मंगलवार, १३ माघ, २०८२

“निक्कु, नदी र दशैं : बाल उमंगको कथा”

सानो बच्चाको खुशी सच्चा, निश्छल र हृदय छुने हुन्छ। प्रशंसा केवल शब्द होइन। त्यो बालहृदयमा विश्वास र माया जगाउने जादू हो। तसर्थ, हामीले बच्चाबच्चीको कामको प्रशंसा गर्नु अनिवार्य देखिन्छ।

यसपालि दशैं बिदा भयो। यस दशैंमा सधैंजसो घरमा साना बच्चाबच्चीको आगमन भएन, त्यसैले होला दशैं त्यति रमाइलो भएनजस्तो लाग्यो। गएका वर्ष घरमा दाइहरूका साना साना बच्चा आउने गर्थे, दशैंको रौनक पनि त्यसैसँगै आउने गर्थ्यो। बच्चाको बचपनका कलाले साँच्चै रमाइलो हुन्थ्यो दशैं।

नयाँ लुगा किन्ने देखि लिएर खसी किन्ने सम्म, उनीहरूको बालहठले गर्दा मजासँगै दशैं आएको जस्तो हुन्थ्यो। तर यसपालि त्यस्तो केही भएन। आखिर चाडपर्व आउँदा बच्चाबच्चीलाई निकै रमाइलो नै लाग्ने गर्दछ। टीका लगाउने, दक्षिणा दिने सँगै आशिर्वाद र नातेदार भेटघाटका क्रममा समेत सघाउने, र कुनै कुराको सुरुवातकर्ता नै बच्चाबच्ची हुने गर्छन्। चिया जस्तै गफ गर्ने माध्यम हुन् बच्चाबच्ची।

सकियो दशैं। घर वरिपरि पनि त्यति बच्चाबच्ची नभएकोले समग्रमा दशैं लागेको जस्तो भएन। “कि बच्चा अवस्थामा दशैं रमाइलो लाग्ने रहेछ, कि घरमा बच्चा हुनु पर्ने रहेछ,” भन्दै हुनुहुन्थ्यो आमा।

दशैं समय सकिएको केही दिनपछि कामको चटारो लाग्यो। घाँस काट्ने काम सधैंजसो जुम्लामा भदौ अन्तिम र असोज महिनाको सुरुवातमै गाईवस्तुको लागि घाँसको जोहो गर्नु पर्ने हुँदा पाखा र खेतमा भएको जम्मै घाँस काटेर राख्नु पर्ने हुन्छ। यही समयमा घरमा आउँछन् हाम्रा घरका एक सदस्य, निक्कु। त्यसो त नाम “निवृत” भए पनि हामी सबै निक्कु नै भन्छौं। बेलुकीपख घर पुगेका निक्कुले घरका सबैसँग गफ गर्न थाले। आमा बाबाको प्रश्नमा आफ्नो तोते बोलिमा उत्तर दिँदै पुरै समय रमाइलो बनाउन सुरु गरिसकेका थिए।

यसरी बच्चाबच्चीसँग आफ्ना घरपरिवारका गफ गर्नु निकै महत्वपूर्ण हुन्छ। यसले उनीहरूलाई बोल्ने, सोच्ने र आफ्नो विचार व्यक्त गर्ने अवसर दिन्छ। जब उनीहरू आफ्नै तोते बोलिमा कुरा गर्छन्, त्यो अझ मिठो र सान्दर्भिक लाग्छ, किनभने त्यसमा बालपनको निश्छलता र आत्मीयता झल्किन्छ। परिवारसँग गफ गर्दा बालबालिका आत्मविश्वासी बन्छन्, परिवारको माया पाउँछन् र राम्रो बानी पनि सिक्छन्। यसरी कुरा गर्नाले घरको वातावरण पनि प्रेम र हाँसोले भरिन्छ।

त्यो बेलुकी यस्तै गफ गरी सुत्यौं। बिहान भयो, घाँस काट्न जानु पर्ने भयो। बच्चालाई नयाँ ठाउँ लाग्यो होला, हामीसँगै घाँस काट्न जान्छु भनेर निकै बालहठ गर्यो। बिहानको चिसोले गर्दा हामीले लिने सोच गरेनौं। अनि बच्चालाई फकाउने विभिन्न तरिका अपनाउन लाग्यौं, प्रशंसा र माया देखाउँदै, ध्यान अर्कातिर मोड्दै, शान्त भएर उसलाई फकाई घाँस काट्न हामी मात्र गयौं।

बिहानको खाना घाँस काट्ने ठाउँमै खाने भयो। खाना पुर्याउन आमा सँग निक्कु पनि आएको थियो। माथिबाट मलाई देख्यो र भन्यो, “काका… का…sss।” मैले “हजुर” भन्नै पर्ने भो भने, “हजुर,” उसले भन्यो, “आउनु खाना खानु, मैले ल्याएको छु।” हेर्दा उसले सानो पोको बोकेको थियो। निकै खुशी मुद्रामा, “मैले नै सबै खाना बोकेको छु” जस्तो गरेर। आज निक्कै ठूलो काम गरेको छु भन्ने सोच उसको थियो। थियो पनि, आफूले सक्ने जतिको वजन बोकेको थियो निक्कुले।

अब उसको प्रशंसा गर्नु पर्ने भो, “निक्कु त ठुलै भएछ है आमा! यत्रो भारी बोकेर ल्याएछ। कति असल है? अनि तिमिले आमालाई सघायौ है? धेरै धेरै धन्यवाद निक्कु! अबदेखि यस्तै गरेर आमालाई मद्दत गर्ने है, निक्कु।” ऊ खुशिले आकाश छुंदै थियो।

लाग्थ्यो, “मैले ठुलै काम गरेछु।” हौसिँदै थियो, “यो काम म गर्छु, ऊ काम म गर्छु।” चम्किलो मुस्कानसँगै फुलेको फूलजस्तै उत्साहित हुँदै यताउती दगुर्दै थियो। आफुले गरेको कामको गर्व महसुस गर्दै बेलुनजसरी उडेको थियो। बाबालाई माया देखाउँदै भन्यो, “मैले यत्रो भारी खाना ल्याए है, हग्गी बाबा!” भन्दै फुरुङ्ग थियो। खुशी भएर गाउँदै, नाच्दै गरिरहेको थियो।

यसरी सानो बच्चाको खुशी सच्चा, निश्छल र हृदय छुने हुन्छ। प्रशंसा केवल शब्द होइन। त्यो बालहृदयमा विश्वास र माया जगाउने जादू हो। तसर्थ, हामीले बच्चाबच्चीको कामको प्रशंसा गर्नु अनिवार्य देखिन्छ।

दिउँसो भयो। घाम जिनिएको थियो। हामी घाँस काट्दै गर्दा उसले यताउती धेरै खेल्यो। डोरीसँग, घाँससँग, ढुंगासँग खेल्दा खेल्दै उसलाई अल्छी लाग्यो होला। त्यो ठाउँ पुरानो भयो होला। अब उसलाई नयाँ ठाउँ, नयाँ खेल्ने सामग्री चाहियो होला। त्यसैले भन्यो, “काका, अब घर जाऊँ? घर कहिले जाने?” ऊ नर्म मुद्रामा यी प्रश्न गरेको उसको अनुहारबाट देखिन्थ्यो। मैले भने, “पर्ख, अब यत्ती सकाएपछि जाउला।”

अझ “यत्ति सकाउने” भनेर ऊ झस्किएर बोलेको थियो। मलाई पनि थकान लागेको थियो, सोचेँ, एकछिन यससँगै गफ गरौं। आएर नजिकै बसेर ऊसँग गफ गर्न थालेँ। “के भो? अल्छी लाग्यो? भोक लाग्यो? के भो?” मैले प्रश्न नदिइकन सोधेँ। उसले एउटै उत्तर दियो, “घर जाऊँ।”

विषय बदलेँ, “एकछिन बस, यत्ती घाँस काटेपछि तल त्यो नदिमा गएर माछा मारौंला।” यत्ती मात्र के भनेको थिएँ, ऊ फेरि जोसिँदै भन्यो, “माछा मार्ने? अ, अ, है, जाऊँ अब।” मैले भने, “पर्ख, यत्ति सकाई हालौं।” ऊ गफ गर्न लाग्यो, “पोर साल त्यहीं गएर माछा मारेको है, काका, पाँचवटा है।” मैले सोचेँ, अझैसम्म सम्झेको रहेछ यसले। गएको वर्ष त्यहीं गएर माछा मारेका थियौं। अहिले पनि उसको मानसपटलमा त्यो याद ताजै रहेछ।

ऊ गफ गर्दै थियो, म घाँस काट्न सुरु गरेँ। ऊ पनि हसिया समातेर घाँस काट्न थाल्यो, सोच्यो होला, “मैले काटे छिटो होला।” हाम्रो सोच कस्तो सानो छ। हसियाले हात काट्ला भनेर “बस” भन्नु पर्ने तर ऊ बिचार नगरी कसरी बस्न सक्थ्यो र? बच्चालाई पनि गाह्रो छ, कस्को मान्ने? आफैंको मान्ने कि अरूले भनेको?

केही समयपछि फेरि भन्छ, उहीँ अल्छी मुद्रामा, “काका, हामी माछा मार्न कहिले जाने? जाऊँ अब?” ऊ पहिलाको जस्तै अल्छिएको, जोसजागर हराएको जस्तो भइसकेको थियो। म गएँ, उसको नजिकै बसेँ र गफ गरेँ, “एकैछिन यत्ती सकाई हालौं अनि जाउला के?” भनेर भनेँ।

ऊ भन्छ, “कतिबेला सकिन्छ?” अघि देखि “अहिले जाउला, अहिले जाउला” भन्ने ऊ ढुंगा खेलाउँदै रिस पोख्दै थियो। पुरै लुगा धुलाम्य बनाएको थियो, मुख टाउकोभरि धुलो लागेको थियो। “कस्तो धुलै धुलो लगाएको छ यसले!” भनेँ। “अब माछा मार्न नजाने” यत्ति के भनेको थिएँ, उसले आफ्नो लुगा र शरीरमा लागेको धुलो दुई हातले पुछ्दै भन्छ, “अब सफा भयो, जाऊँ है तल नदी।”

थोरै काट्न मात्र बाँकी रहेकोले ऊसँगै गफ गर्दै घाँस काट्दै गरेँ। ऊ सोध्दै थियो, “काका, यो नदी बूढो हुन्छ है?” मलाई गाह्रो लाग्यो। मैले उत्तर दिएँ, “का, नदी बूढो हुँदैन। यो कहिले बूढो हुँदैन। नदी त पानी बग्ने बाटो हो, जसमा पानी हिँडिरहन्छ। पानी हरेक दिन नयाँ हुन्छ, ताजै हुन्छ। तर कहिलेकाहीँ मानिसहरू भन्छन् ‘नदी बूढो भयो,’ किनभने त्यो नदी पहिले जस्तो बलियो र ठूलो बग्दैन, पानी घट्छ। तर वास्तवमा नदी बूढो होइन, पानी कम भएको हो।”

यत्ति भनेपछि सोध्यो, “तपाईं कति वर्ष हुनुभयो?” मैले भनेँ, “म ३२ वर्ष भए।” त्यसो भए ऊ भन्छ, “यो नदी पनि ३२ वर्ष भयो है।”

निक्कुको त्यो निर्दोष कुरा सुनेर म मुस्कुराएँ। उसका नयनमा जिज्ञासाको झिल्को थियो। संसारका हरेक वस्तु मान्छेजस्तै उमेरका हुन्छन् भन्ने उसको बालमनको धारणा थियो। मैले सोचेँ — कस्तो निर्मल सोच!

त्यसपछि मैले उसलाई भनेँ,
“नदी त उमेरले होइन, बगाइले बाँच्ने हो, लाटा।
मान्छे वर्ष गनेर बूढो हुन्छ,
तर नदी त हरेक बर्खामा पुनः जवान बन्छ।
वर्ष गन्ने होइन।”

मानौं, उसले मैले दिएको उत्तर बुझ्यो या बुझेन थाहा भएन, तर यत्ति बुझ्यो कि मान्छेको उमेर र नदीको उमेर एकै रहेनछ।

सकियो घाँस काटेर। “ल, अब जाऊँ निक्कु, नदी,” भन्नासाथ ऊ दगुरेर आफैं अगाडि अगाडि गइहाल्यो। नदिको छेउमा पुगेर मैले आफ्नो अनुहार, हात र खुट्टा धोएँ। ऊ पनि जुत्ता निकालेर नदिको छालसँग खेल्दै थियो।

त्यो बेला निक्कुको मनमा आनन्द, आश्चर्य र स्वतन्त्रताको भावना जाग्यो होला। नदीका छालले जब उसको खुट्टामा टोकटोक गर्थे, ऊ हाँस्थ्यो, जस्तो कुनै पुरानो साथीले उसलाई जिस्काएको होस्। निक्कुका आँखामा नदीको चमक झल्किँदै थियो। उसले महसुस गर्‍यो, नदी पनि उसैसँग खेल्दैछ, हरेक छाल उसको नाम लिएर बग्दैछ। त्यो क्षणमा निक्कुमा प्रकृतिप्रतिको माया, जीवनप्रतिको कौतुहल र निर्दोष बालखुशी, तीनै मिसिएर एउटा सुन्दर अनुभूति बनेको थियो। जहाँ संसारमा डर थिएन, केवल रमाइलो र स्वतन्त्रता मात्र थियो।

पानी चिसो थियो, असोजको महिना, जुम्लाको पानी कति चिसो हुन्छ भन्ने त तपाईंहरूलाई पनि थाहा होला नि है? नदिमा माछाको कुनै चहलपहल नै थिएन। खोज्यौं दुबै जनाले माछा। डुङ्गामा टिला (डुङ्गाले हानेर माछा मार्ने काम) हानेँ, खै, कतैबाट माछा आएन। “माछै मरेन है, काका,” ऊ भन्छ, “म कम्तिमा एउटा माछा मार्न पाएको भए पनि त हुन्थ्यो।”

यो देखेर ऊ कति खुशी हुन्थ्यो हो। त्यो क्षणमा ऊ माछा होइन, जीवनको खेलमा बाल उमंगको प्रतीक बनेको थियो। उसको हाँसोमा निराशा पनि रमाइलो जस्तो लाग्थ्यो, र नदेखिएको माछा पनि उसको कल्पनामा चम्किरहेको थियो। नदीको सतहमा, बालपनको मुस्कानजस्तै।

कहीं कतै माछा पाइएन। “निक्कु, आज माछाहरू चिसो भएकोले होला, सबै आफ्नो घर बसे होलान्, त्यसैले हामीले भेटेनौं। अब पर्सि आउला तातो भएको बेला अनि माछा मारौंला है।” उसले पनि सहजै मान्यो। किनभने उसले पनि त्यत्रो नदिमा माछा नै देखेको थिएन।

नदिको छालैछाल, मार्सी धानको जिउलो हुँदै हामी निराश हुँदै घर फर्क्यौं। घर फर्कँदै गर्दा मनमा हल्का शान्ति र आनन्दको अनुभूति थियो। नदीले हामीलाई केवल माछा मात्र दिएन। उसले साथ, रमाइलो र प्रकृतिसँगको नजिकको अनुभव दियो। संसार सधैं योजना अनुसार हुँदैन भन्ने कुरा पनि सिकायो। र त्यसैमा जीवनको मिठास लुकेको छ भन्ने महसुस गरायो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार