मंगलवार, १३ माघ, २०८२

धामीको शरीरमा देवता चढ्यो भने धामीहरु काँप्ने, खाम भाषामा बोल्ने, पैठारुलाई टीका लगाउने र समूहमा घण्टा र चमर लिएर नाच्ने गर्दछन्। आफ्ना देवतालाई माइत आएका चेलीहरुले फूलको माला धामीको गला भरि लगाइदिन्छन्।

पैठ अर्थात स्थानीय धामी डाँग्री र देवहरुको उत्सव हो। मष्टो संस्कृति भित्रका देवहरु तथा ईष्टदेवहरुको पूजा–आज गर्नु नै पैठ हो। जुम्ला भेगका केही चर्चित पैठहरु जस्तै मष्टा देवको पैठ, लाकुराको पैठ, म्हादेवको पैठ, लामा विष्णुको पैठ आदि हुन्।

पैठहरु खास गरी एकादशी, पूर्णिमाका दिनमा मनाइने परम्परा रहेको छ। देवहरु जति शक्तिशाली हुन्छन्, पैठको आकार र मानिसको चहलपहल त्यही अनुसारको हुने गर्दछ। प्रायः ठूला देवहरुका पैठ पाटनमा आयोजना गरिन्छन्। त्यस्तै साना तथा स्थानीय पैठ गाउँ–गाउँमा लाग्ने गर्दछ।

ठूला–ठूला पैठका दिनमा पाटनमा विशाल मानवसागर देखिन्छ। खास गरी पैठ दुई दिन मनाइने गरिन्छ। एक दिन राति जसलाई रतेडी भनिन्छ भने अर्को दिउँसो हुने गर्दछ। रातिको रतेडीमा रातभरि देउडा खेलसँगै पैठ पनि हुने गर्दछ।

युवायुवती जमघट हुने, माया–पिरतीका कुरा हुने, कसैले यो प्रेम–प्रेमिकाको भेटका रूपमा पनि लिन्छन्। कोही युवायुवती यसै दिन भागी विवाह गर्ने पनि गर्दछन् भने कसैले आजको दिनबाट चिनजान गरी माया–प्रेमको सुरुवात पनि गर्दछन्।

मानिसहरु नयाँ लुगा लगाई साथी, संगी समूहमा पैठ हेर्न जाने चलन छ। सबै उमेर समूहका मानिस घण्टौँ हिंडेर पैठका मेला हेर्न जाने गर्दछन्। धामी र डाँग्री पनि के कम, पैठमा यिनीहरु प्रायः ठाटिएर गएका हुन्छन्। त्यसैले त भन्छन्,

“जुन्त राम्रा बेहुला–बेउली,
पैठा राम्रा धामी–डाँग्री।”

धामी नाच पैठको प्रमुख आकर्षणको केन्द्रबिन्दु हुन्छ। धामीहरु दमाहाको धुन अनुसार पैठमा कम्मर हल्लाउँदै पतुर्ने गर्दछन्।

कुनैकुनै धामीले त देवता चढेपछि भेद निकाल्ने काम पनि गर्दछन्। तेलमा हात हाल्ने, तातो तेल खाने, गुर्जेलौरी भाँच्ने, सिखपाती निकाल्ने आदि जस्ता कार्य गर्दछन् जसलाई भेद भनिन्छ।

यसै दिन थानमा नयाँ आकर्षक लिङ्गा सिँगारी नेजा लगाइन्छ। यो लिङ्गा थान अनुसार फरकफरक हुन्छ, कुनै ठूला र मोटा हुन्छन् भने कुनै साना हुन्छन्।

लिङ्गामा हालिने नेजामा चन्द्र, सूर्य, स्वस्तिक चिन्ह अंकित हुन्छन्। जब लिङ्गा आकाशमा फरफराउँछ, थानसँगै गाउँको रौनक नै छुट्टै हुन्छ। सबै गाउँले लिङ्गा हाल्ने काममा सरिक हुन्छन्। भन्छन्, जोर लागाके हैँसे…!

धामी पतुरी सकेपछि पैठ हेर्न गएका मानिसहरु देउडा खेल्ने गर्दछन्। देउडा खेलले पैठको माहोलमा झन् रौनक थप्ने गरेको हुन्छ। देउडा समूहमा खेलिने गरिन्छ। महिलाको छुट्टै र पुरुषको छुट्टै अथवा सँगै पनि हुने गर्दछ।

अचेल त झन् नाम चलेका देउडा खेलाडी पनि ल्याउने गरिएको हुन्छ, जसले झन् धेरै जात्रु जम्मा हुने गर्दछ। साथै खेलकुद कार्यक्रम पनि राखिएका हुन्छन् जसले गर्दा पैठलाई थप रौनक दिएको हुन्छ।

पैठहरु गाउँठाउँ अनुसारको परिवेशअनुसार आ–आफ्नै विशेषता हुन्छन् भने समानता भनेको उत्सव, उत्साह र धार्मिक पाटो नै हो।

पशुबली खाने देवहरुका पैठमा देवताको नाममा बोका र भाले लगायतका बलि दिने गरिन्छ। त्यस्तै पशुबली नदिने देवताहरुको पूजा–अर्चनाका लागि दूध तथा फलफूल चढाउने चलन रहेको छ।

देवहरुका धामीमा देवता ल्याउन दमाहाको राग, बाजा बजाउनुपर्दछ। त्यसपछि धामीमा देवता चढ्छ र पैठको सुरुवात भएको मानिन्छ।

पैठको निम्ति धामीहरु सेतो दौरा सुरुवाल, सिरमा फेटा, गलामा रुद्राक्ष तथा फूलका मालाले सजिने चलन रहेको छ। प्रत्येक देवताका धामीहरुका आ–आफ्नै बाजा हुन्छन्। अन्य बाजा उक्त देवताका धामीहरुलाई देवता आउँदैन।

यसरी दमाहाको बाजा बिना पैठ हुनै सक्दैन। पैठमा पैठारुहरुले धामीहरुलाई वरिपरि घेरेका हुन्छन्। बीचमा धामीहरुको समूह उभिएका हुन्छन्। किनारामा दमाईहरु दमाहासहित बसेका हुन्छन्।

धामीको शरीरमा देवता चढ्यो भने धामीहरु काँप्ने, खाम भाषामा बोल्ने, पैठारुलाई टीका लगाउने र समूहमा घण्टा र चमर लिएर नाच्ने गर्दछन्। आफ्ना देवतालाई माइत आएका चेलीहरुले फूलको माला धामीको गला भरि लगाइदिन्छन्।

कोही युवाले धामीलाई काँधमा हालेर स्वही अवस्थामा नै नाच्ने गर्दछन्। धामी नाच सकिएपछि चेलीहरुले चिनेका पैठारुलाई नास्ता दिने चलन रहेको छ। कसैले आलु अचार र टाटे, रोटी जस्ता खानेकुरा दिन्छन्। त्यसका सट्टा पैठारुले उनीहरुलाई पनि बिस्कुट, चाउचाउ दिने गर्दछन्।

पैठको समयमा त्यस स्थान वरिपरि होटल, खुद्रा सामान बेच्ने पसल पनि हुन्छन् जसले आर्थिक चहलपहल पनि गराएको हुन्छ।

आजभोलि पैठलाई जात्रा भन्दै विविध गतिविधि समावेश गर्दै भेटघाट तथा जमघट र रमाइलो अवसरका रूपमा उपयोग गरिएको देखिन्छ। यसले घरपरिवार तथा गाउँलाई एक ढिक्का बनाएको छ। पैठ भनेपछि मानिसहरुमा छुट्टै उत्साह र उमङ्ग ल्याउँछ। भारत तथा बाहिर गएका मानिसहरु घर आउने चलन रहेको छ।

पछिल्लो समय पैठहरुमा आधुनिकतासँगै केही विकृति पनि भित्रिएको छ। मदिराको सेवन गरेर पैठारुको भीड बढ्दै गएको देखिन्छ, जसका कारण घटना घट्ने गरेका छन्।

त्यस्ता गतिविधीले एकातिर सांस्कृतिक र धार्मिक पक्षले भरिपूर्ण पैठको माहोल बिगार्ने गरेको छ भने अर्कोतिर झगडा र दुर्घटनाको कारण मानिसहरु पहिलाजस्तै निर्विघ्न रुपमा पैठहरुमा जान सकिरहेका छैनन्। त्यसैले हाम्रो धर्म संस्कृति जोगाउनु सबैको कर्तव्य हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार