हामीलाई यस्ता नेतृत्व चाहिन्छन्, जसले चिकित्सा क्षेत्रलाई दलगत हैकमबाट जोगाएर सबैलाई समेट्ने, सुन्ने र साथ लिएर अगाडि बढ्ने दृष्टिकोण राखून्। यस्तो नेतृत्व न राष्ट्रिय गठबन्धनजस्तो होस्, न राज्यको जस्तो भागबन्डा।
नेपाल मेडिकल एसोसिएसन (NMA) ले आफ्नो स्थापना कालदेखि नै चिकित्सकहरूको हकहितको संरक्षण गर्ने, उनीहरूको पेशागत सम्मान अभिवृद्धि गर्ने र राज्य तथा स्वास्थ्य प्रणालीसँग सन्तुलन कायम राख्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
२००७ सालमा स्थापित यो संस्था सुरुवाती दिनमा शुद्ध पेशागत, निष्पक्ष र सबैको साझा आवाजका रूपमा स्थापित भएको थियो। तर, समयक्रमसँगै यस संस्थाले पनि नेपालका अरू धेरै संस्थाहरूको नियति जस्तै, राजनीति र गुटबन्दीको सिकार बन्न पुगेको छ।
हालको अवस्थामा NMA को चुनावले अब राजनीतिक दलहरूको प्रतिबिम्ब झल्काउन थालेको छ। उम्मेदवारहरू पार्टीगत आस्थाका आधारमा मैदानमा उत्रने, गुटगत ध्रुवीकरण गर्ने र पेशागत सरोकारभन्दा बढी व्यक्तिगत या राजनीतिक एजेन्डा अघि सार्ने प्रवृत्ति देखिन थालेको छ।
विशेष गरी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रका आस्थावान समूहहरू लामो समयदेखि NMA भित्रको चुनावी समीकरणमा सक्रिय देखिन्छन्। यसले NMA लाई एक पेशागत संस्था होइन, सानो राजनीतिक मञ्चजस्तो बनाइदिएको छ।
यसो भए तापनि NMA ले केही उल्लेखनीय कार्यसम्पादनहरू गरेको पनि नकार्न मिल्दैन। कोरोना महामारीको समयमा सुरक्षा सामग्रीको सुनिश्चितता, चिकित्सकमाथि हुने आक्रमणको विरोधमा आवाज उठाउनु, बीमा तथा सेवा सुविधा सम्बन्धी विषयमा सरकारसँग वार्ता गर्नु, अस्पतालमा सेवा दिँदै आएका चिकित्सकहरूको आवाज बुलन्द गर्नुजस्ता कुरामा संस्थाको सक्रियता प्रशंसनीय थियो। तर ती उपलब्धिहरू पछिल्लो समयको निराशाजनक नेतृत्वले छायाँमा पर्न थालेका छन्।
अहिलेको नेतृत्वले आफ्नो घोषणापत्रमा गरेका अधिकांश प्रतिबद्धता पूरा गर्न सकेको देखिँदैन। न त सरकारी चिकित्सकहरूको सरुवा प्रणालीमा पारदर्शिता ल्याउने काम भयो, न त चिकित्सा शिक्षा क्षेत्रको व्यापारीकरण विरुद्ध ठोस कदम चालियो।
सबै कुरा पुरानै ढर्रामा चलिरहेको छ। नारा फरक भए पनि नियत र नियन्त्रकहरू उस्तै छन्। परिणामतः धेरै चिकित्सकहरू अब यो संस्थालाई आफ्नै बाटो गुमाइसकेको र केवल केन्द्रीय समितिमा पुग्ने सीढीको रूपमा प्रयोग भइरहेको अनुभव गर्न थालेका छन्।
अब फेरि चुनाव नजिकिँदै छ। यसपटकको चुनाव केवल पदका लागि प्रतिस्पर्धा होइन, यस संस्थालाई पुनः जीवित पार्ने वा अझ गहिरो राजनीतिक खाडलमा फाल्ने निर्णय हुनेछ। चिकित्सा समुदाय आज एकजुटताको खाँचोमा छ, कुनै पार्टीको झन्डामुनि होइन, पेशागत अस्मिता र समान अधिकारका लागि।
हामीलाई यस्ता नेतृत्व चाहिन्छन्, जसले चिकित्सा क्षेत्रलाई दलगत हैकमबाट जोगाएर सबैलाई समेट्ने, सुन्ने र साथ लिएर अगाडि बढ्ने दृष्टिकोण राखून्। यस्तो नेतृत्व न राष्ट्रिय गठबन्धनजस्तो होस्, न राज्यको जस्तो भागबन्डा।
बरु सबै तह र क्षेत्रका चिकित्सकहरूको सहभागितासँगै बनिएको साझा मञ्च होस् — जहाँ अनुभव, ऊर्जा, निष्ठा र पारदर्शिता एकसाथ होउन्।
यदि हामी आफैं आफ्नो संस्था सुधार्न सक्दैनौं भने, अरू कसरी हामीप्रति विश्वास राख्ने? अहिले नेतृत्व परिवर्तनको समय हो। नारा होइन, विचारका आधारमा नेतृत्व रोजौं। व्यक्तिलाई होइन, दृष्टिकोणलाई समर्थन गरौं। किनकि, अब पनि ढिलो भए चिकित्सा क्षेत्रको आत्मा गुम्ने खतरा छ।