आईतवार, ८ भाद्र, २०८२

सपना बेचिएको सहरमा छु

यहाँ हरेक चीजको मोल छ। श्रमको मोल, समयको मोल, यहाँसम्म कि भावना र सम्बन्धको पनि मोल। सपनाहरू यहाँ सहजै पूरा हुँदैनन्, बरु तिनलाई पूरा गर्नका लागि ठूलो मूल्य चुकाउनुपर्छ

सहर, आधुनिकताको प्रतीक, अवसरहरूको खानी। तर, यही सहरभित्र एउटा यस्तो यथार्थ लुकेको छ, जहाँ सपनाहरू किनबेच हुन्छन्, जहाँ आकांक्षाहरू मूल्यमा तोकिन्छन्।

म त्यही ‘सपना बेचिएको सहरमा छु’। यो सहर केवल भौतिक संरचनाहरूको चाङ होइन, यो त करोडौं सपनाहरूको कब्रिस्तान पनि हो, जहाँ केही सपनाहरू हुर्कन्छन् भने धेरैजसो दबेर मर्छन्।

जब म यो सहरमा पहिलो पटक पाइला टेकेँ, मेरा आँखामा अनगिन्ती सपनाहरू थिए। गाउँको सिधासाधा जीवनबाट टाढा, यो झिलिमिली सहरले मलाई लोभ्याएको थियो।

यहाँ केही गरौँ, ठूलो मान्छे बनौँ, नाम कमाऊँ भन्ने अदम्य चाहना थियो। हरेक युवाले यस सहरमा आफ्नो भविष्य देख्छ, यहाँका गगनचुम्बी भवनहरूमा आफ्नो उडानको चित्र कोर्छ। तर, सहरको चम्किलो आवरणभित्र लुकेको तीतो यथार्थसँग साक्षात्कार हुन धेरै समय लागेन।

यहाँ हरेक चीजको मोल छ। श्रमको मोल, समयको मोल, यहाँसम्म कि भावना र सम्बन्धको पनि मोल। सपनाहरू यहाँ सहजै पूरा हुँदैनन्, बरु तिनलाई पूरा गर्नका लागि ठूलो मूल्य चुकाउनुपर्छ। कोही आफ्नो जवानी बेच्छन्, कोही आफ्ना आत्मसम्मान, अनि कोही त आफ्नो सम्पूर्ण जीवन नै।

यहाँ अवसरहरू छन्, तर ती अवसरसम्म पुग्नका लागि पनि अनेकौं प्रतिस्पर्धा र संघर्षको पहाड चढ्नुपर्छ। सडकका पेटीमा रात बिताउनेदेखि लिएर महँगा अपार्टमेन्टमा बस्नेहरूसम्म सबैको आ–आफ्नै सपना छन्। तर ती सपनाको प्राप्ति फरक–फरक मूल्यमा हुन्छ।

यो सहरले मलाई धेरै कुरा सिकाएको छ। यहाँ मैले मान्छेका दुई अनुहार देखेँ। एउटा भेषभूषाले ढाकिएको, अर्को यथार्थले खोलिएको। यहाँ मैले सपनाहरू बन्ने र भत्कने प्रक्रिया नजिकबाट नियालेँ।

कतिपय मानिसहरू आफ्नो सपना पूरा गर्न सफल हुन्छन्, उनीहरू यो सहरका सफल पात्र बन्छन्। तर, धेरैजसोले आफ्ना सपनाहरूलाई सहरको भीडमा कतै हराउँछन्, बेच्न बाध्य हुन्छन् वा चकनाचुर भएको देख्छन्।

आज म पनि यही सहरको एक हिस्सा हुँ। मेरा केही सपनाहरू पूरा भए, केही अधुरै छन्, र केहीले त नयाँ रूप धारण गरेका छन्। यो सहरले मलाई कठोर हुन सिकायो, संघर्ष गर्न सिकायो, र सबैसँग प्रतिस्पर्धा गर्न पनि सिकायो।

‘सपना बेचिएको सहर’ भन्नुको अर्थ यो होइन कि यहाँ सपना देख्नै हुँदैन। बरु, यहाँ सपना देख्नुअगाडि त्यसको मोल बुझ्नुपर्छ, त्यसका लागि चुकाउनुपर्ने मूल्यबारे सचेत हुनुपर्छ भन्ने हो।

यो सहर सपना बेच्ने सहर हो, तर साथै सपना बनाउने सहर पनि हो। यहाँ सपनाहरूले नयाँ आकार लिन्छन्, नयाँ दिशा पाउँछन्। चुनौती र अवसरको दोसाँधमा उभिएर, म यो सहरमा मेरा सपनाहरूलाई अझै पनि जीवित राख्न प्रयासरत छु।

किनकि, यो सहर जतिसुकै कठोर भए पनि यसभित्र अझै पनि अनगिन्ती सम्भावनाहरू लुकेका छन्, जसले नयाँ सपनाहरूलाई जन्म दिन्छन्।

सहर उज्यालो छ, बत्तीको झिलिमिलीले, तर मुटुहरू अँध्यारो छन्। हाँसो छन्, तर स्वरविनाको। अनुहारहरू छन्, तर मुखौटाभित्र लुकेका। म अहिले त्यही सहरमा छु, जहाँ सपना बेचिन्छन्।

यो सहरमा मानिसहरू निदाउँछन् पैसाको थकाइमा, र बिउँझन्छन् चिन्ताको घण्टीले। यहाँ बालकहरूले चित्रमा घर बनाउँदैनन्, किनकि उनीहरूलाई थाहा छ। त्यो घर किन्न पैसा चाहिन्छ। युवा पुस्ताले प्रेम गर्नु अघि ‘स्थायित्व’ को दर खोज्छन्।

र सपनाहरू? ती त विज्ञापनका बोर्डमा, स्टक मार्केटको सूचकमा, वा कसैको चारित्रिक प्रमाणपत्र मा मात्र बाँकी छन्। म देख्छु, कसैले कलाकार बन्ने सपना बेचेको छ, किनभने घरको भाडा तिर्नुपर्छ। कसैले गाउँ फर्कने सपना बेचेको छ, किनभने सहरमा रहनैपर्छ।

कसैले आफ्नै सास बेचेको छ, छत कसैले रोदन बेचेको छ किनकि जिउनका लागि होइन, बाँचिरहेको देखिनका लागि। ‘सपना बेचिएको सहर’ केवल ठूला भवनहरूले भरिएको स्थान होइन, यो एउटा मनोदशा हो। जहाँ मान्छेहरू बाध्यतामा बाँच्न सिकेका छन्। जहाँ भावना सस्तो छ र समय महँगो।

तर अझै पनि, म विश्वास गर्छु। हरेक बिक्रीको बीचमा पनि केही सपना बाँकी छन्, जो कुनै कुनामा चुपचाप साँचेका छन्। जुन एक दिन उड्न सक्नेछ, यदि हामीले फेरि सपना देख्ने आँट गर्‍यौं भने। किनकि सहरले सपना बेच्न सक्छ, तर सपना देख्न पाउने हाम्रो अधिकार कहिल्यै बिक्री हुँदैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार