स्वर्गद्वारीजस्तो स्थलमा सहज पहुँच नहुँदा देशको पर्यटन आम्दानी घट्ने मात्र होइन, स्थानीय धार्मिक आस्थाको सम्मानमा पनि आँच पुग्छ। त्यसैले, घोराही–स्वर्गद्वारी सडक कालोपत्रे योजना ‘सर्जनात्मक पर्यटन पूर्वाधार’का रूपमा अघि बढ्नुपर्छ।
प्युठान जिल्लामा अवस्थित पवित्र धार्मिक स्थल स्वर्गद्वारीमा नेपाल र भारतका लाखौँ श्रद्धालु तथा पर्यटक हरेक वर्ष आउने गर्छन्। स्वर्गद्वारीको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व मात्र नभई यसले ल्याउने आर्थिक समृद्धि पनि उत्तिकै महत्त्वपूर्ण छ।
दाङ जिल्लाको घोराही मसिनाबाट स्वर्गद्वारीसम्मको करिब ३० किलोमिटर दूरी छ। यद्यपि, केही खण्डमा ग्राभेल र अलिकति सुधार भए पनि पूर्ण रूपमा कालोपत्रे नहुँदा यात्रा झन्झटिलो र जोखिमपूर्ण छ।
वर्षातको समयमा यो मार्गमा सवारीसाधन गुडाउन सकिँदैन। यस मार्गको सुधार र कालोपत्रेले धार्मिक पर्यटक मात्र होइन, घोराही र प्युठानको समग्र पर्यटन व्यवसायलाई नयाँ जीवन दिनेछ। स्वर्गद्वारी पुग्न सहज हुँदा ती लाखौँ पर्यटकले घोराही बजारमा खर्च गर्ने सम्भावना बढ्नेछ।
स्थानीय व्यवसायी, होटल, रेस्टुरेन्ट र अन्य सेवा प्रदायकको आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ। घोराही बजारलाई स्वर्गद्वारी जाने मूल प्रवेशद्वारको रूपमा विकास गर्न सकिन्छ, जसले रोजगारी सिर्जना गर्नुका साथै दाङको पर्यटन नक्सामा घोराहीको नाम अझ प्रखर बनाउनेछ।
घोराही मसिना–स्वर्गद्वारी सडकको कालोपत्रेले घोराही र प्युठानको आर्थिक, सामाजिक रूपान्तरण गर्नेछ। यसले सिजनमा मात्र हुने आवागमनलाई वर्षभरि सुचारु बनाउनेछ। हाल वर्षातमा सवारीसाधन जान नसक्दा स्थानीयवासी र तीर्थयात्री समस्यामा पर्ने गरेका छन्।
तर, यो सडक कालोपत्रे भएपछि वर्षातका दिनमा पनि यात्रुहरू सहजै यात्रा गर्न सक्नेछन्। सडकमा धुलो, हिलो र खाल्डाखुल्डीका कारण हुने दुर्घटनाको सम्भावना पनि न्यून हुनेछ। अहिले पनि केही साहसी ठूला गाडी, साना गाडी र मोटरसाइकलका यात्रुहरू स्वर्गद्वारीको यात्रा गरिरहेका छन्।
उनीहरूले भोगेका कठिनाइ र जोखिमबाट राज्यले पाठ सिकेर छिटोभन्दा छिटो यो सडकलाई कालोपत्रे गर्नुपर्छ। दाङ उपमहानगरपालिकाका योजना र प्रदेश सरकारको प्राथमिकतामा यो सडक पर्नुपर्छ। यसका लागि बजेट सुनिश्चित गर्नु र कार्यान्वयनमा पारदर्शिता राख्नु आवश्यक छ।
नेपाल सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ। तर, धार्मिक र सांस्कृतिक स्थलसम्मको पहुँच नजोडिएसम्म पर्यटकलाई आकर्षित गर्न सकिँदैन।
स्वर्गद्वारीजस्तो स्थलमा सहज पहुँच नहुँदा देशको पर्यटन आम्दानी घट्ने मात्र होइन, स्थानीय धार्मिक आस्थाको सम्मानमा पनि आँच पुग्छ। त्यसैले, घोराही–स्वर्गद्वारी सडक कालोपत्रे योजना ‘सर्जनात्मक पर्यटन पूर्वाधार’का रूपमा अघि बढ्नुपर्छ।
कालोपत्रेले स्थानीय कृषक र व्यापारीका लागि पनि फाइदा पुर्याउनेछ। प्युठान र घोराहीका बीचमा रहेका गाउँका उत्पादन बजारसम्म ल्याउन सहज हुनेछ। यो सडकले स्थानीय उत्पादनको पहुँच र मूल्यवृद्धि पनि गराउनेछ।
त्यसैले, यो केवल पर्यटकका लागि मात्र नभई कृषि र अन्य क्षेत्रका लागि पनि अत्यन्तै महत्त्वपूर्ण हुनेछ। घोराही–स्वर्गद्वारी सडक कालोपत्रे हुनु केवल पूर्वाधार निर्माण होइन; यो स्थानीय विकास, रोजगारी, धार्मिक पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणको साझा लक्ष्य हो। सरकार र सरोकारवालाले यसलाई प्राथमिकता दिन ढिलाइ गर्नुहुँदैन।
स्थानीयबासी, व्यापारी, धार्मिक संस्था र सरोकारवाला सबै मिलेर यो अभियानलाई सफल बनाउन सशक्त दबाब र सहकार्य गर्नुपर्छ। यसले हाम्रो आर्थिक, सांस्कृतिक र धार्मिक पहिचानलाई बलियो बनाउनेछ।
यसरी, घोराही–स्वर्गद्वारी सडक कालोपत्रे गर्ने काम तत्काल सुरु गरेर छोटो समयमै सम्पन्न गर्नु आवश्यक छ। यसले स्वर्गद्वारीसम्मको यात्रालाई सहज बनाउनुका साथै दाङको पर्यटन र स्थानीय अर्थतन्त्रमा अभूतपूर्व क्रान्ति ल्याउनेछ।
सरकार र सम्बन्धित निकायले यो विषयलाई प्राथमिकतामा राखेर छिटोभन्दा छिटो कार्यान्वयन गरुन् भन्ने हामी सबैको साझा अपेक्षा हो। पर्यटन विकासबिना आर्थिक समृद्धि हासिल गर्न कठिन भएकाले घोराही मसिना–स्वर्गद्वारी सडकखण्ड छिटोभन्दा छिटो कालोपत्रे गरी सुचारु गर्न सबैको ध्यान जानुपर्छ। एकताबद्ध प्रयासले यो छिटै सम्भव छ।