मंगलवार, १३ माघ, २०८२

बेविचार : वफादारीमाथि प्रहार र समाजको नसोचिएको पीडा

विवाहित पुरुष वा महिलाले आफ्नो जीवनसाथी बाहेक अर्कासँग यौन सम्बन्ध राख्नु बेविचार हो र यसलाई वैवाहिक विच्छेदको कानुनी कारणका रूपमा लिइन्छ।

बिहे भनेको केवल कानुनी सम्बन्ध होइन, यो दुई आत्माको वाचा हो। एकअर्काप्रति समर्पण, प्रेम र वफादारीको शपथ। तर जब यही वाचा भङ्ग हुन्छ र विवाहित पुरुष वा महिलाले आफ्नो जीवनसाथी बाहेक अर्कासँग यौन सम्बन्ध राख्छ, त्यस क्षण जन्मिन्छ बेविचार।

सरल भाषामा भन्ने हो भने, बिहेपछि बिहे बाहिरको यौन सम्बन्ध नै बेविचार हो। नेपालको मुलुकी देवानी संहिता, २०७४ को दफा १७० ले यसलाई स्पष्ट परिभाषित गरेको छ।

विवाहित पुरुष वा महिलाले आफ्नो जीवनसाथी बाहेक अर्कासँग यौन सम्बन्ध राख्नु बेविचार हो र यसलाई वैवाहिक विच्छेदको कानुनी कारणका रूपमा लिइन्छ।

धार्मिक दृष्टिले हेर्दा पनि बेविचार सबै धर्महरूले निषेध गरेका छन्। हिन्दु धर्मका मनुस्मृतिले यसलाई घोर पाप भनेको छ। इस्लाममा ‘जिना’ भनिने यो कार्य ईश्वरको आज्ञा उल्लङ्घन गर्ने अपराध हो।

ईसाई धर्ममा त बाइबलले नै चेतावनी दिएको छ। जो कसैले अर्काको श्रीमान वा श्रीमतीलाई लोभले हेर्छ, उसले हृदयमै बेविचार गरिसकेको हुन्छ।

धर्मले सबैले एउटै कुरा सिकाउँछ, वफादारी नै मानवीय सम्बन्धको मेरुदण्ड हो। तर आजको समाजमा कतिपयले यसलाई व्यक्तिगत स्वतन्त्रताको नजरले हेर्न थालेका छन्।

आधुनिकताको नाममा नैतिकता हराउँदै जाँदा, बेविचारजस्ता व्यवहार सामान्यजस्तै देखिन थालेका छन्, जुन समाजको नैतिक स्वास्थ्यका लागि गम्भीर सङ्केत हो।

ब्याभिचार केवल शारीरिक आकर्षणको परिणाम होइन। यो मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक र जैविक कारणहरूको संयोजन हो।

नेपालका विभिन्न अध्ययनहरूका अनुसार, वैवाहिक असन्तुष्टि, संवादको कमी, प्रेम र सम्मानको अभाव, तथा भावनात्मक खालीपन यसको प्रमुख कारण हुन्।

जब जीवनसाथीबीच आत्मीयता हराउँछ, मानिस अरूको उपस्थितिमा शान्ति खोज्न थाल्छ। आधुनिक जीवनशैली, कार्यस्थलमा लामो समय, सोसल मिडियाको पहुँच र यात्रामा नयाँ मानिसहरूसँग बढ्दो सम्पर्कले पनि बेविचारका अवसरहरू बढाएका छन्।

अध्ययनहरूले देखाउँछन्, नेपालमा शहरी क्षेत्रमा ब्याभिचारका घटना पछिल्ला वर्षहरूमा चालीस प्रतिशतसम्म बढेका छन्।

जैविक रूपमा हेर्दा पनि यो विषय सरल छैन। टेस्टोस्टेरोन जस्ता हर्मोनहरूले यौन चाहना बढाउँछन्, जसको प्रभाव ३० देखि ४५ वर्ष उमेर समूहमा बढी देखिन्छ।

यही कारण यो उमेरका मानिसहरूमा वैवाहिक असन्तुष्टि र बाहिरी आकर्षणको सम्भावना बढी हुन्छ। अर्कोतर्फ, धनी र प्रभावशाली वर्गमा ब्याभिचारको जोखिम सामान्यभन्दा पच्चीस प्रतिशत बढी हुने तथ्याङ्कले देखाउँछ।

पैसा र शक्ति जहाँ हुन्छ, त्यहाँ प्रलोभनका ढोका पनि सजिलै खुल्छन्। नेपाल कानुन आयोगका अनुसार, देशभरका करिब तीस प्रतिशत वैवाहिक विच्छेद ब्याभिचारकै कारणबाट हुने गरेका छन्।

तर ब्याभिचार केवल दुई व्यक्तिको निजी विषय होइन; यसको प्रभाव परिवार, सन्तान र सम्पूर्ण समाजमा पर्छ। यसले सम्बन्धमा असुरक्षा, अविश्वास र हिंसाको जन्म दिन्छ।

कतिपय अवस्थामा मानसिक पीडा, आत्महत्या र बलात्कारसम्मका घटनाको मूल कारण यही नै बन्न पुगेको छ। जब परिवार नै भत्किन्छ, समाजको मूल संरचना कमजोर पर्छ।

यसको रोकथाम कानुनी डरले होइन, नैतिक चेतना र दृष्टिकोणको परिवर्तनले सम्भव हुन्छ। सम्बन्धमा संवाद, सम्मान र आत्मनियन्त्रणको भावना आवश्यक छ।

यदि हरेक पुरुषले अरू महिलालाई दिदी–बहिनीको रूपमा हेर्ने, र महिलाले अरू पुरुषलाई दाजुभाइको दृष्टिले सम्झने बानी बसाल्न सके, ब्याभिचारजस्ता पापका जरा नै काटिन सक्छन्। किनभने दाजुभाइ र दिदीबहिनीबीच यस्तो सम्बन्ध कहिल्यै उत्पन्न हुँदैन।

बेविचारको अन्त्य कानुनले होइन, मानवीय चेतनाले गर्छ। वफादारी, प्रेम र मर्यादाको धागोले बाँधिएका सम्बन्धहरू नै दीर्घकालीन र सुखी हुन्छन्।

आधुनिकता केवल स्वतन्त्रताको नाम होइन, जिम्मेवारीको अभिव्यक्ति पनि हो। यदि हामीले आफ्नो परिवार र सम्बन्धलाई विश्वासको जगमा टिकाउन सक्यौं भने, समाज पनि सभ्य र सुरक्षित बन्नेछ।

वफादारीमा टिकेका सम्बन्धहरू नै साँचो स्वतन्त्रताको प्रतीक हुन् र बेविचारको अन्त्य त्यहीँबाट सुरु हुन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार