अहिले जतिपनि सरकारी तथा सार्वजनिक कार्यालय छन्, ती सबै घना बस्तीमा छन् । जसले गर्दा सरकारी सम्पत्तिमा गरिएको आगजनी अन्य निजी घर, भवन, व्यावसायिक केन्द्रमा समेत लागेको छ । एउटामाथि पोखिएको आक्रोशको आगोले व्यापक मानवीय र खर्बौँको भौतिक क्षति हुन पुगेको छ ।
सन् १९३४ मा नेपालमा ठूलो भूकम्प गएको थियो । गाउँदेखि शहरसम्मका घर ढलेका थिए । त्यतिखेर घर र मठान ढुंगा, माटो, काठले बनेको हुन्थ्यो । छत चाहिँ झिँगटी, पराल, छानोलगायतको हुन्थ्यो । घर एकदेखि दुई तले हुन्थ्यो । घरबाहिर धेरै खुला ठाउँ हुन्थ्यो । त्यसैले, भूकम्पले जनधनको क्षति खासै भएको थिएन । घर सानो हुने र बाहिर आँगन फराकिलो हुँदा मानिसहरू सहजै भाग्न पाए ।
त्यो घर भूकम्पले भत्किए पनि मानिसलाई त्यति चोटपटक लागेन । २०४५ सालमा भूकम्प आयो । यो भूकम्पले काठमाडौं उपत्यकामा व्यापक जनधनको क्षति गर्दा गाउँघरमा खासै भएन । किनकि त्यहाँ घर र मठान ढुंगा, माटोले बनेका थिए । २०७२ वैशाख १२ गते पुनः भूकम्प गयो । त्यसको केही वर्षमै २०८० कात्तिक १७ गते पनि भुइँचालो आयो ।
यो दुवै भूकम्पमा धेरै जनधनको क्षति पुग्यो । धेरैजसो मानिसहरू आफ्नै घरमा किचिएर मरे । बाटोमा भएका मान्छेसमेत छिमेकी घरले थिचेर मरे । कतिपयले चाहिँ घरबाट निस्किन नभ्याउँदा ज्यान गुमाए । आजकल अग्ला घर बनाइन्छ । पाँच तलादेखि १९ तलासम्मको घर बनाइएको पाइन्छ ।
यस्तो अवस्थामा भूकम्प आउँदा मानिसहरू भाग्न नपाउँदै घर ढलेर मर्ने गरेका छन् । अर्को कुरा, घरहरू जोडेर बनाउन थालिएको छ । घर बनाउँदा खुला ठाउँ नै छोडिँदैन । जसले गर्दा भूकम्प आउँदा एउटा घर ढलेमा त्यससँग जोडिएको अर्को घर पनि ढल्ने र खुला ठाउँ नभएकै कारण भाग्न खोजेको व्यक्तिसमेत त्यही घरले किचेर मर्छन् ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरियो । त्यसक्रममा भवन ठूलो भएकाले भाग्न नपाउँदा धेरैले ज्यान गुमाएका छन् । भाटभटेनी सुपरमार्केटमा मात्र दर्जनौँको शव फेला परेको छ भने जलाइएका राजनीतिक दलका नेताको घरमा पनि शव भेटिएको छ । अहिले पनि शव भेटिने क्रम जारी छ ।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा राजा फर्काउन आन्दोलन भयो । त्यसक्रममा पनि सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरिएको थियो । तीनकुनेस्थित एक भवनमा गरिएको आगजनीमा परी सञ्चार कर्ममा जुटेका एक पत्रकारले ज्यान गुमाउनुपर्यो । भवन ठूलो भएकै कारण निस्किन नभ्याउँदा उनको निधन भयो ।
अहिले जतिपनि सरकारी तथा सार्वजनिक कार्यालय छन्, ती सबै घना बस्तीमा छन् । जसले गर्दा सरकारी सम्पत्तिमा गरिएको आगजनी अन्य निजी घर, भवन, व्यावसायिक केन्द्रमा समेत लागेको छ । एउटामाथि पोखिएको आक्रोशको आगोले व्यापक मानवीय र खर्बौँको भौतिक क्षति हुन पुगेको छ ।
त्यसैले, अब सरकारले सरकारी तथा सार्वजनिक कार्यालय आसपास घर, भवनलगायत संरचना बनाउन दिनुहुँदैन । कि सरकारी कार्यालय बस्ती नभएको ठाउँमा सार्नुपर्छ । यसो गरिए विभिन्न आन्दोलनका क्रममा सरकारी कार्यालय आगजनीबाट मात्र जोगिँदैन, भूकम्प आउँदासमेत कम क्षति हुन्छ । जेन–जी आन्दोलनमा राजनीतिक दलका नेताहरूको घरमा आगो लगाइयो ।
त्यो आगो आसपास फैलिँदा छरछिमेकको घरसमेत जलेको छ । गल्ती गर्ने एउटाले, भोग्ने अर्कैले जस्तै भएको छ । त्यसकारण, अब दलका नेताहरूले पनि घर बनाउँदा बस्ती नभएको ठाउँमा बनाउनुपर्छ । एउटाका कारण धेरैको क्षति हुनु हुँदैन । जेन–जी आन्दोलनको क्रममा भक्तपुरको राधेराधेमा अवस्थित भाटभटेनीमा तोडफोड भयो ।
त्यही नजिकै रहेको सवारी चालक अनुमतिपत्र कार्यालय जलाइएको छ । अहिले यहाँका स्थानीय भन्छन्, ‘आगजनी र तोडफोड हुँदा हाम्रो घरमा समेत हुने त्रास भयो । हामी एकदमै डरायौँ । अब यो भाटभटेनी र लाइसेन्स कार्यालय सार्नुपर्छ ।’ पहिलापहिला भाटभटेनी, सरकारी कार्यालय आफ्नो घर आसपास आएर बस्दा मानिसहरू मख्ख पर्थे ।
किनकि सरकारी कार्यालय, व्यावसायिक केन्द्र घर छेउ हुँदा आफ्नो घर र जग्गाको समेत मूल्य बढ्थ्यो । तर, अहिले मानिसहरू पछुताउन थालेका छन् । उनीहरू रातभर निदाउन सक्दैनन् । कतिबेला ती संरचनामा तोडफोड, आगजनी हुने हो ? भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ । त्यसैले, धेरैले घर, जग्गा बेच्ने निधो गरिसकेका छन् ।
तर, यो मन्दी र जोखिमका बीच कसले घर, जग्गा किन्ने ? सरकारी, सार्वजनिक, व्यावसायिक केन्द्र आसपास भएका घर, भवन मात्र जोखिममा छैनन्, पेट्रोल पम्प, ग्यास डिपो छेउछाउ घर भएका झन् जोखिममा छन् । यहाँ त झन् सानो घटना भएमा बस्ती नै सखाप हुने देखिन्छ । त्यसकारण अब सरकारले उपत्यकाबाट यस्ता व्यापार व्यवसाय हटाउनुपर्छ अथवा बस्ती नभएको ठाउँमा यी व्यवसाय सञ्चालनको व्यवस्था मिलाउनुपर्छ ।
भाटभटेनी, सरकारी कार्यालय मानिसको अधिक चाप हुने ठाउँमा पर्दछन् । मानिसहरू किनमेल गर्न भाटभटेनी जान्छन् भने सेवा प्राप्तिका निम्ति सरकारी कार्यालय पुग्छन् । फेरि भाटभटेनी, सरकारी कार्यालयबाहिर खुला ठाउँ कम देखिन्छ । अझ भन्नुपर्दा कतिपय सरकारी कार्यालय त अन्य घरमै जोडिएको देखिन्छ ।
अनि मानिसको अधिक चाप हुने यी ठाउँमा केही गरी भुइँचालो वा आगजनी भएमा मानिसहरू भाग्न भ्याउँदैनन् । भागे पनि बाहिर खुला ठाउँ नहुने नहुँदा भूकम्पले अर्को घर ढलेर धेरैको ज्यान जान सक्छ । यद्यपि, सरकारले यसबारे सोचेको देखिँदैन । सरकारले अस्तव्यस्त रूपमा घर बनाउन दियो । सरकारसँग कुनै योजना नै भएन ।
आफूलाई जस्तो र जत्रो मन लाग्यो, मानिसहरूले त्यस्तै घर बनाए । जसका कारण विपद्को समयमा धेरै जनधनको क्षति भइरहेको छ । जनताबाट चुनिएर आएका सांसदहरूले बेलैमा कानूनी बनाएनन् । कर्मचारीहरूले उमेर हुनुञ्जेल भ्रष्टाचार गर्ने अनि बुढेसकालमा राजनीतिक दलमाथि हिलो छ्यापेर सत्तामा पुग्ने ।
यसका उदाहरण खिलराज रेग्मीदेखि सुशीला कार्कीसम्म हुन् । जे जस्तो भए पनि देश बनाउन भनेकै नेताले हुन् । कर्मचारीलाई त घुस र सेवासुविधासँग मात्र मतलब हुन्छ । उपत्यकामा ७४ जिल्लाबासी बस्छन् । गाउँका घर र मठानमा ताल्चा झुण्ड्याएर उनीहरू शहर छिरेका छन् । शहर उकुसमुकुस छ ।
ट्राफिक जाम, वायु प्रदूषण बढ्दो छ । हिउँदमा सुख्खा, बर्खामा डुबानले उपत्यका बस्न सकिँदैन । फेरि जताततै घरैघर छ । अनि केही गरी आगजनी वा भूकम्प गएमा यहाँ ठूलो जनधनको क्षति हुने निश्चित नै छ । जुन पछिल्ला आन्दोलनले समेत देखाइसकेको छ । त्यसैले, अब सरकारले यसबारे सोच्नुपर्छ ।















