उनले न त सहानुभूति मागेका छन्, न त सहायताका लागि कराएको दृश्य देखाएका छन्। बरु, उनले ती आँखा, जसले भोक मात्र होइन, उज्यालो सपना पनि देख्न सक्ने आत्मविश्वास बोकेको देखाएका छन्।
“हामी जुम्ली हौं। जहाँ देश सुन्न थाल्नुपर्छ।” जुम्लाका सचेत नागरिक तगा नेपाल सरकारका उपसचिव जीवन भण्डारीको यो भनाइ कुनै नारा होइन। यो त दशकौँदेखि राजधानीको आँखाबाट ओझेलमा परेको एक पहाडी भूगोलको मौन आर्तनाद हो, जसले अन्ततः बोल्न थालेको छ, हृदयेन्द्र शाहको क्यामेराबाट।
पूर्व युवराज पारस शाहका छोरा हृदयेन्द्र शाहले निर्माण गरेको जुम्ला केन्द्रित भिडियो अहिले सामाजिक सञ्जालमा छरिएको एउटा दृश्य संवेदना हो, जुन न दृश्य हो, न त भोगाइ मात्रै, यो त चेतनामा रूपान्तरण हुँदै गएको भूगोलको कथा हो भएको भण्डारीको टिप्पणी छ।
“सामान्यतः राजधानीमा बसेर कोही शाही परिवारका सदस्यले बनाएको भिडियो भनिएपछि धेरैको अपेक्षा विलासी दृश्य, बुटिक सम्पादन वा सहानुभूतिको प्रदर्शन हुन्छ,” उनले भने, “तर हृदयेन्द्रको क्यामेरा न त सहानुभूतिका लागि चलाइएको छ, न मनोरञ्जनका लागि।”
उनका अनुसार यो त त्यो मौन आवाज सुन्नका लागि चलाइएको क्यामेरा हो। जो दशकौंसम्म ‘पछाडि परेको’ भनेर चित्रित गरिएको भूगोलको भित्रभित्रै दबिएको सपना सुन्न चाहन्छ।
काठमाडौंका अग्ला टावरहरूबाट हेर्दा सधैं चुप देखिएको जुम्ला अहिले शाहको क्यामेराबाट बोलेको भण्डारी बताउँछन्। उनी थप्छन्, “त्यो बोलाइ चिच्याहट होइन, आत्मस्मरण हो। त्यो स्वरमा त पहाडको गन्ध छ, कर्णालीको सास छ र हिमालपारिको एकोहोरो प्रेम पनि।”
“हामी पीडाको पोस्टर होइनौं, सम्भावनाको नक्सा हौं,” भन्छन् जीवन भण्डारी। यही वाक्य हृदयेन्द्रको भिडियोको मुटु हो। किनभने यसअघि धेरै क्यामेराहरूले जुम्लालाई केवल रोग, भोक र विवशताको प्रतीकको रूपमा देखाउँदै आए।
तर शाहको भिडियोले त्यो टेम्प्लेट भंग गरेको छ। उनले न त सहानुभूति मागेका छन्, न त सहायताका लागि कराएको दृश्य देखाएका छन्। बरु, उनले ती आँखा, जसले भोक मात्र होइन, उज्यालो सपना पनि देख्न सक्ने आत्मविश्वास बोकेको देखाएका छन्।
शाहको भिडियो ट्राभल भ्लग होइन, न त कुनै प्रचारात्मक डकुमेन्टरी। यो त जुम्लाको चेतनालाई दृश्य भाषा मार्फत अनुवाद गर्ने प्रयास हो। यस्तो अनुवाद, जसमा गोठहरू, पुराना धरोहरहरू, हिउँपर्ने गोरेटाहरू र झलमल्ल आँखाहरू छन्। जसले भनेका छन्, “हामी यहाँ छौं, जीवित छौं, जुझिरहेका छौं र अघि बढ्न तयार छौं।”
शाहले जुम्ला अब केवल ‘पछाडि परेको’ भूगोल होइन, सचेत रूपमा ‘पछाडि पारिएको’ भूगोल हो। यो निकै महत्त्वपूर्ण भिन्नता हो। किनभने यसले दया होइन, अधिकारको माग गरिरहेको भण्डारीको बुझाई छ। उनी थप्छन्, “भिडियोले जुम्लालाई ‘दया’को चस्माबाट होइन, ‘दिशा’को दृष्टिबाट हेर्न आग्रह गर्छ।”
शाहको क्यामेराले चिच्याउने बालक देखाएको छैन, नत गोडा लत्रिएका वृद्धा। उनले देखाएका छन् त ती थाकेर तर अडिएका पाइला, जो विकटतामै आँटको लयमा हिँडिरहेका छन्। ती पर्खाल, ती गोठ, ती चुल्हा,, सबै बोल्छन्। त्यो बोलाइ अड्किएको विकासको तृष्णा हो, तर विकृतिको माग होइन।
“हृदयेन्द्रको प्रयास ‘हेल्प फर जुम्ला’ होइन, ‘हेलो फ्राम जुम्ला’ हो,” भन्छन् भण्डारी। जुम्लाले आफैंलाई बोल्न थालेको छ। अनि त्यो स्वर सुन्ने जिम्मेवारी अब हामी सबैको हो। त्यो चेतनालाई संवाद बनाउने, त्यसलाई साझा नेपाली आत्माको स्वर बनाउने बेला हो यो।
उनका अनुसार यो भिडियो एउटा दृश्य प्रयोग मात्र नभई चेतनाको उद्घाटन हो। जहाँ गोठबाट आवाज निस्कन्छ, जहाँ सडकमै आत्मगाथा गुञ्जिन्छ। अब जुम्लाले मौन रहनुहुन्न। हृदयेन्द्रले त्यो मौनतालाई संवेदनामा रूपान्तरण गरेका छन्। जसले हाम्रा आँखाभन्दा पनि भित्रपट्टिका चेतनालाई हल्लाइदिन्छ।
उनी थप्छन्, “हामी हृदयेन्द्रको क्यामेराभन्दा बाहिर बसेका दर्शक, अब त्यो कथा केवल हेर्नु होइन, महसुस गर्न, आत्मसात गर्न र बोल्न पनि तयार हुनुपर्छ। किनभने यो कथा जुम्लाको मात्र होइन, यो त सिंगो देशको आत्मदृष्टिको प्रश्न हो।”
















