शुक्रबार, २१ कार्तिक, २०८२

पूर्वी अछामको विकट पहाडी क्षेत्रबाट अमेरिका सम्मको यात्रा: प्रेम शाहीको सङ्घर्ष र सफलता!

प्रेमले सहयोगको हिसाब गरेर कहिले बाँडेनन्। न अपेक्षा न चर्चाको आस, न त प्रचारको मोह। बस्, बाँडिरहेका छन्, प्रेम। लगाइरहेका छन्, मल्हम, चहराईरहेका घाउहरुमा।

सुदूर पहाड, जहाँ सूर्योदय आशाका उज्याला किरणहरू लिएर आउन नपाउँदै भालेले बासेर भन्थ्यो, उठ बम्बै जाने समय भयो। तारानाथ शर्माले २० को दशकमा अछामको यात्रापछि त्यसै लेखेका थिएनन्, “बैकिनीका आँशुमा रुँदो छ, बयालपाटा।” बिहे गरेकै भोलिपल्ट बम्बै जाने बैकानको विदाईमा बैकिनीका आँखा आँशुको आहाल बन्थ्यो। यस्तै थियो, सुदूर पहाडको भाग्य र नियति।

त्यही पहाडमा जन्मिएका थोरै व्यक्ति, जसले भाग्य र नियतिलाई दोष दिएनन्। जसले संघर्षले बदले, भाग्य। र बदले, सुदूर पहाडको भाष्य। यहाँ तिनै अपवादमध्येका एक, प्रेम शाहीको चर्चा गर्दैछु।

भनिन्छ, जुन परिस्थितिमा जन्मिन्छौं, त्यो हाम्रो हातमा हुँदैन; तर जीवनलाई कहाँ पुर्‍याउने भन्ने निर्णय हाम्रो हातमा हुन्छ। उनी यो कुरामा विश्वास गर्थे। उनले भाग्य र परिवेशलाई सरापेनन्। कडा मिहिनेत गरे। र, आफ्नै बलबुतामा अमेरिकामा व्यापारिक साम्राज्य खडा गरे।

११ जनवरी १९७५ मा अछामको बिनायकमा जन्मिएका उनका पाँच दाजुभाइ थिए, तीन दाजुभाइ, दुई दिदीबहिनी। उनी सबैभन्दा जेठा। उनी जन्मिएको केही समयपछि बुवा जगु शाही भारत पसे। परिवारको जिम्मेवारी आमा लालशोभाको काँधमा आयो।

नेपाल ओहोरदोहोर गरिरहनुको झन्झट, परिवारको चिन्ता। बुवाले पाँच वर्षको नहुँदै उनलाई सुरत लगेर गए। बुवाको चौकीदारको जागीर, खोलीको बास। नौ महिनामा बुवा गुमाएका टुहुरा बुबा, जसलाई उनकी हजुरआमाले हुर्काएकी थिइन्। बुबाले एक छोरीलाई आमाको हेरचाहका लागि अछाममै छोडे। उनीसहित चार सन्तानलाई आफूसँगै राखे। उनका बुवाले स्कुल टेक्न पाएनन्। पढ्न नपाउनुको पीडासँगै बाँचे। अठोट लिए, सन्तान पढाउने। र त, भोक, अभाव, पीडा भनेनन्। सन्तानलाई निजी विद्यालयमा पढाए, हुर्काए।

सुदूर पहाडमा बिशुँ र दशैं किस्तामा आउँछ। हरेक वर्ष आउँदैन। परदेशिएको बैकान नफर्किए के दशैं? के बिशुँ? बुवाको आशीर्वाद, नयाँ भोटो, चिल्ला नोट यी बिना सन्तानलाई केको खुशी? निधार र मन दुबै खाली। पालो पारेर दशैं र बिशुँमा उनका बुवा दुई वर्षमा अछाम जान्थे। कहिले बहिनीको निधार खाली, कहिले उनको।

अँध्यारो खोली, त्यही खोलीमा बस्थ्यो छ जनाको परिवार। भनिन्छ, उज्याला सपनाहरूको उदय अँध्यारा छेदीहरुमै हुन्छ। त्यही अँध्यारोमा बुवाले देखेका थिए, उनलाई डाक्टर बनाउने सपना।

सन् १९९५ मा दक्षिण गुजरात विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक गरेपछि उनी नेपाल फर्किए। भारतमा पढेका उनी स्पष्टसँग नेपाली बोल्न सक्दैनथे। कि हिन्दी बोल्थे, कि अछामी भाषा। शुरुवाती दिनमा उनले भाषागत कठिनाई झेले।

उनलाई थाहा थियो, भाषा कम्युनिकेशनको माध्यम मात्र हो। उनको इच्छाशक्तिका अगाडि भाषा बाधक कसरी हुन्थ्यो? छ महिनामै नेपाली भाषामा पोख्त भए।

उनी १९९५ मा त्रिभुवन विश्वविद्यालयमा एमबीएमा भर्ना भए। एमबीएमा कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूको दबदबा थियो। १९९८ मा एमबीएको रिजल्ट आयो। टप हुने अनुमान गरिएका विद्यार्थी पास भएनन्। नवराज खनिया टप भए। उनी दुई अंकले दोस्रो भए।

एमबीएको पढाइ सकेर उनी कैलाली फर्किए। भर्खरै खुलेको मालिका विकास बैंकमा २००० मा उनले सिनियर असिस्टेन्टका रूपमा काम पाए।

एक वर्ष नबित्दै नेपाल बंगलादेश बैंकमा अफिसरका रूपमा जागीर पाए। उनीसँगै काम गर्थे अमरनाथ श्रेष्ठ। आईटी विभागमा कार्यरत श्रेष्ठकै जिद्दीले उनले डीभी भरे। उनलाई डीभी पर्यो, श्रेष्ठलाई परेन। न अमेरिकाको सपना, न अमेरिका जाने योजना। अमेरिकामा के गर्ने? दिमाग शून्य थियो। २००८ मा डीभीले उनलाई अमेरिका पुर्‍यायो।

बैंकको अफिसर, आकर्षक तलब, वर्षौंको मिहिनेतले साकार भएको सपना। सामान्य संघर्षले हासिल भएको थिएन त्यो मुकाम। सोचेका थिए, दुःख र संघर्षका दिन सकिए। अमेरिका पुगेपछि त दुःख र संघर्षका दिन फेरि शुरू भए।

साँघुरो अपार्टमेन्ट, शेयरिङको बसोबास। न भोक, न प्यास, बस कामको चिन्ता। उनलाई यस्तो लाग्थ्यो, अमेरिकामा होइन, सुरतमा छु। जहाँ जीवन शून्य छ, जहाँ सपनाहरू अँध्यारा छेदीहरूबाट बाहिर निस्किन संघर्ष गरिरहेका छन्।

मुस्किलले फोन बनाउने कम्पनीमा काम पाए। घण्टाको ८ डलर मिल्थ्यो। केही समयपछि ग्याँस स्टेशनमा काम थाले। कहाँ बैंकको अफिसरको जागीर? कहाँ ग्याँस स्टेशन? एक मनले भन्थ्यो, नेपाल नै बेस। हार्न उनले जानेका थिएनन्। उनी परे जिद्दी। मिहिनेत उनको धमनीमा थियो। पछि हट्ने उनको स्वभाव थिएन।

एक वर्ष यसैगरी बित्यो। उनले सोचे, यसरी त जिन्दगी चल्दैन। टेक्सास बोर्ड अफ पब्लिक एकाउन्टेन्सीमा सर्टिफाइड चार्टर्ड एकाउन्टेन्ट्स (सीपीए) को पढाइ शुरू गरे। पढाइ, काम, गृहकार्य रात कतिखेर बित्थ्यो? पत्तै हुन्नथ्यो। आराम र निद्राका लागि समय कहाँ? उनी बढीमा तीन/चार घण्टा सुत्थे।

यसरी २०११ मा सीपीएको कोर्स पूरा गरे। २०१२ मा ड्यालसमा सीपीएको जागीर पाए। तीन वर्ष विभिन्न कम्पनीका लागि काम गरे। यो बीचमा उनले क्षमता बढाए, सम्बन्ध विस्तार गरे र सबैको विश्वास जिते। प्रेम शाही नाम होइन, ब्रान्ड बने।

उनी अरूको सीमामा बाँधिएर बाँच्न वा काम गर्न चाहँदैनथे, किनकि उनी आफ्नै क्षमतामाथि विश्वास गर्थे। त्यही विश्वासले उनलाई सधैं आफ्ना सीमा नाघ्न प्रेरित गर्थ्यो। उनलाई लाग्थ्यो, स्वतन्त्रता त्यहीँबाट सुरु हुन्छ जहाँ हामी आफैंले आफ्नो बाटो बनाउन सक्छौं।

यही सोचले उनले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय लिए। सुरुमा घरबाटै व्यवसाय थाले, तर छोटो समयमै एक कदम अगाडि बढ्न सफल भए। सानो अफिस लिएर व्यवसाय विस्तार गरे।

२०१५ मा उनले आफ्नै सीपीए फर्म दर्ता गरे। एक वर्षपछि सह–संस्थापकका रूपमा उनी अवान्त ग्रुप अफ कम्पनीजसँग जोडिए। दुई जना साझेदार रहेको अवान्त ग्रुपका उनी प्रमुख कार्यकारी अधिकृत हुन्।

अवान्त ग्रुपको साम्राज्य फैलिँदो छ। जसअन्तर्गत रहेको अवान्त ट्याक्स एन्ड फाइनान्सले कर तथा वित्तीय परामर्शको काम गर्छ। अवान्त इन्स्योरेन्सले बीमाका क्षेत्रमा काम गर्छ। अवान्त क्यापिटलले रियल स्टेटमा लगानी गरिरहेको छ।

त्यसबाहेक उनको आवद्धतामा ग्रोसरीको थोक बिक्रीकर्ता हिमालयन भ्याली फुड्स र खुद्रा बिक्रीकर्ता कैराली फार्म प्रोड्युस सञ्चालनमा छ।

उनी सोच्थे, सपना देख्नु त ठूलो देख्नु, किन सानो देख्नु? र, सपना जस्तो सुकै होस्, त्यो पूरा गर्न कडा मिहिनेत गर्नैपर्छ। सफलताका लागि समर्पण र मिहिनेत अनिवार्य शर्त हुन्, यो उनले बुझेका थिए।

उनले कडा मिहिनेत गरे, काममा समर्पित भए, क्रमशः सफलताको सिँढीमा उक्लिँदै गए। कसैले हात समातेर उचाइमा पुग्नुलाई के सफलता भन्नु? उनी अपवाद थिए। आफ्नै बलबुतामा र कडा मिहिनेतले सफल भए। र, बनाए पृथक पहिचान।

उनी एकपछि अर्को कम्पनी थप्दै गए। उनले ग्रोसरीको होलसेल र खुद्रा व्यवसायमा हात हाले, रियल स्टेटमा जोडिए, हेल्थ केयर कम्पनी खोले, बीमा कम्पनी थपे।

ड्यालसबाट शुरू गरेको व्यवसायलाई भारत र दुबईमा विस्तार गरे। यतिबेला उनीसँग १५ भन्दा बढी कम्पनी छन्, जसको नेटवर्थ ३५ मिलियन डलरभन्दा बढी छ।

दक्षिण भारतमा उनका दुई वटा अफिस सञ्चालनमा छन्, जहाँ ३० जनाभन्दा बढीले रोजगारी पाएका छन्। उनले त्यहाँ ट्याक्स र अकाउन्टिङ सेवा विस्तार गरेका छन् र ग्रोसरीको अफिस पनि सञ्चालनमा ल्याएका छन्। भारतबाट ग्रोसरीका सामानहरू अमेरिका आयात गर्छन्।

केही समयअघि उनले दुबईमा रियल स्टेटको अफिस सञ्चालनमा ल्याए। त्योसँगै उनले ट्याक्स र अकाउन्टिङ सेवा थपेका छन्। निकट भविष्यमा ड्यालस, ह्युस्टन र अष्टिनमा ग्रोसरीका पाँच वटा आउटलेट थप्ने उनको योजना छ।

छोराहरू प्रज्वल र आरोनसँगै हुर्किँदै छन् उनका कम्पनीहरू। उनी सन्तानलाई झैं माया गर्छन्, आफूले जन्माएका कम्पनीहरूलाई।

“नेपालमा के थियौ? बिर्सिदेऊ। नेपालको पहिचान, सम्मान र सम्पत्तिको धङधङी रहीरह्यो भने मान्छे पीडामा बाँच्छ। त्यही पीडाले डिप्रेशनमा लैजान्छ। नेपालमा बाँचेको जीवन नखोज, शून्यबाट जीवन बाँच्न तयार होऊ।” यो उनको सिकाइ हो। उनी यही अनुभव सबैमा लागु हुने बताउँछन्।

उनी नेपालमा आरामदायी जीवन बिताइरहेका थिए। अमेरिकामा बिताएका सुरुवाती दिनहरू उनका लागि निकै पीडादायी थिए। जीवनयापन गर्नका लागि उनले मजदुरीका कामहरू गर्नुपर्‍यो। ती कठिन समयहरूले उनलाई त्याग र समर्पणको गहिरो पाठ सिकाए, जुन उनको अहिलेको सफलताको आधार हुन्।

कडा मिहिनेत र समर्पणले यो सफलता प्राप्त भएको उनको बुझाइ छ। यो सफलताको श्रेय उनी परिवार र पत्नी लतालाई दिन्छन्।

सपना देख्नेहरूले होइन, सपना पूरा गर्नेहरूले इतिहास बनाउँछन्। उनी तिनैमध्ये एक थिए। उनी खुला आँखाले सपना देख्थे र सपना पूरा गर्न सुत्दैनथे। यही हो उनको सफलताको सूत्र।

“सफल सबै हुन चाहन्छन्, तर सबै मिहिनेत गर्दैनन्। सफल तिनै व्यक्ति हुन्छन्,” उनी भन्छन्, “जसले कडा मिहिनेत गर्छ।”

उनको दिमागमा व्यवसाय वा मुनाफा मात्र छैन। त्यो भन्दा माथि छ, सेवा भाव। र त, व्यस्तता बीच सामाजिक र धार्मिक कार्यमा सहभागी भइरहन्छन्।

अछामको ठाँटी जहाँ उनी जन्मिए। चार वर्षको हुँदा आफ्नै घर जलाएर खरानी बनाएको, स्मृतिबाट धुमिल हुँदै गएको नमिठो घटना बाहेक ठाँटीसँग बाल्यकालका सम्झनाहरू खासै छैनन्। पाँच वर्षमा छोडेको ठाँटीमा उनी १४ वर्षपछि फर्किएका थिए। उनले जे कमाए, उनी जे बने, उनी जहाँ पुगे, त्यो ठाँटीबाटै प्राप्त भएको ठान्छन्। ठाँटीसँग गहिरो लगाव छ, अथाह प्रेम छ।

त्यही प्रेमले डोर्‍याएर उनलाई पुर्‍याइरहन्छ ठाँटी। कहिले उनी स्वयं पुग्छन्, कहिल्यै राहत र सहयोग सामग्रीमार्फत पुग्छन्।

भूकम्प, बाढी र दैवी प्रकोपले सुदूरको भूगोल प्रभावित हुँदा उनी चुप लागेर बस्न सकेनन्। कोभिडबाट आहत सुदूरलाई सिलिन्डर, मास्क र सेनिटाइजर पठाएर जन्मभूमिप्रतिको दायित्व निर्वाह गरे। अछाममा बाढीबाट क्षति हुँदा आर्थिक सहयोग संकलन गरेर पठाए।

जहाँ पुगे पनि शिरमा सगरमाथा छ, हृदयमा सुदूरपश्चिम। टेक्सासमा सुदूरपश्चिम नेपाली समाज स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याए। यद्यपि क्षेत्रीय भावना भन्दा माथि रहे। टेक्सास नेपाली समाजमा आबद्ध उनी टेक्सासस्थित नेपाली मन्दिरको बोर्ड अफ ट्रस्टीका सदस्य पनि हुन्।

अछामको विनायकस्थित वरिष्ठ नागरिक सेवा केन्द्र र जाल्पादेवी मन्दिर निर्माणमा पाँच लाखभन्दा बढी सहयोग गरे। सुदूरपश्चिममा मोबाइल ब्लड बैंक स्थापनाका लागि सहयोग गरे। विनायकमा गणेश मन्दिर निर्माणका लागि पाँच लाख दिए।

उनले हिसाब गरेर कहिल्यै बाँडेका छैनन्। न अपेक्षा, न चर्चाको आस, न प्रचारको मोह। बस्, बाँडिरहेका छन्। प्रेम लगाइरहेका छन्, मल्हम, चहराइरहेका घाउहरूमा।

बिल गेट्स भन्छन्, “यदि तिमी गरिब भएर जन्मियौ भने त्यो तिम्रो गल्ती होइन, तर यदि तिमी गरिब भएर मर्छौ भने त्यो तिम्रो गल्ती हो।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार