भएको खेतीयोग्य जमिन मासेर धावनमार्ग विस्तार गर्नु कति जायज होला? यो सबै जुम्लाका बुद्धिजीवीले बुझ्न जरूरी छ। प्राविधिक हिसाबले पनि ठूला जहाज अवतरण गराउन कठिन हुने थाहा हुँदाहुँदै पनि विमानस्थल विस्तार गर्नुपर्छ भन्ने होडबाजी चलेको छ।
नेपाल एक विविध भूगोल भएको देश हो, जहाँ कतिपय दुर्गम क्षेत्रहरू अझै पनि विकासका दृष्टिकोणले निकै पछाडि छन्। त्यस्ता क्षेत्रहरूमध्ये कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला भौगोलिक विकटता र कठिन जीवनशैलीका कारण सधैँ चर्चामा रहन्छ। यहाँ विकासका पूर्वाधार निर्माण चुनौतीपूर्ण छन्।
हालै जुम्ला विमानस्थलको स्तर वृद्धि अर्थात् विस्तार गर्ने चर्चा चलिरहेको छ। तर, तत्कालीन अवस्थालाई विश्लेषण गर्दा विमानस्थलको विस्तारभन्दा पनि शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटनजस्ता अन्य अत्यावश्यक विकासका क्षेत्रमा लगानी गर्नु बुद्धिमानी देखिन्छ।
विमानस्थलको स्तरोन्नति आवश्यक नभएको भने होइन। यसले हवाई यातायातलाई सहज बनाउन र बाह्य सम्पर्क विस्तार गर्न मद्दत गर्छ। तर, जुम्लाको वर्तमान परिवेशमा प्राथमिकता निर्धारण गर्नु जरूरी छ।
अधिकांश जुम्लाबासी अझै पनि आधारभूत आवश्यकताहरूबाट बञ्चित छन्। गुणस्तरीय शिक्षाको अभावमा बालबालिकाहरू अवसरबाट टाढा छन्। स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा सामान्य रोगले पनि जटिल रूप लिने गरेको छ। सिँचाइको अभावमा कृषि उत्पादन न्यून छ र खाद्यान्नका लागि परनिर्भर हुनुपरेको छ। सडक सञ्जालको कमजोर अवस्थाले दैनिक जीवनयापन र आर्थिक गतिविधिहरूलाई कठिन बनाएको छ। यस्तो अवस्थामा विमानस्थलको स्तर वृद्धिमा ठूलो लगानी गर्नु तत्कालका लागि प्रत्युत्पादक हुन सक्छ।
हालको अवस्थामा जुम्ला विमानस्थलमा साना जहाज सञ्चालन हुने गरे तापनि विस्तारपछि ठूला जहाज अवतरण गर्ने भन्ने कुरा अझै कसैले पनि जनतासमक्ष प्रस्ट पार्न सकेका छैनन्। जुम्ला विमानस्थल विस्तारपछि आउने जहाज भनेको ATR 42 हो, जुन जहाज नेपालबाट विस्तारै हट्ने क्रममा छन्। भौगोलिक बनावटका कारण ATR 72 जहाज विस्तारपछि पनि अवतरण गर्न नसक्ने कुरा सबैलाई थाहा छ। यदि ATR 72 जहाज नै अवतरण गराउने हो भने पनि विमानस्थल विस्तारका लागि जग्गा पर्याप्त छैन, न त विमानस्थललाई अर्को ठाउँमा सार्ने सम्भावना नै छ।
ATR 72 जहाज अवतरण गराउन विभिन्न कुराले प्रभाव पार्दछ। तीमध्ये एउटा कारण हो जनसङ्ख्या। जुम्लाको जनसङ्ख्या कति छ र त्यसमध्ये हवाई यातायात प्रयोग गर्ने जनसङ्ख्या कति छ, यो कुरा भनिरहनु नपर्ला। जुम्लावासीको आयस्रोत कस्तो छ, हवाईजहाजमा यात्रा गर्न सक्ने क्षमता छ कि छैन, त्यो पनि विचार गर्नुपर्छ। त्यसैले, धावनमार्ग विस्तार गरे पनि ठूला जहाज अवतरण गर्न नसक्ने निश्चित छ।
भएको खेतीयोग्य जमिन मासेर धावनमार्ग विस्तार गर्नु कति जायज होला? यो सबै जुम्लाका बुद्धिजीवीले बुझ्न जरूरी छ। प्राविधिक हिसाबले पनि ठूला जहाज अवतरण गराउन कठिन हुने थाहा हुँदाहुँदै पनि विमानस्थल विस्तार गर्नुपर्छ भन्ने होडबाजी चलेको छ। साना जहाजले दैनिक तीन उडान गर्दा पनि यात्रु खोज्नुपर्ने अवस्था छ भने विस्तारपछि यात्रु कहाँबाट ल्याउने हो, त्यसको पनि विचार गर्न जरूरी छ। जुनसुकै जहाज आए पनि घाटा खाएर कसैले सेवा दिँदैन होला।
बरु विमानस्थल विस्तारको सट्टा उडान सङ्ख्या कसरी बढाउन सकिन्छ, त्यसतर्फ ध्यान दिने हो कि? नेपाल वायु सेवा निगमको उडान दैनिक गर्ने हो कि? भन्ने कुरातर्फ ध्यान जानु जरूरी छ। अथवा टिकट प्रणालीलाई अनलाइन बनाउँदा पनि केही सहज हुने थियो कि? विमानस्थल विस्तारमा धेरै खर्च लाग्छ, त्यसको सट्टा प्रदेश सरकारले आफ्नै जहाज सञ्चालन गर्ने भन्ने कुरा थियो, त्यसलाई प्राथमिकतामा राख्ने हो कि?
वर्तमान अवस्थामा विमानस्थल विस्तार गर्नु भनेको देशलाई आर्थिक भार थप्नु हो। त्यसैले, विमानस्थल विस्तार गर्नुभन्दा दैनिक उडान सङ्ख्या थप्न जरूरी देखिन्छ भने विमानस्थल विस्तारको सट्टा अन्य विकासका पूर्वाधारमा लगानी गर्न आवश्यक छ।
जुम्लाको अर्थतन्त्रको मुख्य आधार कृषि हो। यदि कृषि क्षेत्रमा लगानी गर्ने हो भने उत्पादन वृद्धि गर्न सकिन्छ। सिँचाइ प्रणालीको विकास, उन्नत बीउबिजनको प्रयोग र कृषि औजारको उपलब्धताले किसानहरूको आयस्तर बढाउन मद्दत गर्नेछ। यसले खाद्य सुरक्षालाई सुनिश्चित गर्नुका साथै अन्य जिल्लामा कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना पनि बढाउँछ।
सडक पूर्वाधार विकास अर्को महत्त्वपूर्ण क्षेत्र हो। गुणस्तरीय सडक निर्माणले यातायातलाई सहज र सुरक्षित बनाउँछ। यसले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र आवश्यक सामग्रीहरूलाई गाउँसम्म ल्याउन मद्दत गर्छ। सडक सञ्जालको विस्तारले अन्य विकासका पूर्वाधार निर्माणलाई पनि सहज बनाउँछ।
विमानस्थलको स्तर वृद्धि भविष्यका लागि महत्त्वपूर्ण हुन सक्छ। तर, अहिलेको आवश्यकता भनेको जुम्लाका नागरिकको जीवनस्तरमा तत्काल सुधार ल्याउने क्षेत्रमा लगानी गर्नु हो। शिक्षा, स्वास्थ्य, कृषि र सडकजस्ता क्षेत्रमा गरिएको लगानीले प्रत्यक्ष रूपमा नागरिकको जीवनयापनमा सकारात्मक परिवर्तन ल्याउँछ र दिगो विकासको आधार तयार पार्छ।
अतः, तत्कालीन अवस्थामा जुम्लाको विकासका लागि विमानस्थलको स्तर वृद्धि गर्नुभन्दा अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा लगानी गर्नु नै बुद्धिमानी र दूरदर्शी निर्णय हुने देखिन्छ। यसले जुम्लालाई विकासको मूल प्रवाहमा समाहित गर्न र यहाँका नागरिकलाई समृद्ध भविष्यतर्फ डोर्याउन मद्दत गर्नेछ।