कर्णाली प्रदेश स्थापना विशेष
हरिबहादुर सत्ता र शक्तिका केन्द्रबिन्दुमा पुगेका व्यक्ति थिएनन्, तर शान्तिपूर्ण आन्दोलनमा चढेको एउटा गोलीले उनी मुलुकको संघीय इतिहासको अविछिन्न पाटो बने।
सहिद हरिबहादुर कुँवरको जन्म सामान्य किसान परिवारमा भएको थियो। उनको बाल्यकाल उनको गाउँ सर्मीमै बित्यो। जहाँ शिक्षा अवसर नभएर संघर्ष थियो। विद्यालयसम्मको दूरीले मात्र होइन, सामाजिक संरचनाले पनि सुरुवाती पढाइ ढिलो गरायो।
त्यसो हुँदाहुँदा पनि उनले प्रारम्भिक शिक्षामा अनपेक्षित दृढता देखाए। उनी शान्त स्वभावका थिए। निकै कम बोल्ने तर अनुशासित र कर्तव्यनिष्ठ।
गाउँका कतिपय बालबालिकाले किताबभन्दा खेतबारी रुचाउँथे, तर हरिबहादुर भने कक्षाकोठाभन्दा बाहिर ‘कथा र गीत’ मार्फत सिक्थे। लोककथा र लोकगीत सुन्दै हुर्किएका उनले गाउँका जमघटमा बच्चाहरूलाई रमाउन गीत गाएर सुनाउँथे।
शैक्षिक जागरणसँगै उनको यात्रामा एक मोड आयो। उनी थप अध्ययनका निम्ति नेपालगञ्ज गएका थिए। जुम्लाको भूगोलभन्दा फरक, खुला र प्रतिस्पर्धी वातावरणमा जीवनका केही असमर्थता भासिए। शहरी परिवेश, विविध पृष्ठभूमिका मानिसहरू र भाषिक अन्तरले उनी केही समय अलमलिए।
सुरूका केही महिना उनी मौन रहे, तर समयसँगै आफूलाई अभिव्यक्त गर्ने बाटो फेला पारे। उनी सामाजिक कार्यक्रमहरूमा सहभागी हुन थाले। कहिले कविता वाचनमा, कहिले सांस्कृतिक कार्यक्रममा।
त्यहीँ उनले आफ्ना गीतहरूको स्वर खुलाएर गाउँन थाले। गीत गाउँदा उनी आफूभित्रको कर्णाली सम्झिन्थे। नेपालगञ्जमा बसेका कर्णाली मूलका केही विद्यार्थीहरूसँग मिलेर उनले “कर्णालीको पहिचान एकता समूह” गठन गरे, जसले आफ्नो माटोमा गर्व गर्ने सहज वातावरण सिर्जना गरर्यो।
सामाजिक क्षेत्रमा उनको सक्रियता तीव्र रूपमा अघि बढ्यो। रक्तदान, जनचेतना अभियान, विद्यालय सुधार, कर्णालीवासीहरूलाई मलामी, जन्तीमा सघाउने जस्ता कामहरूमा रूपमा सहभागी हुन्थे।
देश राजनीतिक परिवर्तनको तहमा प्रवेश गरिरहेको बेला संविधानसभा, संघीय संरचना र प्रदेश विभाजनका बहसहरू कर्णालीसम्म आइपुगे। कर्णालीलाई अलग स्वायत्त प्रदेश बनाउने आवाज गाउँगाउँमा फैलियो।
नेपालगञ्जमा रहेका कर्णालीका युवाहरूले सामूहिक छलफल सुरु गरे। तीमध्ये अग्रपङ्क्तिमा हरिबहादुर थिए। उनी शब्दले भन्दा गीतले आफ्ना साथीहरूलाई संगठित गराउने क्षमता राख्थे।
१० वर्षअघि विसं २०७२ साउन २३ गते मध्यराति प्रमुख चार राजनीतिक दलका शीर्षनेता सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहित सङ्घीयताको खाका सार्वजनिक गर्यो।
उक्त खाकाप्रति साबिकको भेरी–कर्णाली क्षेत्रले चर्को असन्तुष्टि देखायो। कारण तत्कालीन भेरी अञ्चलका बर्दिया र बाँकेबाहेकका जिल्ला र साबिक कर्णालीका पाँच जिल्ला सुदूरपश्चिममा मिसाएर एउटै प्रदेश बनाइएको थियो।
एकातिर साबिक कर्णालीको मात्र अलग प्रदेश र अर्कोतिर मध्यपश्चिम क्षेत्रलाई अखण्ड कायम गरी प्रदेश घोषणा गर्नुपर्ने मनोविज्ञान रहँदा प्रस्तावित खाकाप्रति असन्तुष्टिमात्रै देखिएन, जिल्ला–जिल्लामा आन्दोलन नै भयो।
जुम्लामा कार्यालयका बोर्डहरू हटाएर ‘कर्णाली प्रदेश घोषणा’ गरियो। प्रारम्भमा प्रतीकात्मक तर गम्भीर आन्दोलनमा, युवा पुस्ताले असाधारण साहस देखायो।
खलङ्गा बजार युवा र प्रशासनबीच रणमैदान बन्यो। सुरुदेखि शान्तिपूर्ण रूपमा अघि बढेको जुलुसमाथि एकाएक रबरको गोली चलाइयो। जब आन्दोलनकारीहरू पछि हटेनन्, त्यो भिडको अग्रपंक्तिमा हरिबहादुर थिए। सिधा गोली प्रहार गरियो।
एक राउन्ड गोलीले हरिबहादुरको घाँटी छेड्यो। चर्को स्वरमा नारा लगाइरहेको एक युवा आकस्मिक रूपमा एम्बुलेन्सको स्ट्रेचरमा छटपटाइरहेको देखियो।
नेपालगञ्ज हुँदै काठमाडौँ पुर्याइयो । रिफर गरिँदा पनि अस्पताल प्रशासन र हेलिकप्टर व्यवस्थापन ‘नियम र प्रक्रियामा’ अड्किरहेका थिए। जसोतसो काठमाडौं पुगाइयो।
टिचिङ अस्पतालमा भर्ना गरिएपछि उनलाई भेन्टिलेटरमा राखियो। उनको शारीरिक संवेदनशीलता क्रमशः हराउँदै गइरहेको थियो। बोल्न नसक्दा पनि आँखा खोलेर वरिपरि हेर्थे। ती आँखामा अनन्त कुरा थुप्रिएका थिए। अधुरो लोकगीत, अधुरो स्वायत्तता, अधुरो जीवन।
भदौ ६ गते बिहान ४ बजेतिर, उनले अन्तिम सास लिए। हिमाली भूगोलदेखि राजधानीका चोकसम्म उनका पोस्टर राखेर दीप प्रज्वलन गरियो।
उनलाई नागरिक तहबाट “कर्णाली स्वायत्त प्रदेश सङ्घर्षका पहिलो शहीद” घोषित गरियो। जुम्लामा ‘हरिबहादुर कुँवर स्मृतिमार्ग’ नामाकरण गरियो। कर्णालीका विभिन्न ठाउँमा शालिक र अक्षयकोष स्थापनाका निर्णय भए।
आर्यघाटमा अन्तिम संस्कार भइरहेको बेला उनको पार्थिव शरीरमाथि रातो झण्डा ओढाइयो। उपस्थित कर्णालीबासी युवाहरूको आँखामा आँसु भरिएको थियो।
हरिबहादुर सत्ता र शक्तिका केन्द्रबिन्दुमा पुगेका व्यक्ति थिएनन्, तर शान्तिपूर्ण आन्दोलनमा चढेको एउटा गोलीले उनी मुलुकको संघीय इतिहासको अविछिन्न पाटो बने।
उनका लोकगीतहरू आज पनि कर्णालीका गाउँबेसीमा गुञ्जिन्छन्, यद्यपि त्यो स्वर पूरा गीत बन्न नपाउँदै रोकिएको छ।
कर्णाली प्रदेशको अस्तित्व कानुनी रूपमा घोषणा भइसके पनि, हरिबहादुरहरूको सपना अझै अधूरो छ।
उनको जीवनले एउटा स्थायी सन्देश छोडेको छ। समानताको माग चिच्याएर मात्र होइन, जीवन नै दाउमा राखेर पनि उठाउनुपर्छ। हरिबहादुर कुँवरको जीवनगाथा त्यही प्रतिरोधको प्रतीक हो।
(यो लेख सहिद हरिबहादुर कुँवरको स्मृतिग्रन्थ लगायत गुगलमा उपलब्ध सामग्रीको आधारमा तयार पारिएको हो:-सम्पादक)