सोमबार, ९ भाद्र, २०८२

म उही प्रेमिल राज्यमा गुमेको नवराज

नवराज विक, त्यो नाम आज पनि जनताको मनमा धड्किन्छ। ऊ गयो प्रेमको बाटो हिँड्न, तर फर्केन। किनभने समाजले, अनि अन्ततः राज्यले पनि, उसलाई जोगाउन सकेन।

म, नवराज, एउटा नाम, जुन आज ‘समाचार’ बन्यो। तर त्यो दिन, त्यो क्षण म केवल प्रेममा बाँचेको केटो थिएँ। कुनै अपराधी होइन, न त विद्रोही। म त केवल आफ्नो मनले रोजेको संसारमा पाइला टेकेको थिएँ।

माया गर्नु किन त्यस्तो ठूलो गल्ती हुन्छ? किन जात, थर र हैसियत प्रेमको बाटोमा रुकावट बन्छ? म त उहीँ प्रेमिल राज्यमा हराएँ, जहाँ न आँसुहरूको अर्थ रहन्छ, न हाँसोको आवाज सुनिन्छ। हावा-बतास अझै बग्छ होला मुगुका खोँचमा, तर म त गुमिसकेँ। सपना बोकेर आएको थिएँ, तर फर्किएँ न सपनासहित, न शरीरसहित।

मायालुको कोमल हात समाएर जीवन सुरु गर्न खोजेको थिएँ, तर त्यो हात छुने मौका पनि लुटियो मबाट। हाम्रो प्रेमलाई प्रश्न गरियो। हाम्रो अस्तित्वमाथि घात गरियो। आज तिमीहरू न्यायको कुरा गर्छौ। तर म त न्याय पाउने आशामा गुमेको म मात्र होइन, गुमेको नवराज हुँ, ‘प्रणालीगत मौनता’ भित्र हराएको मान्छे।

तर म त हरेक युवाको आँखामा बाँच्छु, जसले बिना डर प्रेम गर्छ, जसले सपना देख्न छोड्दैन। म गइसकेँ, हो, तर उहीँ प्रेमिल राज्यमा, जहाँ प्रेमले घृणालाई जित्नेछ भन्ने आशा बाँकी छ। आज समाज भन्छ, “नवराज गयो।” म सधैं भन्छु, हाम्रो नवराज गुमेको होइन, उसलाई लुटिएको हो।

हामीले नवराज गुमाएका होइनौं, उसको सपना यो समाजले खोसेको हो। उसको सपना कुल्चिएको संस्कारको नाममा लादिएको परम्पराले हो।

उसले कसैको घर तोडेको थिएन, उसले त आफ्नो जीवन बनाउने साहस मात्र देखाएको थियो। तर त्यो साहस सहन सकेन यो समाजले, जहाँ प्रेमभन्दा जात ठूलो रहन्छ। एउटा बा-आमाले नवराज गुमाएका होइनन्, उनीहरूले आफ्नो अस्तित्व गुमाएका छन्।

आज बिहान-बिहान आँगन सुनसान लाग्छ, कथा भन्ने छोरो छैन, रातभर भिज्ने आमाको आँसु पुछ्ने कोही छैन। तर सुन, हे समाज! हामी रोएर चुप लाग्ने छैनौं। हाम्रो नवराज न्यायको प्रतीक हुनेछ। ऊ गयो, तर खाली गुमेन, हाम्रो अन्तरआत्मा जगाएर गयो।

त्यसैले फेरि भन्छु, हामीले नवराज गुमाएका होइनौं, ऊ त तिमीहरूको घृणामाथि हाम्रो प्रेमको प्रतिरोध बनेर बाँचेको छ। न्याय पाउने आशामा, सधैं बोलें म, तर सुनिने आवाज कहिल्यै भएन। आँसु झर्थे मौन रातमा, व्यथा भित्र लुकाएँ। अन्यायको अँध्यारोमा, उज्यालो खोज्दै हराएँ।

वाचा थियो कानुनको, सबै समान छन्। तर व्यवहारमा किन यति भिन्न छन् धर्म? धनीको स्वर सुनिन्थ्यो चिच्याएर, गरीबको पीडा हराउँथ्यो लज्जाले भरिएर। सबै प्रमाण थिए हातमा, सत्य साथमा थियो। तर शक्तिको खेलमा, मेरो साँचो हरायो। एक-एक दिन गनें आशामा बाँच्न, तर अन्ततः आफैंलाई हराएँ म चिन्न।

अब न्याय शब्द लाग्छ केवल सपना। आँखाभरि छ आँसु र मुटुभरि छ घना। न्याय पाउने आशामा, धेरै गुमे, सपनाका भारीसँगै आफैलाई सक्काएँ। तर म त्यही हराएको एक यात्री हुँ, जसलाई आज साँचो प्रेमको अर्को नामले चिनिन्छ। म, अन्ततः हराएको नाम हो, ‘म’।

नवराज विक, त्यो नाम आज पनि जनताको मनमा धड्किन्छ। ऊ गयो प्रेमको बाटो हिँड्न, तर फर्केन। किनभने समाजले, अनि अन्ततः राज्यले पनि, उसलाई जोगाउन सकेन। हिजो माया गरेको “अपराध” भयो, जातको नाममा सपना कुल्चियो।

नवराजलाई जिउँदो राख्न सक्ने कानुन थियो, तर त्यो कानुन किन मौन भयो? राज्यले कहिल्यै नवराजका आमा-बुबासँग आँखा जुधायो? कहिल्यै तिनको पीडा बुझ्न गाउँमा टेक्यो? उनीहरूलाई न त न्याय मिल्यो, न त सान्त्वना। राज्यको आँखामा उनीहरू कहिल्यै नागरिक नै भएनन्। त्यसैले राज्यले अब गम्भीर भएर सोच्नुपर्ने यही विषय बनेको छ।

मेरो पनि प्रश्न छ यो राज्यसँग, नवराज खै?

यो प्रश्न अब यति सानो छैन। यो प्रश्न अब जातीय अन्याय, राज्यको मौनता, र न्यायको अपमानसँग गाँसिएको छ। राज्य भन्न नसकेर रुन्छ, “सबै समान छन्।” तर व्यवहारमा किन आज हजारौं नवराजहरू हराउँछन्? किन न्यायको ढोका केहीका लागि मात्रै खुल्छ?

मलाई चिच्याहट हुन्छ, नवराज खै? त्यो प्रश्न हो, जो संसददेखि सडकसम्म गुन्जिनुपर्छ। जो हरेक कुर्सीमा बस्ने व्यक्तिको आत्मा हल्लाउनुपर्छ। किनभने जबसम्म नवराजका लागि न्याय हुँदैन, तबसम्म यो राष्ट्र साँचो अर्थमा गणतान्त्रिक हुँदैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार