सोमबार, ९ भाद्र, २०८२

“हरियालीमा विश्वासको यात्रा : बडिमालिका यात्राको तेर्सो दिन”

भाग -१

ढुङ्गाको कापबाट उम्रिएको हरियो बिरुवा त्यो अद्भुत किंवदन्तीको जिउँदो प्रमाण लाग्थ्यो। हामीले ध्वजा फहरायौँ, अक्षता चढायौँ र मनमनै बडिमालिकासम्म सुरक्षित यात्रा होस् भनेर प्रार्थना गर्‍यौँ।

श्रावण महिनाको सबभन्दा रमाइलो दृश्य भनेको खेत पाखामा उम्रिएको हरियाली हो। धर्तीले हरियो ओढनी ओढेजस्तै देखिन्छ, धानका विरुवा सुगन्धित हावासँग खेल्दै लहराइरहेका हुन्छन्। यही बेला, श्रद्धा र विश्वासको आँधी पनि उठ्छ। देशैभरिका तीर्थयात्रीहरू बडिमालिका पुग्ने तयारीमा लाग्छन्। कसैलाई व्रतको आकर्षण, कसैलाई भगवानमा अटुट भरोसा, अनि कसैलाई साहसिक यात्राको तिर्खा।

मैले पनि यही उत्साहका साथ बडिमालिका जाने निर्णय गरेँ। आमासँग बिहानै हात जोडेर बिदा मागेँ। उहाँको मुखमा आशीर्वाद थियो, “सफल भएर फर्किनु।” केही कपडा र आवश्यक सामान झोलामा हालें र क १ प ६३९ नम्बरको बाइक हुइँक्याएँ। घामको अजङ्गको उज्यालो थियो, तर मनमा भने यात्राको कौतुहलले अरू नै रौनक ल्याइरहेको थियो।

१ घण्टाको पिच रोड, २ घण्टाको धुलाम्मे सँगै हिलाम्मे बाटो काटेर सिन्जाको सञ्ज्यालवाडा पुग्दा साथीहरूको हाँसो, जयजयकार र बाजागाजाको धुनले स्वागत गर्‍यो। सरकारी टोली त्यहाँ बास बसेको थियो। मसँग दुई जना साथी थिए, हामी पनि करिब ३०–३५ जनाको समूहसँग मिसियौँ। हाम्रो टोलीमा एकातिर उमेरदार आमा–बुबा थिए, अर्कोतिर जोशिला युवा पनि। यात्रा भनेको यही विविधताको मेल हो, सबै उमेरका मानिस एउटै विश्वासले बाँधिएका।

म केही सामान बोकी गोठिज्युलातिर गएँ, अरू तीर्थयात्रीहरू पैदलै पछि पछि आउन थाले। कनकासुन्दरी गाउँपालिकाले नाचगानसहित हामी सबैलाई जयजयकार गरी विदाई गर्‍यो। बुढी आमाहरूले सुमधुर माङ्गल गाउँदा, “जय बडिमालिका, जय चन्दननाथ, जय भैरवनाथ !” भनेर गाउँलेहरूको स्वर मिसिँदा, शरीरको थकाइ नै बिर्सिन्थ्यो। बाइक त्यहीँ छोडेर मैले पनि यात्रुहरूको लस्कर पालना गरेँ।

उकालो बाटो, खोलाको गर्जन, वनको सुगन्ध, अनि यात्रुहरूको जयघोष। बुढु गाउँको फेदमा पुग्दा फुटेसिली मन्दिर देखियो। ठूलो ढुङ्गा चिरेर प्रकट भएको देवता, जसलाई संकटकालमा माओवादीले आगो लगाउँदा पनि नष्ट गर्न सकेनन् भन्ने कथा सुन्दा रोमाञ्च लाग्यो।

ढुङ्गाको कापबाट उम्रिएको हरियो बिरुवा त्यो अद्भुत किंवदन्तीको जिउँदो प्रमाण लाग्थ्यो। हामीले ध्वजा फहरायौँ, अक्षता चढायौँ र मनमनै बडिमालिकासम्म सुरक्षित यात्रा होस् भनेर प्रार्थना गर्‍यौँ। यात्रा अघि बढ्यो, “जय बडिमालिका, जय चन्दननाथ, जय बटुक भैरवनाथ, जय कनकासुन्दरी माइ !” जस्ता जयजयकारले वातावरण पुरै गुन्जयमान भएको थियो।

यात्रा अघि बढ्दै जाँदा कालाकाडा लेक आयो। गुरुले भनेका थिए, “यो लेक सजिलै काटियो भने बडिमालिका पुग्न सजिलो हुन्छ।” साँच्चै पनि यो उकालो एक प्रकारको परीक्षा नै थियो।

साथीहरू थाक्दै थिए, एक जना साथीले त उल्टिनै गरे, बिस्तारै उनले पनि लेक पार गरे। तर जब हामी टुप्पोमा पुग्यौँ, वरिपरिको दृश्यले थकान उडाइदियो। बादलसँगै खेल्ने डाँडा, हरियो वनको नृत्य, अनि परपर झल्किएको गाउँ—मानौँ स्वर्गको झलक। अनि लागियो जगलको थोरै ओरालो, धेरै उकालो बाटो…

साँझतिर हामी क्वा गाउँ पुग्यौँ। बुढाबुढी, केटाकेटी धेरै उत्साहित थिए। सबैको चहलपहल एक्कासी बढ्यो। मलाई भने यो गाउँले अझै ठूलो महत्व राख्थ्यो, किनकि हाम्रो कुलदेवता ‘क्वा मष्ट’ यहीँ हुनुहुन्छ। गाउँ प्रवेश गर्दा बालबालिकाले “गोर्खाली आए, गोर्खाली आए!” भनेर स्वागत गरे।

त्यो शब्दले मेरो मनमा अपार गौरव भरियो। गाउँलेहरूले दुई घर सफा र लिपपोत गरेर हामीलाई बस्न दिएकाले थकित शरीरलाई साँचो विश्राम भेट्यो। साना ढोका निहुरिनु पर्ने थाकेको शरीर तैपनि भित्र गएर आराम गर्नु मजानै बेग्लै थियो।

बेलुकी गाउँ रमाइलोले गुञ्जियो। कसैले चुल्होमा चामल उमाल्दै थिए, कसैले गाउँभरि घुम्दै रोटी माग्दै हिँडिरहेका थिए। गाउँलेहरूले तरकारी, दाउरा, मसला दिन उदारता देखाए। हामी सबै हाँसो–ठट्टामै खाना तयार पार्दै थियौँ। गुरुले भने, “गोर्खाली आएपछि देउडा नाच गाउनै पर्छ।” तर हाम्रो समूहमा नाच्ने–गाउने कोही नभएपछि त्यो खाली रह्यो। तर रमाइलो कम भएन।

भोलिपल्ट बिहानै म ‘क्वा मष्ट’ मन्दिर पुगेँ र दर्शन गरेँ। यता गाउँमा भने बिहानको आरती सुरु भइसकेको थियो। धूपको गन्ध, घण्टीको आवाज र भक्तजनको स्वरले वातावरण पवित्र बनाइरहेको थियो। गुरुले बोकेको गाथप्रति त्यहाका गाउँलेले देखाएको श्रद्धाभाव प्रशंसनीय थियो, जसले मन एकदम शान्त भयो।

त्यसपछि, एका बिहानै झोलामा खानेकुरा, मनमा बडिमालिकाको सपना, अनि शरीरमा नयाँ ऊर्जा बोकेर हामी फेरि गाउँलेसँग बिदा मागेर “फेरि अर्को साल भेटम्ला” भन्दै जयजयकार गर्दै ओरालो बाटोतिर अघि बढ्यौँ…

क्रमशः अर्को दिनको कथामा भेट्नेछौँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार