हृदयन्द्रले सरल रूपमा, कुनै वाद दर्शन र राजनीतिलाई नजोडेर, “तपाईं हामी सबै मिलेर लाग्यौँ भने अवश्य देश समृद्ध हुन सम्भव छ, सबै लाग्यौँ भने असम्भव भन्ने छैन। नेपाललाई समृद्ध बनाउन तपाईं हामीले आँट साहस गर्नुपर्छ, सम्भव छ” भन्दै मुस्कुराउँदै जवाफ दिनुभएको थियो।
कहीँ नफल्ने मार्सी फल्छ स्याउ ओखर सिमी।
सुन्दरताको खानी मेरो जुम्ला जन्मभूमि।
माथिका पंक्ति सहितको लोकगीत मेरो आफ्नै मौलिकता रहेको रचना हो। कहीँकतै मिल्न गए केवल संयोग मात्र हुनेछ।
माथिको गीतले भन्छ, संसारकै अन्यत्र नफल्ने मार्सी धान जुम्लामा फल्छ, त्यो पनि हिमाली जिल्लाको उच्च ठाउँमा। यसैगरी मिठामिठा जात जातका स्याउ र मीठो स्वादका सिमी पनि यही जुम्लामा फल्छन्।
जब वर्षा लाग्छ पाटनभरी बुकी फूलसँगै जातजातका पहेँला राता सेता पहेँलुलुडी फूल फूलेर अग्ला अग्ला पाटनदेखि गह्रापाखामा धान मकै कोदो सिमी फापर फलेर एतिखेर जुम्लाका हरेक स्थान निकै सुन्दर र मनोरम देखिएका छन्।
प्राकृतिक स्रोत साधनको अत्यन्तै धनी जिल्ला पनि हो वास्तवमा जुम्ला। सुन्दरताको खानी संसारमै अन्यत्र नफल्ने रातो मार्सी धान जुम्लामानै फल्छ। यही रातो मार्सी चामलको भातसँगै जोसुकै आगन्तुकलाई मीठो स्वादको खाना पस्किन्छ हाम्रो प्यारो जुम्लामा।
जुम्ला हाम्रो जन्मस्थान हो र यहीँ जन्मी हुर्केका हौँ, जुन भूमिको अन्नादि खाँदै आएका छौँ। हामीले जन्मभूमिलाई माताको रूपमा पुज्दै आएका छौँ। यसैले जुम्ला अत्यन्त प्यारो लाग्ने भएकोले जहिलेपनि सत्य बोल्न र सुन्न मन लाग्छ।
बर्टोल्ट ब्रेख्त जर्मन कवि तथा नाटककार हुन्। बुकहिलबाट प्रकाशोन्मुख सत्ता र सत्य पुस्तकको अंश शिलापत्रले शुक्रबार, असोज ९, २०७७ १४:०८ मा प्रकाशित गरेको थियो। जसको अनुवाद : खगेन्द्र संग्रौलाले गरेका थिए।
उक्त पुस्तकमा सत्य कुरा लेख्दा आइलाग्ने कठिनाइबारे लेख्दै बर्टोल्ट ब्रेख्त लेख्छन्, “अचेल झुट र अज्ञानताको विरोध गर्न र सत्य कुरा लेख्न चाहने जोसुकैले पनि कम्तीमा पाँचवटा कठिनाइमाथि विजय प्राप्त गर्नैपर्छ। सर्वत्र सत्यको विरोध भइरहेको बेला लेखकमा सत्य कुरा लेख्ने साहस हुनैपर्छ।
सत्य सर्वत्र छद्म रूपमा रहने भए तापनि लेखकमा सत्यलाई चिन्ने उच्च सजगता हुनैपर्छ। लेखकमा सत्यलाई हतियारको रूपमा प्रयोग गर्ने सीप हुनैपर्छ। ती मानिसहरूको छनोट गर्ने बुद्धिमत्तापूर्ण शक्ति हुनैपर्छ, जसका हातमा सत्य प्रभावकारी हुन्छ र लेखकमा त्यस्ता मानिसहरूका बीचमा सत्यलाई फिँजाउने चतुराइ हुनैपर्छ।”
बर्टोल्ट ब्रेख्तले लेखेका मध्ये पहिलो बुँदा हो, सत्य कुरा लेख्ने साहस।
यस तथ्यको पुष्टि गर्दै लेख्छन्, “सत्यलाई दबाउनु वा ढाकछोप गर्नु वा जानाजान कुनै पनि कुरा असत्य लेख्नु हुँदैन। उसले शक्तिशालीहरूका अगाडि निहुरिनु हुँदैन, न त उसले कमजोर मानिसहरूप्रति विश्वासघात गर्नु नै हुन्छ।
शक्तिशालीहरूका अगाडि निहुरिनु साँच्चै नै निकै गाह्रो कुरा हो। धनाढ्यहरूलाई बेखुसी पार्नु भनेको आफू विपन्नहरूमध्ये एकमा परिणत हुनु हो। त्यसो गर्नु भनेको काम गरेबापत पाइने भुक्तानीलाई त्याग्नु, इलम नै त्याग्नु सरह हुन सक्छ… ।”
उनी थपेर लेख्छन्, “हिजोका दिनमा आफ्नै देशमा केही आशा केही विश्वास केही भरोसा बोकेका युवा हरेक नेता र पार्टीका नेतालाई गाली दिइरहेका छन्, आखिर किन यस्तो भइरहेको छ? सबै सचेत नागरिकले सोच्नेबेला आएको छ।”
आफ्नो देशको कालो खैरो गहुँगोरो किन नहोस्, चाहे टोपी लगाउने देखियोस् चाहे घलेक लगाउने, चाहे भाङ्ग्रो गुथ्ने होस्। चाहे धोती र गम्छा लगाउने होस्, चाहे खस बोलोस्, चाहे मगरात्, चाहे ट ट आउने नेवारी र थारु भाषा होस् या खामभाषा, चाहे कछाड लगाउने हुन् या दौरा सुरुवाल, यी सबैको संयोजन संगम स्थल नेपाल र नेपाली हुन्।
यी माथिका जनता कसैले पनि देशमा भ्रष्टाचार गरेको देख्न चाहँदैनन् र भ्रष्टचारीलाई पक्षपोषण र बचावट गर्दैनन्। नेपाली जनताले हिजो अस्ति भन्दा आज मुलुक धेरै भ्रष्टाचारमा डुबेको देखिरहेका छन्। मुलुकमा सियो उत्पादन हुन पनि कठिन भइरहेको छ। कृषि प्रधान मुलुक भए पनि हाम्रा खेतबारी सबै बाँझो हुँदैछन्।
आम्दानी र कमाईका श्रोत छैनन् । पेट पाल्न र एकसरो लुगा लगाएर शरीर ढाक्न छिमेकी मुलुक भारत जानुपर्छ मजदुरी गर्न। हरेक नेपालीको घरघरबाट श्रम र रोजगार गर्न संसारका कुनाकुनासम्म पुगिरहेका छन्। देश निर्याततर्फ भन्दा आयाततर्फ अघि बढेको छ।
शैक्षिक युवा देशमा बस्न नै चाहँदैनन्? आखिर किन यस्तो भइरहेको छ त? पार्टीका कार्यकर्ता बाहेक नेपाली जनता नेता र पार्टीदेखि सन्तुष्ट छैनन्। जनता आजको अवस्थासँग किन खुसी हुन सकेका छैनन्? यिनै अनुत्तरित प्रश्नहरू प्रत्येक सचेत नागरिकका मथिंगलभित्र खेलिरहेका छन्।
न त देशमा जनता भ्रष्ट व्यक्ति देख्न चाहन्छन्, न त मुलुकमा भ्रष्टाचार मौलाएको देख्न चाहन्छन्। जनता सिर्फ समृद्ध नेपाल र सुखी नेपाली बनाउने उच्च सोच भएको नेतृत्व देख्न चाहन्छन्। देशभरि विभिन्न किसिमका कलकारखाना खोलेर जनतालाई रोजगारी दिने नेतृत्व चाहन्छन्।
देशमा प्रशस्त उत्पादन गरेर विदेशमा वस्तु निर्यात गरी प्रशस्त विदेशी डलरको आम्दानी गराउन सक्ने सोच भएको क्षमतावान् व्यक्तित्वको खाँचो परेको छ। बाटाघाटा सडक पुलपुलेसा देखि जनतालाई सहज पहुँच पुग्ने मितव्ययी स्कुल, कलेज, अस्पताल र विश्वविद्यालय चाहिएका छन्। देशलाई सदा स्थिर र समृद्ध बनाउन हो भने देशका तत् तत् शक्तिहरू मिलेर एकै ठाउँमा जुटेको देख्न चाहन्छन्।
प्रसंग हृदयन्द्र शाह केही हप्ता अघि आफ्नी आमा हिमानी शाहसँग जुम्ला जिल्लाको गोठीचौर गाउँपालिकामा बर्थ सेन्टरको लागि ट्रस्टको शिलान्यास गर्न जानुभएको थियो। शिलान्यासको लागि वर्तमान सरकारका कसैले कुनै पनि अवरोध गरेनन्। जुम्लीवासीले उहाँहरू जुम्ला जाँदा विमानस्थलदेखि विभिन्न बाजागाजा सहित फूलमाला र खादा लगाएर स्वागत गरे। जिल्लावासीले आफ्नो शिष्टता देखाए। प्रहरी प्रशासनले बरु सुरक्षा दियो, कुनै अवरोध गरेन।
ट्रस्टको शिलान्यासपछि हृदयन्द्र शाह जुम्लाको बीचमा बग्ने तीलानदी हिमानदी बीच बसेर फोटो खिच्नुभयो। मन्दिर गुम्बामा गएर फोटो भिडियो खिची मनोरञ्जन लिनुभयो। सर्वसाधारण जनताका छोराछोरीले पढ्दै आएको कर्णाली प्राविधिक शिक्षालय घुमेर जानकारीसँगसँगै मनोरञ्जन लिनुभयो।
जुम्लाका चिया र कफी पसलमा गएर चिया र कफी पिएर आनन्द लिनुभयो। डाँडाको बौद्ध गुम्बामा गएर प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर, तीलानदी, जुम्ला एयरपोर्ट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको दृश्यावलोकन गर्नुभयो। सुन्दर र प्रसिद्ध चिमारा मालिका अनि टेलिफोन टावरको दृश्यावलोकन गर्नुभयो। जुम्लामा संसारकै मिठो जात फल्ने प्रख्यात स्याउ र ओखरको अवलोकन गर्नुभयो।
स्थानीय गायक पञ्चकलीले बौद्ध गुम्बा रहेको परिसरबाट हृदयन्द्र शाहसँग केही कुरा गर्न र गीत गाउन सकिन्छ कि भनेर अनुरोध गरिन्, किनकि परिचय नै नभएर कुरा गर्न र गीत गाउन सकिने अवस्था थिएन। शाहले आफूसँग कुरा गर्न र गीत गाउन सजिलै सकिने बताउनुभयो।
अनेक समस्या भोगिरहेका जुम्लीहरूको प्रतिनिधि पात्र पञ्चकलीले हृदयन्द्रलाई, “प्लेनले हल्लाएन र ? डर पनि लाग्यो होला” भनेर सोधिन्। जुम्लामा आउने पाहुना र जुम्लीवासी अग्ला पहाड हल्लाउने प्लेनसँगै प्लेन चढ्न अभ्यस्त भएको कुरा पनि सुनाइन्।
जुम्लाका गाउँठाउँ चन्दननाथ मन्दिर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिमारा मालिका, टेलिफोन टावर, डाँफेलेक पातारासी हिमाल, तलिचौर र आचार्यवाडा, त्यहाँ रहेको एयरपोर्ट, खलङ्गा बजार र जुम्लाको बीचमा बगेकी तीलानदीलाई देखाइन्।
यतिमात्र होइन, साउन पूर्णिमामा चिमारा मालिकामा मेला लाग्ने कुरा देखि स्थानीय खलङ्गा बजारमा लाग्ने जात्रा र तीजको मेलाबारे जानकारी गराइन्। अन्तमा आफुले सिर्जना गरेको गीत सुनाइन्,
फल्छ मार्सी धान, संसारकै अग्लो ठाउँमा
कोही सुन्दैनन् कान, कर्णाली रोएको आवाज।
जुम्ला सिँजा दरा, खस भाषाको उद्गमस्थल
हुन्छ कठै बरा, राज्यको सौतेलो व्यवहार।
संसारकै अग्लो ठाउँमा फल्ने मार्सी धान पनि यही जुम्ला जिल्लामा फल्छ। प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि पहुँच नपुगेर कर्णालीका मानिस रोइरहेका छन् तर राज्यका कुनै निकाय र व्यक्तिले सुन्दैनन्। यसैगरी खस भाषाको उद्गमस्थल जुम्लाको सिँजा भए पनि राज्यको सौतेनी व्यवहार कठैबरा, किन समान व्यवहार हुँदैन भनेर सुनाउन भ्याइन्।
जुम्ला अनि समग्र कर्णालीका सर्वसाधारण जनताको वास्तविक जीवनकथा कसैले सुन्न बुझ्न र जान्न चाहँदैनन् भन्ने भावको गीत सुनाइन्। उनका आफ्ना शब्द र लय भने अर्कैको रहेको गीत सुनाइन् जसले प्रत्येक सचेत देशवासीको मन छोएको थियो।
हृदयन्द्रसँग सुनाएका यी कुरा हामी कसैले थाहा पाउने थिएनौँ। यी सबै यथार्थ कुरालाई जुम्लाको जीवनशैली र दिनचर्यालाई यहाँका सुन्दर गाउँठाउँ, शिक्षा स्वास्थ्य सडकसँग जोडिएका कुरा र आफू जुम्ला आउँदा जुम्लाले गरेको सम्मान, व्यवहार, कृतज्ञतालगायत सबै विषयवस्तुलाई समेटी १५ मिनेटको भ्लग बनाई संसार सामु चिनाउने काम गर्नुभयो।
स्थानीय पञ्चकलीले जाँदाजाँदै सोधेकी थिइन् हृदयन्द्रलाई, “हाम्रो देश समृद्ध कहिले होला? कहिले हाम्रो देश समृद्ध भएको देख्न पाइएला?”
हृदयन्द्रले सरल रूपमा, कुनै वाद दर्शन र राजनीतिलाई नजोडेर, “तपाईं हामी सबै मिलेर लाग्यौँ भने अवश्य देश समृद्ध हुन सम्भव छ, सबै लाग्यौँ भने असम्भव भन्ने छैन। नेपाललाई समृद्ध बनाउन तपाईं हामीले आँट साहस गर्नुपर्छ, सम्भव छ” भन्दै मुस्कुराउँदै जवाफ दिनुभएको थियो।
हृदयन्द्रको आवाजमा जुम्लाको सुगन्ध, राष्ट्रियताको भाव र देशप्रेम मिसिएको थियो।
भर्खरका २३ बाट २४ वर्षमा प्रवेश गर्नुभएका हृदयन्द्रले कुनै भड्किलो, कुनै राजकीय ठाँटबाँट हुने कुरा, कुनै दरबारको रवाफ देखाउने कुरा गरेको पनि देखिँदैन।
आज देशभरिका जनता र संसारभरिका मानिसले जुम्लाको सुन्दरता, यहाँको जीवनशैली, यहाँको दिनचर्या, यहाँको स्वास्थ्य अवस्था, शिक्षा र सडक, नदी, हिमाल, पाखा पखेरा, यहाँ फल्ने धान, कोदो, मकै, जौँ, गहुँ, आलु, फापर, सिमी, भटमासलगायत स्याउ, ओखर जस्ता फलफूलबारे चर्चा गरे। संसारका मानिसले एकैसाथ जान्ने र बुझ्ने मौका पाए। यी कुनै बनावटी र तामझाम थिएनन्।
एउटा सचेत नागरिकले आफ्ना देश र विभिन्न गाउँठाउँका वास्तविक कुरा, यथार्थ कुराको जानकारी लिनु र चासो राख्नु अपराध हुने होइन। दैनिक जीवनमा भोग्नु परेका पीडा गीतमार्फत पोखिएका छन्। आफ्नो देश बनेको हेर्ने र देख्ने चाहना राख्नु, देश विकास र समृद्धिको चाहना राख्नु कुनै अपराध पनि होइन।
हृदयन्द्र शाहले भ्लग भिडियो बनाएर सामाजिक सञ्जालमा आएपछि सबै मानिसले खुसीले “हाई हाई” गरिरहेका बेलामा जुम्ला जिल्लाबाट माननीय सांसद छिरीङ ल्हामु लामाले हृदयन्द्र शाहलाई दरबारको मान्छे भन्दै “भोटे कुकुरको छाउरो” को आरोप लगाएर विरोध गरिन्। उनको विरोध केवल विरोधमात्र भएको र उनको विरोधमा दम नभएको कुरामा सबैतर्फबाट आलोचना पनि भइरहेको छ।
माननीय लामाको आफ्नाबारेमा सर्वत्र विरोध हुन थालेपछि उनका केही समर्थकहरूले उनको पक्ष लिएर बोलेको पनि पाइन्छ। उनले घुम्न आएका पूर्व युवराज पारस शाहका छोरा एवं राजपरिवारको सदस्यलाई आफ्नो मनमा आएका भावनालाई आवेगमा प्रस्तुत गर्न हुँदैन थियो।
अन्तमा म पनि जुम्लीपुत्र भएको र जुम्लाको सुगन्ध भित्रैबाट हुर्के बढेकोले मलाई आफ्नो जिल्ला र देशप्रति अगाध माया छ।
जायज र सही कुरा कहीँ गर्नै नहुने, यदि आफ्नो अनुकूलको विचार वा समर्थन भएन भने तुरुन्तै इतर विचारको भनेर आरोप लगाउने, हिलो छ्याप्ने यस्तो प्रवृत्ति राम्रो मानिँदैन। समाजका अगाडि मैले जे देखेँ, त्यही लेखेको छु।
मैले कुनै वाद व्यवस्था र दर्शनको पछि लागेर लेखेको नभई साँचो कुरा, सत्य र यथार्थ कुरा लेखेको छु। यथार्थ पनि यही हो।
जय चन्दननाथ। आफ्नो देश गाउँठाउँबारेमा सत्य र यथार्थ कुरा लेख्ने शक्ति मिलिरहोस्। जय चन्दननाथ बाबा।
(२०८२/५/८ खलङ्गा, प्यूठान)