टिका र जमरालाई स्क्रिनमा हेर्ने त्यो क्षण, इतिहास र वर्तमानबीचको एउटा अधुरो पुलजस्तै लाग्छ। तर प्रवासमा बसे पनि दशैँको आत्मा मर्दैन।
दशैँ नेपाली समाजको सबैभन्दा पुरानो र व्यापक सांस्कृतिक परम्परामध्ये एक हो। वैदिक कालदेखि शक्तिपूजाको परम्परा दक्षिण एसियामा प्रचलित थियो, जसको एउटा सशक्त रूप आज हामीले दुर्गा पूजासहितको दशैँमा देख्न सक्छौं।
हिन्दू धर्मग्रन्थ अनुसार, देवी दुर्गाले महिषासुर र अन्य दानवहरूको संहार गरेर धर्म र सत्यको विजय गराइन्। यही विजयको प्रतीकका रूपमा प्रत्येक वर्ष आश्विन महिनामा दशैँ मनाइन्छ।
तर दशैँ केवल धार्मिक कथामा सीमित छैन। यो उत्सव इतिहास, संस्कृति र समाजको बहुआयामिक प्रतिविम्ब हो। मल्लकालदेखि शाह र राणा शासनसम्म यो पर्व राज्यसत्ताको शक्ति प्रदर्शनसँग पनि जोडिएको पाइन्छ।
दरबारमा आयोजना गरिने भव्य दशैँ दरबार, जहाँ राजा वा शासकले टिका ग्रहण गर्थे र सेना तथा प्रजालाई ‘विजय’ को सन्देश दिन्थे, त्यो केवल आस्थाको होइन, सत्ताको पनि प्रतीक थियो। तर समयसँगै दशैँ धार्मिक र राजनीतिक पक्षभन्दा बढी सामाजिक–पारिवारिक चाडको रूपमा स्थापित हुँदै गयो।
आजको युगमा दशैँ सबै नेपालीका लागि आत्मीयता, मेलमिलाप, र पुनर्मिलनको पर्व बनेको छ। चाहे शहरको अपार्टमेन्ट होस् वा गाउँको फुसको छाना, दशमीका दिन आमाबुबाको हातबाट टिका र जमरा थाप्ने भावना एउटै हुन्छ।
दशैँले सामाजिक पद, वर्ग, जात, र क्षेत्रको विभाजनलाई पन्छाएर सबैलाई एउटै न्यानो धागोमा बाँध्छ। यही कारण, यो चाड नेपालीहरूको साझा सांस्कृतिक पहिचान बनेको छ।
तर यही ऐतिहासिक र सांस्कृतिक रङ प्रवासमा पुगेका नेपालीहरूका लागि भने शून्यताको अनुभूतिमा रूपान्तरण हुन्छ। विदेशमा जब कामको चाप, समय अभाव, र दूरीको पीडाले परम्परागत पर्वहरूलाई ओझेल पार्छ, तब दशैँ केवल सम्झनाको विषय बन्छ।
दशैँको त्यो पारिवारिक तानाबाना, आँगनमा खेलिने पिङ, गाउँभरि घन्किने ढोल–मादल, र आमा-बुबाको हातबाट टिका थाप्ने परम्परा, यी सबै प्रवासी नेपालीका लागि अब स्मृति र तिर्सनाको स्वरूपमा सीमित हुन्छन्।
त्यसैले त यस्ता भावुक पलहरूमा, कुनै गीतको बोल झन गहिरो भएर बज्छ:
मार्सि धान झुलेका होलान खेतका आली आली
सम्झेर नरूनु आमा, म आइन यस पालि
सम्झिँदै टोलाउँदै होलिन घरमा मेरी काली
फूल छैन, अक्षता छैन, मेरो निधार खाली।
यो गीत प्रवासी नेपालीको हृदयको पीडालाई झन बलियो पार्छ। ‘फूल छैन, अक्षता छैन, मेरो निधार खाली’ भन्ने पंक्तिले त्यो खालीपनलाई शब्द दिइरहेको छ, जुन हजारौं नेपालीहरूले दशैँमा विदेशमा अनुभव गर्छन्।
टिका र जमरालाई स्क्रिनमा हेर्ने त्यो क्षण, इतिहास र वर्तमानबीचको एउटा अधुरो पुलजस्तै लाग्छ। तर प्रवासमा बसे पनि दशैँको आत्मा मर्दैन।
परम्पराको जरा हृदयमा गाडिएको हुन्छ। दशैँ आउनु भनेको आफ्नो मौलिकता र पहिचानसँग पुनः जुरिने अवसर हो।
जताततै नेपाली समुदायहरूले प्रवासमा पनि छोटो समयमै भए पनि दशैँ मनाउँछन्। भेला हुन्छन्, सामूहिक टिका लगाउँछन् र एक–अर्कामा शुभकामना बाँड्छन्। त्यो सीमित र छोटो उत्सवले पनि उनीहरूलाई सम्झाइरहन्छ, “हामी जहाँ भए पनि हाम्रो संस्कृति यही हो।”
यसैले दशैँ केवल घरआँगनको उत्सव होइन; यो हजारौँ वर्षको परम्पराको उज्यालो, शक्तिपूजाको कथा, सामाजिक एकताको धरोहर र परदेशी हृदयमा बाँचेको स्मृतिको रंग हो।
नेपालमा दशैँ रंगीन हुन्छ, प्रवासमा अधुरो, तर दुवै ठाउँमा यसको आत्मा एउटै रहन्छ: माया, आस्था र सम्बन्धको बलियो धागो।