शुक्रबार, २९ फाल्गुन, २०८२

गाउँमा कामदारको अभाव, शहरमा काम नपाएर हैरान!

गाउँमा मेरो काम गरिदिनुपर्‍यो भनेर घरघरमा खेताला खोज्न आउँछन्। तर, यहाँ त काम खोज्दै हिँड्नुपर्छ। सरकारले गाउँको जग्गालाई पनि लालपुर्जा दिएको छ, शहरको पनि। सबै जनताको पहिचान नागरिकता नै हो।

पछिल्लो समय गाउँभरि खेतालाको पारिश्रमिक बढेको छ। बिहान १० देखि ५ बजेसम्म काम गर्दा महिलालाई एक हजारदेखि १२ सय र पुरुषलाई १५ सय रुपैयाँसम्म दिन्छन्, त्योपनि खाजा खाएर। यति पैसा दिँदा पनि गाउँघरमा काम गर्ने मान्छे पाउँदैन। खेतबारीमा काम गर्न जानेलाई गाडी पनि चढ्नुपर्दैन।

बिहान काममा जाँदापनि हिँडेर, बेलुका पनि हिँडेरै फर्किन्छन्। आफ्नै घर हुन्छ, कोठा भाडा तिर्नु पर्दैन। बिहान काममा जानु अगाडि र बेलुकामा कामबाट फर्किएपछि उनीहरूले आफ्नो घरको काम गर्छन्। आफ्नो खेतबारीमा गोडमेल, रोपाइँ गर्छन्। घरमा आफ्नै खेतबारी हुँदा उनीहरूलाई अन्न र तरकारी किन्नु पर्दैन।

उनीहरूले किन्ने भनेको नुन र लुगा मात्रै हो। एक जोर लुगा किनेपछि वर्ष दिन चलिहाल्छ। उनीहरूले कमाएको पैसा चोखो बच्छ। सबै सामान आफ्नो बारीमा भएपछि केही किन्नै पर्दैन। जसका कारण उनीहरूको पैसा जोगिन्छ। आफ्नो घरको पनि हेर्छन्, बाहिर पनि काम गरेर कमाउँछन्।

काम गरिरहने भएकाले उनीहरूलाई रोग पनि लाग्दैन। शरीरलाई पर्याप्त एक्सरसाइज पुग्छ। बिहान ३ बजे उठेर राति १० बजेसम्म उनीहरू खटिन्छन्। गाईवस्तु आफ्नै घरमा पालेका हुन्छन्। दही, दूध, घिउ आफ्नै घरमा उत्पादन हुन्छ। खेतबारीमा आफ्नै हातले उब्जाएको खानेकुरा खान्छन्।

जसमा विषादीको प्रयोग गरिएको हुँदैन। जसका कारण उनीहरूको आयु पनि लामो हुन्छ। गाउँबासीको हुँदै नभएपनि दशौं रोपनी खेतबारी हुन्छ। घर, मतान सबै आफ्नै हुन्छ। त्यति सम्पत्ति भएपनि उनीहरू अर्काको काममा हिँड्न लजाउँदैनन्। आफ्नो परिश्रमले परिवार पाल्छन्।

छोराछोरी पढाउँछन्। गाउँमा अहिले पनि मानवीयता बाँकी छ। कुनै नचिनेको मान्छे गयो भनेपनि बाँस दिन्छन्, खान दिन्छन्। तर, शहरमा यसको ठ्याक्कै उल्टो छ। यहाँका घरधनीहरूको एकदेखि तीन आना जग्गा छ। त्यसमै घर बनाएर बसेका छन्। तर, दम्भ हेर्यो भने महाराजाको भन्दा पनि बढी छ।

शहर यस्तो ठाउँ हो, जहाँ कसैले कसैलाई पानी पनि दिँदैनन्। आफ्ना आफन्तलाई समेत खान दिँदैनन्। घरमा नातेदार आयो भने भन्छन्, ‘तपाईं त खाना खाएर आउनुभएको होला, अब हामी खान्छौं।’ भनिन्छ नि, ‘घर आएकोलाई केही दिन नसकेपनि पानी दिनु।’ तर, उपत्यकामा त्यो संस्कृति हट्दै गएको छ।

घर आकालाई एक गिलास पानी पनि दिइँदैन। काठमाडौंमा बस्ने अधिकाँशको घर बैंकको नाममा छ। यता, उनीहरूले चढेको सवारी साधन पनि बैंककै नाममा हुन्छ। नेपालीमा एउटा उखान छ, ‘ऋण लिईलिई घिउ खानु।’ त्यस्तै अवस्था छ, शहरबासीको। ऋण लिएर धाक देखाइरहेका छन्।

तर, गाउँको हकमा त्यस्तो छैन। सबैको घरजग्गा आफ्नै नाममा छ। तैपनि उनीहरू मेहनत गरिरहेका छन्। खाली खुट्टा हिँड्छन् तर बैंकबाट ऋण लिईलिई मोज गर्दैनन्। यहाँका घरधनी वा भाडाबालुहरू सबै निजी क्षेत्रमा काम गर्छन्। महिनाको तीनदेखि १५ हजारमा उनीहरूले काम गरिरहेका छन्।

जाँदाखेरि गाडी भाडा तिर्छन्, आउँदा तिर्छन्। उनीहरूले कमाएको पैसा गाडी भाडा र खाजामै सकिन्छ। बिहानदेखि साँझसम्म खटिदाँ केही रकम कमाउनेहरुकै घमण्ड बढी छ, यो पैसाले भाडावाललाई कोठा भाडा तिर्न पुग्दैन। अल्लोपल्लो कोठाको देखासिकी गरे। छोराछोरी निजी स्कुलमा पढाउँछन्, महँगो फिस तिरेर।

यहाँ त पानीसमेत किनेर खानुपर्ने अवस्था छ। एउटा कोठाको पाँचदेखि १५ हजारसम्म लिन्छन्। चामल पनि किन्नुपर्छ। ५० रुपैयाँको साग किन्यो भने एक छाक टार्न मुस्किल हुन्छ। गाडीमा चढ्नेबित्तिकै २५ रुपैयाँ लिइहाल्छ। जारको पानी ल्याएर प्रयोग गर्नुपर्ने अवस्था छ।

अब भनौं, गाउँमा आम्दानी रैछ कि शहरमा? गाउँमा मेरो काम गरिदिनुपर्‍यो भनेर घरघरमा खेताला खोज्न आउँछन्। तर, यहाँ त काम खोज्दै हिँड्नुपर्छ। सरकारले गाउँको जग्गालाई पनि लालपुर्जा दिएको छ, शहरको पनि। सबै जनताको पहिचान नागरिकता नै हो।

कानुनले सबै जनतालाई सराबरी अधिकार दिएको छ। गाउँ र शहरको भूभागको नीति एउटै छ। गाउँमा पनि स्वास्थ्य चौकी छ। देशभर सडक सञ्जाल पुगेको छ। प्रहरी चौकी गाउँमा पनि छ। गाउँ पनि अब उज्यालो हुन थालिसक्यो। विद्यालयहरू धमाधम आधुनिक बन्दैछन्।

तर, कोही गाउँमा बस्नै चाहँदैन। देशमा तीन तह छ, तीनै तहमा चुनाव हुन्छ। गाउँका मान्छे टन्न पढेका हुँदैनन्। उनीहरूले काम गर्ने भनेको हलो जोत्ने, खेतबारीमा पर्खाल लगाउने हो। शहरकाले पढेका हुन्छन्। उनीहरूलाई कानुन थाहा छ। यद्यपि, उनीहरूमाथि नै चरम श्रम शोषण भइरहेको छ।

गाउँमा खैचेर ज्याला लिन्छन्। खाजा पनि खान्छन्। आफ्नो समयसम्म मात्र काम गर्छन्। तर, यहाँ त बिहानदेखि बेलुकासम्म न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ। अब भनौं गाउँमा कानुनको कार्यान्वयन भएको छ कि शहरमा? गाउँमा काम लगाउनुभन्दा अगावै पैसा दिइन्छ।

कारण हो–काममा आउँदैन भन्ने डर। तर, शहरमा महिना मरेपछि पनि पैसा पाउन गाह्रो छ। महिनाभरी काम गर्यो, पैसा दिने बेला उस्तै किचकिच। कतिपय कामदारले महिनौंको तलब पाएका छैनन्। तलब नपाउँदा उनीहरूलाई समस्या भएको छ। यहाँ निजी कम्पनीमा काम गर्नेहरू सुग्घरसफा, चिटिक्क भएर निस्किन्छन्।

र, राति भोकै सुत्छन्। घण्टौं हिँड्छन्। निजी अफिसमा काम गर्नेहरूको बिजोग छ। घरभाडा तिर्न सक्दैनन् अनि राति कसैले सुइँको नपाउनेगरी गर्छन्। कि घरधनीलाई सामान छोडिदिने कि घरधनीको किचकिच सुनिरहने। बुढापाकाले भन्थे, ‘चोक्टो खान गएको बुढी झोलमा डुबेर मरी।’

अहिले त्यस्तै अवस्था भएको छ। बाँस जमिन तोडेर निस्किन्छ। आकाश तोड्छु भन्ने बाँस पछि नुङ्गिन्छ। तर, घरधनी र भाडावालले यो कुरा बुझेनन्। शहरिया भनिएको छ, हालत भने गाउँबासीको भन्दा बिजोग छ। अझै पनि हामीजस्तो धनी कोही छैन, हामीजस्तो पढेको कोही छैन भन्छन्।

समाज कता जाँदै छ? सरकारलाई थाहा छैन। सबै जिल्लाका जनता ल्याएर सरकारले शहरमा कोचिदिएको छ। गाउँमा काम गर्ने मान्छेको चरम हाहाकार छ। केही समयअघि सामाजिक सञ्जालमा एउटा पोस्ट एकदमै भाइरल बनेको थियो। एक जनाले लेखेका छन्, ‘आमा खेतालाको खोजीमा म यहाँ कामको।’

जमिन अन्न उब्जाउने ठाउँ हो। जमिन भएन भने अन्न फल्दैन। तर, भूमाफियाले जमिनलाई टुक्राटुक्रा बनाए। हजार रुपैयाँमा नजाने जमिनलाई खण्डीकरण गरेर आनाकै लाखौंमा बेचे। जमिनको व्यापार शुरु भयो। एक आनाको लाखौं जाने भएपछि काठमाडौंबासीले आफूलाई धनी सम्झिए।

कुनै पनि विज्ञले मान्छे अन्नपानी र पशु पनि घाँस बिना बाँच्न सक्दैन भन्न सक्दैनन्। घाँस फल्ने जमिन दलालहरूले प्लानिङ्ग गरे। माटोमाथि ढलान गर्दा अनि पानीको मूल सुक्यो। त्यसले एउटा ट्रेण्ड ल्यायो: वैदेशिक रोजगारी। आफ्नो देशमा काम गर्न लाज हुने अनि अर्काको देशमा जस्तोसुकै काम गर्ने।

सरकार विदेशीसँग ऋण ल्याएर खाने, जनता अर्काको देशमा काम गर्न जाने। गुरु सही भए पो चेला पनि सही हुन्थ्यो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार