सोमबार, २ असार, २०८२

म पनि विद्रोहको राप हुँ, जिउँदो नवराज हुँ

यो समाजले प्रेम गरेकै कारण मारेर अजितको अहिलेसम्म टिचिङ अस्पतालमा लाश राख्न सक्छ। यो समाजले छोराले बिहे गरेको निहुँमा सेते दमाईजस्ता निर्दोष बा-हरूको हत्या गर्न सक्छ। यो समाज वास्तवमा क्रूर र निर्मम छ। यो समाज हत्यारा हो!

“सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली”, नेपाली समाजको अनेकन विविधताभित्र फुलेको एक फूल हुँ म। मैले कहिल्यै महसुस गर्न पाएको छैन कि म पनि त्यो फूलको मालामा गाँसिएको छु। म पनि रङ्गीचङ्गी भएको छु। म पनि फूलजस्तै सुगन्धित भएको छु।

सायद, सयौँ फूलको बीचमा म गाँसिएको भए? म पनि त रङ्गिन देखिन्थेँ होला? नेपाली समाजको सासप्रस्वासभित्र छिर्न पाएको भए? मेरो पनि मिठो बास्नामय प्रवाह हुन्थ्यो होला?

नेपाली समाजको सियोले म पनि उनिन पाएको भए, म पनि ती फूलहरूसँग एकताबद्ध हुन्थेँ “सयौँ फूलका थुङ्गा” भित्र, म एक फूल। तर, म त्यो अवसरबाट वञ्चित भएँ। र, एक भाष्य निर्माण भयो, “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली।”

सयौँ फूलहरूबाट म एक फूललाई अलग राखेर कसरी ती फूलहरूले भन्न सके, “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली”? एक फूलले अर्को फूललाई अलग्याएर फूल हुन सक्छ र? के त्यो फूलको सौन्दर्य राम्रो देखिन्छ र? फूलले फूललाई नै दुखाएको, अलग्याएको— यस्तो पनि हुन्छ? अँ, साँच्चै फूलले पनि विभेद गर्छ र?

म यस्तो समाजमा हुर्किएको मान्छे हुँ, जुन समाजले आफूजस्तै स्वरूप भएको आकृतिलाई अझै फरक देख्छ, फरक दृष्टिले हेर्छ र आफूलाई उच्च, अर्कोलाई नीच ठान्छ। अझ भनौँ, आफूलाई मान्छे ठान्छ, तर उस्तै आकृतिलाई मान्छे ठान्दैन, पशुभन्दा तल्लो स्तरको ठान्छ र विभेद गरिरहन्छ।

यो यस्तो समाज हो, जहाँ केही मान्छेहरू यो समाजको विभेदको बन्दरगाहभित्र वर्षौँदेखि छटपटाइरहेका छन्। जहाँबाट चिच्याइरहेका छन्, तर त्यो चिच्याहट यो समाजको कानसम्म सुनिएको छैन। किन थाहा छ? किनभने त्यो चिच्याहटले यो समाजको कान फुटिसक्यो!

यो समाजको आँखाको ज्योति गुमिसक्यो, र त पनि देख्दैन। अझै आफ्नो बगैँचाको एक सुन्दर फूल। जुन फूलले समाजको बगैँचा हराभरा बनाएको छ। जुन फूलको सबैभन्दा बढी श्रम र देनले चम्किलो बनेको छ, नेपाली समाजको बगैँचा!

मैले मेरो जिन्दगीको यात्रामा अनेक कठिनाइ र भोगाइहरू भोगेँ। ती भोगाइ र कठिनाइहरू त्यति अप्ठ्यारा र गाह्रा थिएनन्, तर मलाई यो समाजले यस्ता भोगाइहरू भोग्न बाध्य बनाइरहेछ।

समाजले मलाई मान्छे बन्न नदिएको भोगाइ, मलाई मान्छे अस्वीकार गरेको भोगाइ, यो भोगाइभन्दा अरू पीडादायी केही हुन सक्छ र? म त भन्छु, यो समाज “सयौँ थुङ्गा” होइन, थुङ्गा चाहिँ सयौँ-सयौँमा विभाजित छ। न यो “सयौँ थुङ्गा एउटै” बन्न सक्छ, न त बनाउन नै कसैले सक्छ।

यो समाजले बरु यस्ता फूललाई निमोठ्न सक्छ। जसरी प्रेमको बगैँचामा रमाउँदै गरेका नवराजजस्ता फूलका कोपिलालाई निचोरेर कोपिलाको हत्या गर्न सक्छ। यो समाजले फूलहरूलाई उखेलेर भेरीमा सहजै बगाउन सक्छ।

यो समाजले प्रेम गरेकै कारण मारेर अजितको अहिलेसम्म टिचिङ अस्पतालमा लाश राख्न सक्छ। यो समाजले छोराले बिहे गरेको निहुँमा सेते दमाईजस्ता निर्दोष बा-हरूको हत्या गर्न सक्छ। यो समाज वास्तवमा क्रूर र निर्मम छ। यो समाज हत्यारा हो!

र त जन्मिन्छ विद्रोहको भाव, र त जन्मिन्छ विद्रोह, अनि हुन्छ क्रान्ति— दमन र दमनकारीविरुद्ध भिड्न मन लाग्छ। सायद, यो समाजले कयौँ अपराध गरेर अझै खित्का छाडेर ढुक्कले मुस्कुराएको छ।

अब मुस्कुराउने शासनहरू ढल्दै छन् भन्ने पत्तो पाउन सकेन होला। फूल निमोठ्ने हातहरू अब भाँचिँदै छन् भन्ने कुरा देखेनन् होला? रातपछि फेरि उज्यालोको उदय भएको ती अन्धकारको युगमा हुर्केकाले के पत्तो पाए होलान् र?

फूलले अब असह्य पीडा सहन सक्दैन। फूल पनि त विद्रोहको राप बन्दै छ भन्ने कुरा के पत्तो पाए होलान् र? नवराजहरूलाई जिउँदै आहुति दिनेहरूले के बिर्से होलान् र? नवराजहरूको आत्मा जिउँदा नवराजहरू सामुन्ने भड्किरहेको देख्दा यो समाज के अब मूर्छित हुँदैन होला र?

म पनि विद्रोहको राप,
ख्याल-ख्यालमा नताप,
खरानी बनाउँछु, याद राख,
हजार होइन, हामी छौँ लाख-लाख!
यो हो विद्रोहको राप!!
ओ समाज, नबिर्सी, म एक जिउँदो नवराज हुँ…।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार