शुक्रबार, २९ फाल्गुन, २०८२

कर्णालीबारे निर्माण गरिएका नकारात्मक बिम्बहरुको बिरुद्धमा

तत्कालिन सिंजा साम्राज्यले ऋण लगाएको, मागेको इतिहास भेट्नु आठौं आश्चर्य हो। तर त्यही राज्यलाई हराउने गोर्खाली देखि हालसम्मका शासकहरुका कारण आज हरेक नेपाली गर्भाधानको पहिलो प्रहरबाटै ऋणको भारी बोकिरहेको छ।

जुम्ला जान्या जुम्ली दाईको, काम कति हुँदो हो।
चौबिस घण्टा हात खाली नाई, सित्ति मन रुँदो हो।

प्रस्तुत देउडा दाँङमा खेल्नेबेला त्यहाँका देउडियाले जुम्ली तल पार्न हालेको हो। श्रमलाई सम्मान गर्ने जुम्लीले त्यो गीतको जवाफ पनि श्रमसँग गाँसेर दिएका थिए तर हारेका थिएनन् भन्ने देउडियाहरु बताउँछन्।

यसरी गीतमा होच्याउनुको कारण जुम्लीहरु भेडा पाल्थे। वर्षको एक पल्ट भेडाको उन निकालिने। उनबाट लगाउने कपडादेखि ओड्ने, ओछ्याउने सम्म हुने। यी सबैका लागि अरुका भर पर्नु नपर्ने। एक प्रकारको आत्मनिर्भर प्रयास नै भयो। मेसिनको प्रयोग गर्ने जमाना आइनसकेकाले डोरी बनाउन हातले उन कात्नुपर्ने। त्यसका लगि ताखु चाहिने।

कुनै एउटा काम गर्दा गर्दै ताखु कात्न सकिने। हिँड्दा हिँड्दै, गाइ, घाेडा, भेडा, बाख्रा चराउँदा चराउँदै, कचहरीमा गफिदा गफिदै, भोट, मधेस गर्दा गर्दै। उति गाह्रो पनि नहुने भएकाले ताखु कात्ने काम निरन्तर भैराख्थ्यो। जुम्ली जहाँ-जहाँ गयो त्यहीँका मान्छेले देखिरहेका थिए। दंगाली देउडियाले त्यसैलाई जुम्ली होच्याउने काइदा माने।

जुम्ली देउडा खेलाडी पूर्ण धितालले जवाफ यसरी दिएका रहेछन् :-,
बड्चौड बाजको बगाल, झ्याँइअ कुटि कुटि।
कति मर्‍या जिजु-बाज्या, फलाम चुटिचुटी ?

जवाफ श्रमसँगै जोडिएको थियो। सबैले कुनै न कुनै खालको पेसा अंगालेका हुन्छन्, त्यसैलाई होच्याउने आधार बनाउनु हुँदैन भन्ने खालको भाव समेटिएको गीत हाे। यद्यपि ‘इटको जवाफ पथ्थरले दिन्छ’ भन्ने सन्देश पनि हो।

विशेषत १८४६ मा गार्खालीहरुले आफू विजयी भएको घोषणा गरेका भएपनि त्यो षडयन्त्र मुलक हमला थियो। तर त्यो जित्नेहरुका लागि जायज थियो ‘एभ्रिथिङ इज फियन इन लभ एण्ड वार’ भनेजस्तै। तत्कालीन जुम्ला राज्यका राजा शाेभान शाहीले हार मानेका थिएनन्। र पनि राज्य हत्याउने खालको विद्रोह उनीबाट हुन सकेन।

जुम्ला राज्यले तीन पल्ट सम्म गोर्खालीहरुलाई धुलो चटाएको हो। अन्तका राजाहरुले जस्तो जुम्ली राजाले हार मान्दै राज्य छोडेका थिएनन्। यहाँ प्रतिरोध आन्दोलन भएको थियो। त्यसैले गोर्खालीहरुले पछिसम्म पनि बदला लिइरहे। युद्धमा हार्नेलाई दबाउने नियत हुन्छ। प्रथम र दोस्रो विश्वयुद्धमा हारेका देशहरुले भोगेका थिए। त्यसैले गोर्खालीका सन्तानहरु शत्तामा हुन्जेसम्म कर्णाली पछि परिरह्यो। कर्णालीलाई अलग राज्यको व्यवहार गरिरह्यो। आजसम्म पनि कायम छ।

त्यतिमात्र होइन कर्णालीबारे विविध नकारात्मक संकथनहरु निर्माण गरिरह्यो। जुम्ली भन्ने वित्तिकै फोहोरी। कर्णाली सुन्ने वित्तिकै भोकमरी, मगन्ते आदि। त्यतिमात्र नभई जुम्ला राज्यमा रहेकाे थाेरै नराम्रा चलनलाई समेत संसारभर झ्याली पिट्यो। जस्तो छुइप्रथा मान्ने, खुला ठाउँमा दिशा गर्ने आदि। त्यहि बाहानामा संसार निल्दै हिँडेका एनजिओ, आइएनजिओ र धार्मिक संस्थाहरु समेत छिरायो।

तर नेपाली भाषा, संस्कृति, संस्कार एवं सभ्यताको उद्गम थलो सिंजा भन्दै ‘जस’ भने लिइरह्यो। तथाकथित नेताहरुले कर्णाली पुग्दा आफ्नो पुस्ता कर्णालीकाे फलाना ठाउँबाट गएको बताउँदै यहाँका मान्छेसँग गला गाँस्दै जनमत आफ्नो पोल्टामा पारिरहे। दिमाग भुटीरहे।

यतिबेला थप विमर्शको जरुरी ठान्दै यो लेख तयार पारिएको छ।

जुम्ली फोहोरी हुन्छन् भन्ने कुराकाे जवाफ वरिष्ट पत्रकार भैरव रिसालले यसरी दिएका थिए, ‘त्यो जमानामा जुम्लामा साबुन पुग्नै दुर्लभ। नेपालमै पनि दोस्रो विश्वयुद्धको दौरान जुद्धशमशेरको पालामा विराटनगरमा पहिलो साबुन (डल्ले) कारखाना खुलेको हो। तब जुम्लामा केको साबुन? चिसो ठाउँ, आगो नतापी बाँच्नै मुस्किल। आगो ताप्दा लुगा मैलो हुने। तसर्थ जुम्ली मैलो हुने नै भो। त्यो युगमा मैलो जुम्ली, हुम्लीलाई जुम्ली, हुम्ली भनी सम्बोधन गर्दा सम्मान, प्रतिष्ठा र इज्जत ठानिन्थ्यो।’

उनले भनेका थिए, ‘तर केही समय यता जुम्ली, हुम्ली भन्ने सम्बोधनलाई होच्याएको, हेला गरिएको, अपमान गरिएको ठानिन थालिएको छ।’

यसबारे कर्णाली आफैले बोलीहाल्नु नपर्ने हो। तर ‘अबि नैही तो कबि नैही’ को अवस्थामा पुगिसकेको छ।

सिंगो देशको परिस्थितिलाई ध्यानमा नराखी स्वाभिमान, स्वाधीनता, स्वावलम्बन, परिश्रमलाई चटक्कै बिर्सेर फोहोरको पर्यायवाची कर्णाली, जुम्ला र जुम्ली मात्रै कसरी हुन पुग्यो?

कर्णालीको अर्थतन्त्र र दुरदर्शितबारे बिहारीकृष्ण श्रेष्ठले लामो अध्ययन गरे। कर्णालीले आत्मनिर्भरताको लागि स्थानीय श्रोत, साधन, श्रम र सीपको अधिकतम प्रयोग गरेको थियो। जेमा कर्णाली निर्भर थिएन त्यसका लागि भोटसँगको व्यपारका विभिन्न नाका छेडेको थियो। जस्तो नुन भोटबाट ल्याउनपर्ने भएकाले यातायातको लागि भेडा पालन तथा विनिमयको लागि अन्न उत्पादनलाई बढवा दिइएको थियो। कर्णालीको आफ्नै रेशम मार्ग थियो।

व्यापारको विस्तार हालको नेपालममात्र होइन समुद्रपार देखि विदेशसम्म थियो। कर्णालीका महिलाहरुले लगाउने मुगा, मोतीका माला, तुथो र पुलीका विशेष गहना तथा बाज(हिरा खोज्न प्रयोग हुने पंछी) लगायतको काराेबारले व्यापारको सिमारहित विस्तारलाई देखाउँछ।

त्यही क्रममा सिंजा साम्राज्यले विकास गरेको भाषाको समेत विस्तार भएको थियाे। परिणाम नेपाल राज्यले पनि सिंजामा विकास भएको भाषालाई नै कामकाजी बनायाे। अहिले गाेर्खालीको अपुताली सम्हालेका राज्यका मालिकहरु नेपाली भाषा, संस्कार, संस्कृति र सभ्यताको जननी भनेर छाती फुलाइरहेका छन्।

तत्कालिन सिंजा साम्राज्यले ऋण लगाएको, मागेको इतिहास भेट्नु आठौं आश्चर्य हो। तर त्यही राज्यलाई हराउने गोर्खाली देखि हालसम्मका शासकहरुका कारण आज हरेक नेपाली गर्भाधानको पहिलो प्रहरबाटै ऋणको भारी बोकिरहेको छ।

गल्ली, गल्छेडामा, चोक, चौतारोमा गलैचा, राडिपाखी, गार्सागुम्बा, गुच्ची च्याउ, बेच्नुमा गर्व गर्ने तर माग्न नजान्ने कर्णालीमा हवाइ जहाजबाट चामल र नुन ढुवानी गर्ने तथा एनजिओलाई चामल बाड्ने वितरक बनाई उत्पादन र अर्थतन्त्रलाई नामेट पार्न सत्ताले कणार्ली सुन्ने वित्तिकै मगन्तेको संकथन निर्माण गरेको हो। कहिल्यै हात खाली नगर्ने कर्णालीबासीलाई माग्ने भन्ने कत्रो हिक्मत?

महिला छुई(महिनावरी) हुनु स्वाभाविक प्रक्रिया हो। यसलाई कर्णालीले जटिल कहिल्यै बनाएन। अहिलेको जस्तो व्यवस्थापनका विभिन्न उपाया आइसकेका थिएनन्। छुई हुँदा निस्कने रगत चुनौति थियो। दिनरात मेहेनत गर्ने महिलाहरुलाई आरामको जरुरी पनि थियो। रगत बगिरहने समयसम्म आराम गर्न भनि बनाइएका हुन, छुइकिल्ला(छाउगोठ)। गच्छे अनुसार कसैले गतिलो बनाए त कसैले अगतिलो। घर अगतिल्ला भएको ठउँमा छुइकिल्ला अन्तराष्ट्रि गुणस्तरको हुने कुरै भएन। अहिलेको जस्तो प्रविधि आइसकेको पनि थिएन। छुन नहुने, भान्सामा बस्न नपाउने, खाना बनाउन नहुने जस्ता केही सिमाहरु सबैका निम्ति अस्वीकार्य नै हुन ।

चेतना फैलाउन कहिल्यै नलाग्ने, तर यहि बाहानामा एनजिओ छिराउन कर्णाली आफै लागेको हो की राज्य ?

खुला ठाउँमा दिसा गर्नु तत्कालिन राज्यको युद्ध कौशलता नै हो। यद्यपी गोर्खालीको अनेक तिग्डमका अगाडी जुम्ला राज्य अस्तित्वमा रहेन। तर ‘नेपाल इज एन ओपन ट्वाएलेट’ भन्दै खुला दिशा मुक्त क्षेत्र घोषणाका लागि विदेशीसँग माग्दै हिँड्ने को हाे?

जवाफ राज्यले नै दिनुपर्छ। कस्को मगज फाहोर छ? को मगन्ते छ? यी सवालमा कर्णाली बोलिरहनु पर्दैन। गोर्खालीको अपुताली सम्हाल्ने शासकहरुको मानसिकता फरक होला भनि कल्पना गर्नु ‘गधालाई धोएर गाइ बनाउछु’ भन्नु सरह नै हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार