नै जीवनको पहिलो र अन्तिम मन्दिर हो।
त्यसैले यो दिन केवल एक दिन होइन, जीवनभरि स्मरण भइरहने शक्ति हो। त्यो शक्ति जसले कठिनाइमा उभ्याउँछ, सफलता पाउने साहस दिन्छ र जीवनको अर्थ सम्झाइरहन्छ।














