प्रचारमा रमाउने प्रवृत्तिले दीर्घकालनमा गम्भीर असर पार्छ। यसले जनतामा निराशा बढाउँछ। राजनीतिक नेतृत्वप्रति अविश्वास जन्माउँछ। काम गर्ने संस्कृतिभन्दा देखाउने संस्कार बलियो बनाउँछ।
आजको युग डिजिटल युग हो। सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल हाम्रो जीवनशैलीको अभिन्न अंग बनेको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर (एक्स), युट्युबजस्ता माध्यमले हरेक व्यक्तिलाई आफ्नो विचार, गतिविधि र भावनालाई सजिलै साझा गर्ने अवसर दिएका छन्।
नेतादेखि सामान्य नागरिकसम्म सबैजना यिनै माध्यममा सक्रिय छन्। यसरी सामाजिक सञ्जालमा सक्रियताको वृद्धि भएसँगै एउटा नयाँ संस्कृतिको विकास भएको छ, “स्टन गर्ने संस्कार।” आज हरेक कुरा देखाउने, हरेक गतिविधिलाई प्रचार गर्ने र “म के गर्दैछु” भन्ने सन्देश दिने काम सामान्य मानिन्छ।
तर प्रश्न यहिँ उठ्छ के लोकप्रियता यिनै लाइक, कमेन्ट र शेयरमार्फत नापिन्छ? के साँचो नेतृत्व सामाजिक सञ्जालमा लेखिएका शब्द र देखाइएका तस्बिरमै सीमित हुन्छ? वा जनताले भोगिरहेको समस्यामा तत्काल देखाउन सक्ने परिणामकै आधारमा मूल्यांकन हुन्छ?
लोकप्रियता र प्रचारबीच स्पष्ट भिन्नता छ। लोकप्रियता भन्नाले जनताले व्यक्तिको काम, आचरण र योगदानप्रति दिएको वास्तविक सम्मान बुझिन्छ। यो सम्मान आदेश, भाषण वा फेसबुक पोस्टमार्फत आउँदैन।
बरु, यो संकटको बेला जनतासँगै उभिन सक्ने, समस्यामा प्रत्यक्ष खटिने र समाधान ल्याउन सक्ने क्षमताबाट आउँछ। प्रचार भनेको देखाउने शैली हो।
सामाजिक सञ्जालमा आकर्षक तस्बिर खिच्ने, लामो स्टाटस लेख्ने वा भावनात्मक शब्द प्रयोग गरेर आफूलाई “जनताको सेवक” देखाउने प्रवृत्ति प्रचार हो। यस्तो प्रचार क्षणिक हुन्छ, किनकि यसले समस्या समाधान गर्दैन। लोकप्रियता भने दीर्घकालीन हुन्छ, किनकि यसले परिणाम देखाउँछ।
हाम्रो नेतृत्वमा मौलाएको एउटा ठूलो कमजोरी भनेकै “फेसबुक संस्कार” हो। कुनै समस्या देख्दा तुरुन्त समाधान खोज्नुभन्दा पहिला सामाजिक सञ्जालमा अपडेट गर्ने प्रवृत्ति हावी भएको छ।
सडक अवरुद्ध हुँदा “मैले प्रमुख जिल्ला अधिकारीलाई फोन गरें” भनेर स्टाटस लेख्ने चलन छ। बाढीपीडित भेट्न जाँदा राहतभन्दा अघि सेल्फी खिचिन्छ र अपलोड गरिन्छ।
कार्यक्रममा भाग लिँदा कार्यकर्ताले ताली बजाइदिएको भिडियो तुरुन्तै शेयर गरिन्छ। यसरी देखाउने संस्कृतिले तात्कालिक प्रचार त ल्याउँछ, तर यसले जनताको पीडा समाधान गर्दैन। सामान्य नागरिकले यही भन्छन्, “हामीलाई स्टाटस होइन, काम चाहिन्छ।”
साँचो लोकप्रियता भनेको जनता आफैंले गरेको मूल्यांकन हो। त्यो तत्काल प्रतिक्रिया दिने क्षमताबाट आउँछ। कुनै समस्या समाधान भएको प्रमाण दिन सक्नु, जनताको दुःखप्रति संवेदनशीलता देखाउन सक्नु, प्रचारभन्दा परिणाममा ध्यान दिन सक्नु, र दीर्घकालीन सोचका साथ काम गर्न सक्नु, यी नै लोकप्रियताको आधार हुन्। प्रचारले केही समयका लागि मानिसलाई आकर्षित गर्न सक्छ।
लाइक, कमेन्ट र शेयरको संख्याले आँखा झुक्याउन सक्छ। तर त्यो भ्रम हो। सुरुमा जनताले “काम भैरहेको छ” भन्ने विश्वास गर्न सक्छन्, तर यदि समस्या लामो समयसम्म समाधान भएन भने उनीहरूको विश्वास तुरुन्तै हराउँछ।
प्रचारमा रमाउने प्रवृत्तिले दीर्घकालनमा गम्भीर असर पार्छ। यसले जनतामा निराशा बढाउँछ। राजनीतिक नेतृत्वप्रति अविश्वास जन्माउँछ। काम गर्ने संस्कृतिभन्दा देखाउने संस्कार बलियो बनाउँछ।
अन्ततः लोकतन्त्र नै कमजोर हुने खतरा रहन्छ। लोकतन्त्रको मूल आधार नै जनता हुन्। जब जनता निराश हुन्छन्, लोकतन्त्रको अस्तित्व संकटमा पर्छ। त्यसैले प्रचारलाई मुख्य साधन बनाउने प्रवृत्ति त्यागेर परिणाममुखी कार्यमा जोड दिनु आजको प्रमुख आवश्यकता हो।
साँचो लोकप्रियता सामाजिक सञ्जालमा आएका लाइक, कमेन्ट वा शेयरले निर्धारण हुँदैन। त्यो केवल क्षणिक ताली हो। दीर्घकालीन लोकप्रियता भने संकटको बेला हात बढाउने, समस्या समाधान गर्ने र नतिजा देखाउने क्षमताबाट जन्मिन्छ।
जनताले नेतृत्वलाई मूल्यांकन गर्ने तराजु फेसबुक होइन, व्यवहारिक परिणाम हो। त्यसैले नेताज्यूहरू, फेसबुकमा स्टन गर्ने होइन, जनताको विश्वास जित्ने परिणाम देखाउनुस्। लोकप्रियता प्रचार होइन, परिणामकै प्रतिफल हो।