शुक्रबार, २९ फाल्गुन, २०८२

स्मरण: अविरल बाढीको बितण्डा

राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरू होल्डमा राखिएका खबर पनि आइरहेका छन् भने फेदीखोलाको हिलो लेदो हटाइएको र पिन्थलीबेशी र रोशी-७ को चार सय बढीमा हटाउने काम भईरहेको खबर पनि थुप्रै आइरहेका छन्।

यो हप्तापनि मनसुनकै समय होला जस्तो लागिरहेको छ। गत असार १५ गते रातीदेखि अविरल परेको बाढी र डुवानले धनगढी उपमहानगरपालिका र महेन्द्रनगर पुनरवासका विभिन्न स्थानमा वर्षातसँगैको बाढीले धेरैका घर डुवानमा परेका थिए। यो हप्तामा झन् धेरै बाढीले बितण्डा मच्चाएका खबरहरू आइरहेका छन्।

यही असार २३ गते रातीदेखि २४ गते बिहानसम्म देशका विभिन्न ठाउँमा भारी वर्षात भयो। वर्षातसँगै बाढी बढेर ठूलो धनजनको क्षति भएको समाचार पनि सुनिरहेका छौँ। सबै नेपाली दाजुभाइलाई दुःखित र मर्माहत पनि बनाएको छ।

अनलाइन खबर समाचार रेडियो टिभी बाहेक फेसबुकमा पोस्ट गरिएका भिडियो, टिकटक र युट्युबबाट समेत प्रसारण भएका विभिन्न खबरहरूले बाढीको बितण्डामा परेर कैयौँ मानिस बेपत्ता भएको खबर सुन्दा मन स्तब्ध भएको छ। सर्वसाधारण मानिसदेखि नेपाल प्रहरीका जवान र प्रहरी सहायक निरक्षकसम्मको बाढीमा परी ज्यान गएको खबरले नेपाली जनता सबैलाई दुःखित बनाएको छ।

रसुवामा २४ गते बिहान भोटेकोसी नदी (तिब्बततर्फ ल्हेन्दे खोला भनिने) मा आएको बाढीले तीन जना प्रहरी कर्मचारीसहित अरु सर्वसाधारण गरेर अठार जना मानिस बेपत्ता भएका थिए। एकजना प्रहरी सहायक निरिक्षकसम्म चितवनमा भेटिएको खबर आइरहेको छ। ती अठारमा सत्र जना जीवित अवस्थामा भेटिउन् भन्ने कामना पनि छ। उनीहरू नभेटिञ्जेल आफन्त र सबै नेपालीको मन मुटु पोलिरहेको छ।

रसुवामा राखिएका कन्टेनर बगे, करोडौँका गाडीहरू जम्मै पनि बगाएर लियो। कसरी राखिएको थियो त्यो थाहा भएन तर अलिकति सजक र सतर्कता अपनाइएको भने पाइएन। २०८२ असार २३ गते राति भोटेकोसी नदीमा आएको त्यो बाढीले मलाई लाग्छ ती बेपत्ता भएका अठार जना व्यक्ति कस्तो अवस्थामा भेटिने हुन् चिन्ताले उकुसमुकुस बनाएको छ।

वर्षात लागे झरी आउनु राम्रै हो तर विनाश गर्ने बाढी आउनु त्यो भने दुःखको कुरा हो। नेपाल-चीनबीचको मितेरी पुल पनि बगाउनुले अझै के के ठूला घटना विपदको सामना गर्नु पर्ने हो। यस्तो वर्षातको बेला ज्यान जानुभन्दा सुरक्षित ठाउँ खोजेर बसौँ।

आफन्तकहाँ या छिमेकी, प्रहरी, स्थानिय नगर वा गाउँपालिका, वडा कार्यालय, विद्यालयसँग हारगुहार गरेर सहयोग मागेर केही दिन त्यहीँ बसेर भएपनि बचौँ तर वर्षातको बेला जबर्जस्ती कहीं काममा ननिस्कौँ। लामो दूरीको पहाड, भिर, खोला, नदीको यात्रा नगरौँ। यस्तो झरी र वर्षातको बेला कतै टाढा शहर र गाउँतिर ननिस्कनु नै उत्तम कुरा हो।

अझै सम्पर्कविहीन छन् बेपत्ता भएका अठार जना। उनका परिवार दुःखमा छन्। यस्तो बेला सबै नेपाली मिलेर आफ्नो ठाउँबाट बाढीमा परेका जो जतिसम्म छन् उनीहरूको उद्धारको लागि सबै उद्धारमा जुट्नुपर्छ। कहाली लाग्दो यस्तो विपद् शत्रुलाई पनि नपरोस्। यस्तो विपद् अब कसैले पनि भोग्न नपरोस्।

स्याफ्रुबेसीको बाढी मापन यन्त्र समेत बगायो भन्ने सुन्दा र दुई सय मेगावाट विद्युतको उत्पादन पनि यो बाढी आएपछि बन्द भयो भन्ने खबरले दैवी विपद् मात्रै होइन, आर्थिक रूपमा पनि ठूलो क्षति भएको छ।

यही क्रममा २४ गते नै अर्को नुवाकोटस्थित त्रिशूली बजार नजिक त्रिशूली नदीमा दुई जना नुवाकोट जिल्लाको विदुर नगरपालिका-९ र १२ नम्बर वडाको खोल्सामा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङ फसेको खबरले अर्को अत्यास थप्यो।

उक्त नदीको बीचमा रहेको रुखमा चढेर ज्यान जोगाइरहेका ती दुई जना श्रीमान्-श्रीमती थिए। उनीहरू भोटेकोसी नदीले बगाएर ल्याएका साना साना दाउरा टिप्न डोको लिएर गएका थिए। डोको समेत रुखमा झुन्ड्याएर रुखको फेद समातेकै अवस्थामा उनीहरू कराएपछि कराएको मानिसहरूले सुनेपछि उनीहरूको उद्धार गर्न पहल भएको थियो।

स्थानिय मानिसहरूले खबर गरेपछि सरकारले हेलिकप्टर पठायो। प्रतिकूल मौसम र अप्ठ्यारो ठाउँ भएकाले पहिलोपटक आएको हेलिकप्टरले उद्धार गर्न नसकी फर्केर गयो। पुनः उसै दिन करिब तीन घण्टापछि नेपाली सेनाको अर्को हेलिकप्टरले उनीहरूको उद्धार गरेको थियो।

तीन घण्टासम्म रुखको फेद समातेर थाकेका उनीहरूका हात खुट्टा थाकी गलेर ज्यान नै माया मार्ने अवस्थामा पुगि भुईँमा पुनः झरेका थिए। भिडियो बनाउनेहरूले रुखमा बसेको र झरिसकेको अवस्थाको भिडियो बनाउन सफल भएको देखिन्छ। सेनाको हेलिकप्टरले उद्धारको दोस्रो प्रयास गर्दासम्म उनीहरू रुखबाट झरिसकेका रहेछन्।

लामो समयपछि भएपनि उद्धार गर्न गएको नेपाली सेनाको टोलीमध्येका एक जना हेलिकप्टरको डोरीमा झुन्डिदै गएर दुई दम्पती र आफू झुन्ड्याईएकै बक्समा बसेर उनीहरूलाई हेलिकप्टरको सहयोगबाट भोटेकोसी नदी बीचमा फसेका दम्पतीलाई बाहिर ल्याउन सफल भएका थिए। यी तामाङका जोडीलाई बचाउन स्थानियदेखि नेपाल सेना र नेपाल सरकारलाई धेरै धेरै धन्यवाद छ।

नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकप्टर उद्धारका लागि खटिएका थिए। स्थानिय मानिसहरूको अनुसार दाउरा टिप्नका लागि उनीहरू एकाबिहान नदीकिनार गएका थिए। अफसोच् फस्न पुगे। भाग्यले घटनास्थल त्रिशूली बसपार्क नजिकै भएकाले पाल्देन दम्पतीलाई देखेर स्थानियले उद्धारको पहल गर्न मौका पाएका थिए।

शारीरिक चोट नभएपनि मानसिक रूपमा बिछिप्त दम्पतीलाई उद्धारका लागि त्रिशूली अस्पतालमा पुर्‍याइएकोमा सुरुमा उनीहरू सम्हालिन नसकेपनि मानसिक रूपमा बिक्षिप्त भएको अवस्थामा जोडी रहेको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताएका थिए।

अस्पताल भर्ना गर्दा श्रीमान् भन्दा श्रीमती धेरै आत्तिने, श्रीमती चिच्याउने, बर्बराउने, कराउने गरेकी थिइन्। डाक्टर लामाले सम्झाएर ठिकठाक भएपछि उनीहरू डिस्चार्ज भएर पनि गएको खबरले सबैको मन हलुकेको छ।

अर्कोतर्फ नेपाली सेना दलवीर भण्डारी जसको आज पुरै देशले आत्माबाटै सम्मानको सलाम ठोकिरहेका छन्। उनको वीरता र बहादुरीले तमाङ वृद्ध बुवा आमाले जीवनदान पाए। देशमा विपद् परेको बेला एक बहादुर सिपाहीले आफ्नो क्षमता, बल र बुद्धिबाट त्यसको समाधान गर्न सकिन्छ भन्ने कुराको एक ज्वलन्त प्रमाण बनेका छन्।

यही असार २४ गते मंगलबार बिहान रसुवा स्थित त्रिशूली नदीको बीचमा रहेको रुखको सहारामा जीवन अड्काई रहेका तामाङ वृद्ध दम्पतीलाई हेलिकप्टरबाट तल पुगेर उद्धार गर्ने सफल एक नेपाली सेनाका वीर जवान हुन्।

यी बहादुर सेना र सो ठाउँमा सफलताका साथ हेलिकप्टर चलाउने चालक क्याप्टन र समयमै हेलिकप्टरको व्यवस्थापन गर्ने गृह मन्त्रालय सहित सिंगो सरकारलाई धन्यवाद छ। वीर शैना जन्माउने आमाबुवालाई पनि सम्मान गर्नै पर्दछ। यसरी जन्म दिनु भनेको परिवारका लागि मात्र नभई सिङ्गो देशका लागि गौरव र सौभाग्यको विषय बनेको छ।

यसैगरी देशका विभिन्न भागमा असार २५ गते पनि अविरल वर्षा भईरहेको थियो। असार २३ गते राति र २४ गते बिहान मंगलबारदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्ग समेत अवरुद्ध बनेको छ। रोशी गाउँपालिका-९ पिन्थलीबेशी, फेदीखोला र रोशी-७ को चार सय बढीको राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताएका छन्। विभिन्न समाचार र अनलाइन खबरमा समेत सार्वजनिक भईरहेको छ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरू होल्डमा राखिएका खबर पनि आइरहेका छन् भने फेदीखोलाको हिलो लेदो हटाइएको र पिन्थलीबेशी र रोशी-७ को चार सय बढीमा हटाउने काम भईरहेको खबर पनि थुप्रै आइरहेका छन्। राजमार्ग एक्कासी अवरुद्ध हुन पुग्दा सवारी साधनहरू काभ्रे भञ्ज्याङ र भकुण्डेमा होल्डमा रहेका छन्। यी राजमार्गका बाटो र बस्तीहरूमा विशेष सुरक्षा अवलम्बन गरिएको देखिन्छ।

असार २४ गते र २५ गतेका बिहान प्यूठान खडक खण्डमा पर्ने बडडाँडादेखि बिजुवार हुँदै खलंगा सम्म पनि अविरल वर्षा भएको थियो। अप्रिय घटना भने हालसम्म सुन्नमा आएका छैनन्।

यसैगरी २६ असारको अनलाइन खबरमा प्रहरी सूत्र अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर-१० पुरानो बसपार्क नजिक रहेको होटल दियालोको स्विमिङपूलमा वीरगञ्ज-११ रानीघाटका ९ वर्षीय बालक बजरंगी रौनियार पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका र नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार राति उनको मृत्यु भएको खबर प्रहरीले जनाएको छ। जो जहाँ रहेको भएपनि सतर्क रहनुपर्ने देखिन्छ।

हिजो असार २६ गते काठमाडौंबाट नेपालगन्जतर्फ आइ रहेको रात्री बस समेत नवलपरासीस्थित एक खोला पार गर्दै गर्दा फसेको थियो। झण्डै कोही कसैलाई केही भएन। फसेको गाडी निस्किन सफल भएको खबरले सबैलाई खुशी तुल्याएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज असार २७ गते पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेपछि यो समयमा लामो दूरीका यात्रा कोही कसैले नगर्न पनि आग्रह गर्दछु।

यतिखेर देशभर मनसुनी वायुको प्रभाव रहेको कुरा मौसम पूर्वानुमान महाशाखाले बताउँदै अझै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको पनि बताएको छ।

अन्तमा मौसम पूर्वानुमान विभागले पनि यो समयमा वर्षातको समय रहेको र वर्षात हुने सम्भावना व्यक्त गरेपछि कोही पनि मानिस खोला बगरको यात्रा नगरौँ। सवारी चलाउँदा होस राखौँ। जबर्जस्ती गाडीमा धेरै मानिस नराखौँ। मोटरसाइकलमा पनि परिवार केटाकेटी राखेर सकभर यात्रा नगरौँ।

एकछिनको हतारले, सानो लोभले, सानो तिनो फाइदा र प्रलोभनमा नपरोौँ। जिन्दगी जाने लामो छ रमाइलो छ, नजाने भिरको फर्सी जस्तै अप्ठ्यारो छ। आफु बर्बाद भयो भयो। बाँच्ने भावीपुस्ता, घर परिवारलाई बाँच्न कठिन हुन्छ। यसैले जो जहाँ छौँ जहाँ रहे बसेका छौँ होसियारपूर्वक बसौँ, सजक रहौँ, सतर्क रहौँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार