शुक्रबार, २९ फाल्गुन, २०८२

प्रतिभाका धनी कविराज कार्कीलाई फर्केर हेर्दा

पत्रकार कार्कीले पहिलो पंक्तिमा डढेलोले बनजंगल खायो भन्दै दोषो पंक्तिमा पिरै पिरले मन कट्क्क पार्यो भन्दै खप्पर टाउकोलाई फलामे सुइरो जुन तातो तिखो हुन्छ खोपेर तनाव मुक्त हुने हो कि भन्छन्। यस गीतको जवाफमा यसरी प्रतिक्रिया लेखिएको छ फेसबुकबाट साभार गरेको छु।

कविराज कार्की मुगु जिल्लामा पर्ने सुकाढिक निवासी मात्र होइनन्, पूर्व एक शिक्षक पनि हुन्। आजभोली उमेर हदका कारण निवृत्त भईसकेका छन्। उनी शिक्षक रहँदा लोक गायक बन्न रहर मानेर आफ्नो इच्छा सबै सामु पुर्याउन माईफ किनेर घरमा राखेको कुरा उनैबाट सुनेको थिएँ। यो कुरा २०५४ ताकाको कुरा हो।

पछिल्लो समय उनले टेलिभिजन मार्फत पत्रकारिता पनि अंगाले। राम्रा राम्रा फोटोसहित खोजमूलक खबर फोटो र भिडियो समेतबाट जानकारी गराउँछन्। उनी आफ्नो पेशामा अहिलेसम्म विवादित भएको नदेखेको छु, नसुनेको छु।

उनले आफ्नो शिक्षण पेशासँगै फोटो स्टुडियो खोलेर पनि बसेका छन्। बाँच्न र स्वावलम्बी जिन्दगी बिताउन आफ्नो पौरखमै रमाउँदै आफ्नै पौरखमा विश्वास राखिरहेका छन्।

(कविराज कार्की जो लेखकले उल्लेख गरिरहेका छ्न्)

उनी क्यामराको प्रयोगमा असाध्यै सौखिन छन्। संसार पछिल्लो समय डिजिटल प्रविधिमा प्रवेश गरेपछि उनी पत्रकारिताको व्यवसायलाई समय सापेक्ष बनाउन एवं आफ्ना पाठक एवं स्रोतालाई सन्तुष्टि दिन पुरानो क्यामरा होइन नयाँ प्रविधियुक्त क्यामरा प्रयोग गरेर सेवा प्रवाह गर्न रुचाउँछन्।

उनी भन्छन्- सामाजिक सञ्जाल फेसबुक मार्फत-
“केही वर्ष पहिले मुगु कार्मारोङ्गतिर रिपोर्टिङ गर्न जाँदा त्यो बेला भिडियो खिच्न क्यासेटवाला ह्याण्डिक्याम क्यामरा प्रयोग हुन्थ्यो, प्रविधिको विकाससँगै अहिले डिजिटल एस.यल.आर. क्यामरा प्रयोग गरिन्छ। २०६६ सालतिर रु ६०,०००/- हजार परेको क्यामरा अहिले कवाडी बराबर भएको छ। पत्रकार हुन थुप्रै आर्थिक नोक्सानी समेत व्यहोर्न तयार हुनु पर्दोरहेछ।” यी शब्दहरू हुन् कविराज कार्कीका।

समाचार कस्तो र कति लेख्ने यो विषयमा विवेचना पछिल्लो समय अनुकूल मिलेको बेला गरौँला। तर समय र युग अनुसार एक दक्ष र सक्षम पत्रकार हुन एक गतिलो क्यामरा पनि हुनैपर्ने कुरामा उनी विश्वास राख्छन्।

(कविराज कार्कीले खिचेको रारा तालको फोटो)

एकपटक उनी राराताल घुम्न गएछन्। अवसर उनलाई एति राम्रो मिलेछ कि राराताल आफैँमा अनुपम स्वर्गीय आनन्द दिने ताल हो। यस तालको रंग बनोट, स्वच्छता, वातावरण बनोट र दृश्यावलोकन आदि आधारले। त्यो बेला तालमाथि इन्द्रेणी पनि लागेको रहेछ। उनलाई मन परेपछि आफ्नो क्यामरामा कैद गर्दै खुशी मात्र व्यक्त मात्रै गरेनन् त्यो फोटो हामी सबै माझ सार्वजनिक पनि गरिदिए। हामी पनि रारा ताल माथिको इन्द्रेणी देखेर लोभले भुतुक्क भयौँ। उनले भनेका छन्- “रारा ताल माथि इन्द्रेणी लागेपछि मेरो मुहारमा मुस्कान त हुने नै भयो नि हजुर।”

उनी प्रकृति प्रेमी मात्रै छैनन् आफ्नो जन्मभूमिमा रहेको ताल प्रतिको आस्था पनि उत्तिकैसाथ महत्व दिएका छन्। सूर्य बिष्ट आफ्नो कमेन्टमा यस्तो कमेन्ट लेख्दै आफ्नो पुरानो अतीत यसरी सम्झिन्छन् – कविराज कार्की सरले सार्वजनिक गरेको इन्द्रेणी लागेको फोटो हेर्दै –“रारा तालैमा, छल्केर परौली माया जालैमा” भन्ने बोल भएको गीत हामीले २०५२ सालमा रेकर्ड गरेका थियौं।

(लेखकले वर्णन गरिरहेका कविराज कार्की)

यसैगरी कर्णाली अञ्चलकै जेठो, राष्ट्रिय समाचार समितिका पूर्व पत्रकार एवं प्राज्ञ स्वर्गीय रत्नाकर देवकोटाले २०५०-६० को दशकतिर नेपालको गौरव गहना रारा दह लेखेका छन्। यसैगरी स्वर्गीय राजा महेन्द्र विर विक्रम शाहदेवले रारा ताललाई स्वर्गकी अप्सरा भनेर मबिबि शाहको नामबाट विक्रम संवत २०२० ताकानै कविता लेखिसकेका छन्। यसैगरी विभिन्न स्वदेशी तथा विदेशी सिद्धहस्त र नवप्रतिभा धेरैले रारातालको सुन्दरतालाई मनमा राख्न नसकेर विभिन्न माध्यमबाट सिर्जनाहरू लेखेको र गीत गजलका माध्यमबाट गाएको पनि पाइन्छ।

उनी राराताललाई चिनाउन दत्तचित्त भएर लागिरहेको देखिन्छन्। जसले जे सक्छ त्यही गर्ने हो। उनले आँधी, हुरी, वर्षा, हिउँद, झरी, वर्षा, तातोचिसो, हिउँ, झरी नभनी निरन्तर लागिरहेको देखिन्छ। समय समयका ऋतु-ऋतुका, सिजन सिजनका रारा तालका राम्रा राम्रा फोटो तस्विर लिन कहिले जन्मघर थातथलो मुगु सुकाढिकबाट त कहिले पछिल्लो समय बस्दै आएको मुगु गमगढीबाट कुदेर उकालोमा श्वास निचोरीने गरी फ्याँ फ्याँ गर्दै उकालोमा चढ्छन्। रारा राष्ट्रिय निकुञ्जको जंगलमा पाइने भालु र बँदेलसँग पनि डराउँदैनन्।

उनले रारातालका राम्रा राम्रा फोटो, तस्विर खिचेर राराताल मुगु र राराताल अवस्थित साविक कर्णाली अञ्चल र हालको कर्णाली प्रदेश अनि विश्वमै सुन्दर राराताल अवस्थित नेपाललाई संसारमै चिनाउन सकेसम्म थेग्नेगरी साढे चार लाखसम्मको क्यामरा किनेर रारातालका सुन्दर, लोभलाग्दा, मनमोहक र चाखलाग्दा फोटोहरू सार्वजनिक गरेका छन्। उनले प्राचीन र ऐतिहासिक मुगुका खोजमूलक स्थानका फोटो पनि सार्वजनिक गरेका छन्। उनकै भनाइ फेसबुकबाट साभार गर्दा-

“रारा तिमीलाई चिनाउन मेरो विवेक र क्षमताले यत्ति सम्म गर्न भ्याएँ। तिम्रो गुणस्तरीय फोटो र भिडियो खिचेर संग्रहका लागि साढे ४ लाखसम्मका क्यामरा किन्दा थुप्रै अर्थ गुमाए, हिउँ छिचोल्दै उकालो हिड्नु जस्ता थुप्रै कठिनाइ भोग्दै तिम्रा थरी थरी रूपहरू नेपाल टेलिभिजनको पर्दा र सामाजिक सञ्जालमा पोस्ट गरेर थोरै भए पनि तिमीलाई विश्वसामु चिनाउने प्रयास मात्र गर्न पाउँदा मात्र पनि म आफैँलाई भाग्यमानी ठानी रहेको छु। जय रारा! जय मुगु! जय कर्णाली!”

कविराज कार्की फोटो खिच्ने र पत्रकारिता मात्रै गर्दैनन्, उनी कहिलेकाहीँ समाजमा देखिएका चुनौतीलाई पनि लोकगीतका माध्यमबाट सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दछन्।
उनी मुगु र सदरमुकाम गमगढीमा बेलाबेला अवरुद्ध हुने बिजुली बत्ति र खानेपानी बारेमा पनि उत्तिकै चिन्ता व्यक्त गर्दछन्।

उनी अरुले गरेको सफलताको खुलेर प्रशंसा र सफलताको कामना गर्न कन्जुस्याई गर्दैनन्। सगरमाथामा साविक कर्णाली अञ्चल र मुगु रारातालको पानी बोकेर सफल सगरमाथा आरोहण गर्ने अक्कल बोहरालाई खुलेर बधाई ज्ञापन गर्छन्। उनकै भाषालाई सामाजिक सञ्जाल फेसबुकबाट साभार गर्दा-
“पूर्व धावक, समाजसेवी एवम् दिन दुःखीका भगवान हालै विश्वको सर्वोच्च शिखर सगरमाथामा रारा ताल र कर्णालीको पानी बोकेर सगरमाथा आरोहण गर्न सफल हुनु भएकोमा हाम्रा आशाका धरोहर आदरणीय व्यक्तित्व मित्र अक्कल बोहरालाई हार्दिक बधाई तथा भारी शुभकामना छ।”

एकपटक उनी मुगुको ताल्च विमानबाट नेपालगन्ज तर्फ जाँदै थिए। त्यो दिन २०८१/६/१७ थियो। प्लेनले उनलाई नलिएर ताल्च विमानमै बस्नु पर्यो। मतलब उनले टिकट पाउन नसकेको पनि हुन सक्छ। यातायातको सहज पहुँच नभएको मुगुमा प्लेन टिकट नपाएर या अन्य कारणले ताल्च एयरपोर्टमा बस्नु परेपछि उनको मनमा अनेक कुरा खेले।

यस्तै कुरा खेलेपछि उनले एउटा गीत सिर्जना गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरे। गीत यस्तो थियो, जुन गीतलाई मैले जस्ताको तस्तै साभार गरेको छु –

विमान त विमानी रैछ, आइ अतौल पाण्यो ।
नेपालगंजा लेला भनिउँ, ताल्चै पुणा छाण्यो ।।

उनले आफ्नै मातृभाषामा साविक कर्णाली अञ्चलका जुम्ला मुगुतिर बोलिने भाषामै गीत लेखेका छन्। मातृभाषा मात्रै नभई ठेट झर्रो नेपाली खस भाषाको पनि प्रयोग गरेका छन्। खस भाषा बोल्न कठिन पनि हुनसक्छ। तर शब्दभित्रका अर्थ महत्वपूर्ण छन्।

नेपालगन्ज जाने भनेर सोचेको त नलिएर ताल्च एयरपोर्टमै छोडेर अतौल अर्थात् झुक्याई दियो भनेर लेखेका छन्। उनको यस गीत हेरेर टिप्पणी गर्नेहरूले पनि खुब रमाइलोसँग कमेन्ट गरेको पाइन्छ।

विभिन्न व्यक्ति र व्यक्तित्वका लोकगीतमार्फत व्यक्त गरेका कमेन्टलाई जस्ताका तस्तै साभार गरेको छु। जुन लोकगीत केही सुझावमूलक छन्, केही ठट्टौली पाराका छन्। यिनलाई बाङ्गो टिङ्गो अर्थ नलाग्नेगरी र सामान्य रुपमा सोचिदिनेगरी प्रस्तुत गरेको छु। केही प्रतिक्रिया लेख्ने व्यक्तिहरूमा-

पुर्णबहादुर रोकाया (मुगु):
नेपालगन्ज गर्मी हुँदै, ताल्चै बैनु जाती।
दाजुभाइले दुःख पाए, चिरिदो छ छाती।

बिनोद कुमार मल्ल (मुगु):
खतेडका माईस तिमी गमगढी घर ल्यायौ
जागिर खाई रिटायर भयौ के हन्टर खायौ।

जंगबहादुर शाही (मुगु):
आनी बानी राम्मो भयो पेलन आइ जाँदो हो।
चाल्चै बस बजार नआउ खाना पाइजाँदो हो।

भिमचन्द्र हमाल (मुगु):
मसान घाटमा मसान हुन्छ, पानी घाटमा पानी हुन्छ
जसको नाम नै विमान घाट त्यहाँ इमान कहाँ होला।

पदम बहादुर मल्ल (मुगु):
कहिले जाडो कहिले गर्मी कहिले हुन्छ ठीकै।
उही रोडमा उही एयरपोर्ट सम्झी सम्झी दिक्कै।

रत्नसिंह मल्ल (मुगु):
विमान त विमानी हुन्छन् सारै छकाउँदा छन्।
नबस गाडीमा आइजाउ पैसा सकाउँदाछन्।

हिरानन्द जैशी:
रातभरि ताल्चामा बसि देउडागित गाइजाया।
आज पेलन क्यान्सिल भयो भोलत बाइजाया।

टिआर जनक रावल:
विमान त विमानै रैछ ताल्चै पुडो छाड्न्या।
कईथा हुन् ताल्चाका मान्ठ अलपत्र पाड्न्या।

लोकबहादुर मल्ल:
धिर गर्या खिर खान पाइयो पर्ख दाजु पर्खा
यातायातको कामै यही अझ लाग्यो बर्षा।

रणबहादुर खत्री:
प्लेनलेनि मान्छे चिन्यो यी सर गतिला नाईँ
आफ्नै ठाउँ अलपत्र पर्ने कर्म बदिला नाईँ।

एति रमाइलो प्रकृति प्रेमी र जन्मभूमि प्रति अगाध माया र राष्ट्रवादी भाव उनीभित्र भएपनि कहिलेकाहीँ उनको मन र भावनालाई कसैले नबुझिदिएपछि उनी बिरक्त र बैरागी हुन्छन्। आफ्नो पीडा कसैलाई पोख्दैनन्। बरु उहाँको मनको साथी मोबाइल र फेसबुकमार्फत यस्तो लोकगीत सार्वजनिक गर्दछन्। साविक कर्णाली अञ्चलका जुम्ला मुगु कालिकोट डोल्पा र हुम्लाका मानिसहरूले सुख र दुःख प्राय लोकगीतमार्फत डाँडापाखा बन देउराली नजिक गएर प्रकृतिलाई सुनाएर दुःखसुख साँटेर मन हलुका बनाउने गर्दछन्। उनले पनि यही विधिको प्रयोग गर्नु भएको छ-

रन् बन् खायो डढेलोले, मन खायो पिरले।
यै अभागी खप्परकन, खोपु कि झिरले।।

पत्रकार कार्कीले पहिलो पंक्तिमा डढेलोले बनजंगल खायो भन्दै दोषो पंक्तिमा पिरै पिरले मन कट्क्क पार्यो भन्दै खप्पर टाउकोलाई फलामे सुइरो जुन तातो तिखो हुन्छ खोपेर तनाव मुक्त हुने हो कि भन्छन्। यस गीतको जवाफमा यसरी प्रतिक्रिया लेखिएको छ फेसबुकबाट साभार गरेको छु-

लंकबहादुर कार्की (मुगु):
हान्या पै बन्चरो हान्नु क्या खोप्नु झिरले
त्यसै जोगी को हुँदा हो दस ठाउँका पिरले।

यहाँ सर्जक लंक कार्कीले पहिलो पंक्तिमा मर्नुनै छ भने धारिलो बन्चरो प्रहार गरे भैहाल्यो, सामान्य तिखो आगोमा तताएको फलामे सुईरो प्रयोग गरेर शरीरलाई किन दुःख दिनु भन्दै दोषो पंक्तिमा आफू पनि निकै बिरक्त भएर होला मानिस दस ठाउँका अनेक बिरक्तता र समस्या नभई त्यसै जोगी भएर जिन्दगी बिताउँदैन होला सायद भनेका छन्।

विश्ण खड्का परासर:
खोप्ने भया आफै खोप मैसित छ झिर
छोरा छदै छोरी छदै क्याका मान्छाै पिर।

जनक रोकाया (मुगु):
घामभया सिँयाला बस्नु मेघ आयो रुझिन्नु
एक एक दुःख सबै कन मैकन नसोच्नु।

मीन बहादुर महतारा:
डाँडामाथि लहरे पिपल, खोलिउनो पैयुँ
कि दुखारी न्याउली चरो, कि दुखारी मैहुँ।

हिमबहादुर बढुवालः
एक एक दुःख सबै कन नसोच्नु मैकन
मनका दुख मनै राख्नु नभन्नु कैकन।

प्रतिक्रियामा पहिलो पंक्तिमा सबैलाई एक एक दुःख हुन्छन् नै आफुलाई मात्र दुःख पिर समस्या छन् भनेर सोच्नु हुँदैन, भन्दै दोषो पंक्तिमा मनमा अनेक पिर दुख भएपनि मनमै राख्नु कसैलाई नभन्नु, भनेर फाइदा छैन बरु आफ्नो पीडा देखाएर किन सबैको दया र टिठ लाग्दो पात्र बन्नु भनेर सुझावमूलक सन्देश दिन खोजेको पाइन्छ।

अन्तमा २०४० सालतिरदेखि रेडियो नेपालको चौतारी कार्यक्रम, प्रतिभासाँझ लगायतमा गीत गाउँदै रारा, सौँराई र कर्णालीको तिर जस्ता एल्बम पनि २०५० देखि २०५६ तिरसम्म रेडियो नेपालमा स्वर रेकर्ड गराई एल्बम निकालेका छन्। हाल सरोकार मिडियामा काम गर्दछन्। स्थान र काम ईमान्दारीता हेरी यस्ता प्रतिभा र व्यक्तित्वको आआफ्नो ठाउँबाट कदर गरौँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार