शिक्षकहरूको आन्दोलन कति शान्तिपूर्ण रहेछ, अहिले प्रष्ट भएको छ। बिरुवासमेत नमार्ने दाबी गरेका शिक्षकहरूले आइतबार फुटपाथको ब्लकसमेत निकालेर सुरक्षाकर्मीमाथि प्रहार गरे।
सर्वसाधारण जनता स्थानीय सरकारलाई सोध्छन्, ‘आन्दोलनरत शिक्षकहरूलाई किन कारबाही गरिएन? किन जागिरबाट हटाइएन?’ जनताले तिरेको करबाट तलब–भत्ता खाएर शिक्षक–शिक्षिकाहरू विद्यार्थी नपढाई आन्दोलनमा होमिएका छन्। विद्यालय बन्द गरेर सडकमा रमिता देखाइरहेका छन्।
यतिमात्र होइन, शिक्षकहरू उग्र बन्दै गएका छन्। सडक कब्जा गरेर सुरक्षाकर्मीलाई ढुङ्गा–मुढा हानिरहेका छन्। जनताका छोराछोरीको भविष्यमाथि खेलबाड गरी आफ्नो स्वार्थ पूरा गर्न शिक्षकहरू आन्दोलनमा उत्रिएको झन्डै एक महिना हुन लागिसकेको छ। यस अवधिमा विद्यालयमा पठनपाठन भएको छैन।
विद्यार्थीहरू अन्योलमा परेका छन्। देशभरका सरकारी तथा सामुदायिक विद्यालय बन्द छन्। विद्यालय बन्द भएपछि आफ्ना छोराछोरी कहाँ पढाउने भनेर अभिभावकहरू चिन्तित छन्। अर्को कुरा, विद्यालय बन्द गरेर आन्दोलनमा होमिए पनि शिक्षकहरूले तलब–भत्ता भने लिइरहेका छन्। हाजिरी कपी चोरेर सडकमै हाजिर गरिरहेका छन्।
अनि स्थानीय सरकार के हेरेर बसिरहेको छ? शिक्षकहरूले कानुनविपरीत गतिविधि गर्दा स्थानीय तहहरू किन मौन? किन तत्काल त्यस्ता शिक्षकहरूलाई बर्खास्त गरेर नयाँ शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाइएन? सरकारी विद्यालयको शैक्षिक अवस्था कस्तो छ, हामी सबैलाई थाहा छ। दिनप्रतिदिन सरकारी विद्यालय खस्किँदै गएका छन्।
त्यसमाथि शिक्षकहरूले पढाउन छोडेर आन्दोलनमा उत्रिँदा अहिले सम्पूर्ण विद्यार्थी निजीतर्फ गएका छन्। निजी विद्यालयमा धमाधम विद्यार्थी भर्ना भइरहेका छन् भने सरकारी विद्यालयका शिक्षकहरू सडकमा रमिता देखाइरहेका छन्। त्यसकारण अब स्थानीय सरकारले कदम चाल्नुपर्छ। जनताका छोराछोरी पढाउन छोडेर आन्दोलनमा होमिने शिक्षकहरूलाई कारबाही गर्नुपर्छ।
शिक्षामन्त्री रघुजी पन्तले अब शिक्षकहरूसँग वार्ता गर्नुहुँदैन। यस्ता शिक्षकहरूको नियुक्तिपत्र खारेज गरेर नयाँ शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ। सरकारले अब शिक्षकहरूको अगाडि झुक्नुहुँदैन, बल प्रयोग गरेर अघि बढ्नुपर्छ।
पछिल्लो समय राजधानी अशान्त छ। शिक्षकहरूको आन्दोलन अराजक बन्दै गएको छ। सुरुवातमा शान्तिपूर्ण आन्दोलनको नौटङ्की देखाएका शिक्षकहरू अहिले ढुङ्गा–मुढामा उत्रिएका छन्। आन्दोलन सुरु गर्दा शिक्षकहरूले भनेका थिए, ‘हामी आफ्नो फोहोर आफैं सफा गर्छौं। बिरुवासमेत मार्न दिँदैनौं। सुरक्षाकर्मीलाई केही गर्दैनौं।’
शिक्षकहरूको आन्दोलन कति शान्तिपूर्ण रहेछ, अहिले प्रष्ट भएको छ। बिरुवासमेत नमार्ने दाबी गरेका शिक्षकहरूले आइतबार फुटपाथको ब्लकसमेत निकालेर सुरक्षाकर्मीमाथि प्रहार गरे। अर्को कुरा, आन्दोलन शिक्षकहरूको, तर आँखा फुट्यो पत्रकारको।
पत्रकारहरूले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छ भनेर बोल्दै, लेख्दै आएका छन्। शिक्षक आन्दोलनको समर्थन गर्दाको परिणाम अहिले हामी सबैले देखेका छौं। सुरुवातमा शिक्षकहरू पत्रकार र सुरक्षाकर्मीसँग मिले। हाँस्दै गफ गरे। प्रहरीले पनि शिक्षकहरू अन्य आन्दोलनकारीजस्ता हुँदैनन् भनेर सोच्यो। जसले गर्दा शिक्षकहरू यो हदसम्म पुगे।
आन्दोलनकारी प्रहरीको शत्रुजस्तै हो। आन्दोलनकारीले कुन र कति बेला के गर्न सक्छन्, कसैलाई थाहा हुँदैन। तर, सुरक्षाकर्मीहरूले आन्दोलनरत शिक्षकहरूलाई साथीको रूपमा हेरे। शिक्षकहरूले सडक कब्जा गर्दा सुरुवातमै बल प्रयोग गरेर हटाउनुको साटो उल्टै सडक बन्द गरेर उनीहरूलाई सहयोग गरे।
शिक्षकहरूको रवैया ठ्याक्कै माओवादीसँग मिल्दोजुल्दो छ। जनयुद्धकालमा माओवादीले शत्रुलाई साथी बनाउँथे। अनि थाहै नदिई उसलाई सिध्याउँथे। शिक्षकहरूले पनि त्यस्तै गरे। पहिला सुरक्षाकर्मीलाई साथी बनाए। पछि त्यही सुरक्षाकर्मीमाथि ढुङ्गा हाने। अब शिक्षकहरू माओवादी होइनन् भन्नेमा कुनै शङ्का छैन।
यता, काठमाडौंका सिडिओ ऋषिराम तिवारीले तत्काल राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ। शिक्षकहरूले आइतबार त्यत्रो आतङ्क मच्याउँदा पनि उनले माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई निषेधित घोषणा गरेका छैनन्। उनकै लापरबाहीका कारण शिक्षकहरूको आन्दोलन उग्र बनेको छ। यदि सिडिओ तिवारीले पहिल्यै शिक्षकहरूलाई सडक कब्जा गर्न रोक लगाएर खुला चौरमा आन्दोलन गर्न लगाएको भए यस्तो घटना हुने थिएन।
तर, आन्दोलनलाई ख्यालठट्टाको रूपमा लिँदा निर्दोष व्यक्तिको आँखा गुमाउनुपर्ने अवस्था आएको छ। शिक्षक आन्दोलनमा घाइते भएकी पत्रकार सविना कार्कीको अब कसले जिम्मेवारी लिन्छ? शिक्षकहरूले वा काठमाडौं प्रशासनले? उनको आँखा पहिलेकै अवस्थामा ल्याउन सक्छन्, शिक्षकहरूले? अझै पनि स्थानीय तह र काठमाडौं प्रशासन मौन बस्ने कि तत्काल कदम चाल्ने?
के ठूलो क्षतिको लागि काठमाडौं प्रशासन हेरेर बसिरहेको हो? आन्दोलनमा उत्रिएका शिक्षकहरू माओवादी निकट छन्। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी माओवादी कार्यकर्ता हुन्। प्रचण्डको निर्देशनअनुसार उनले आन्दोलन गरिरहेका छन्। फेरि माओवादी कुन हदसम्म जान सक्छन्, भन्ने कुरामा पत्रकार र सुरक्षाकर्मी सजग हुन आवश्यक थियो।
माओवादी लुट्न र मार्न नै जन्मिएका छन्। जनयुद्धको समयमा माओवादीले न पत्रकारलाई छोडे, न सुरक्षाकर्मीलाई। उल्टै उनीहरूलाई निशाना बनाइयो। आफैंले आफ्नो लागि खाल्डो खन्न लगाएर पुरिदियो। भनिन्छ, ‘सर्पलाई जतिसुकै दूध खुवाए पनि त्यो सर्पले पछि दूध खुवाउनेलाई नै टोकेर मार्छ।’ माओवादी पनि त्यही हो।
माओवादीले आफ्नालाई समेत छोड्दैन। अनि शत्रुलाई छोड्नु त परको कुरा। अहिले शिक्षकहरूका लागि सुरक्षाकर्मी शत्रु बनिसकेका छन्। अब शिक्षकहरूले सुरक्षाकर्मीको ज्यानै लिन पनि समय लगाउने छैनन्। त्यसैले, सुरक्षाकर्मी सजग र सचेत हुन आवश्यक छ। राजावादी आन्दोलन तुहाउन प्रचण्डले शिक्षकहरूलाई सडकमा उतारे।
फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको स्वागतमा लाखौं सर्वसाधारणको उपस्थिति देखेपछि प्रचण्ड त्रसित भए। तराई–मधेश अभियानमा रहेका उनले त्यो स्थगित गरेर काठमाडौं फर्किए। अनि सुरु गरे राजावादीहरूलाई कमजोर बनाउने योजना। चैत १५ गते आफ्ना कार्यकर्तामार्फत राजावादीको आन्दोलनलाई उग्र बनाइदिए।
अनि दोष भने राजावादीहरूलाई थुपारिदिए। स्मरण रहोस्, माओवादीले जनयुद्धको समयमा १७ हजारभन्दा बढी जनता मारेका थिए। तर, त्यसले नपुगेर अझै पनि माओवादी जनता मार्ने रणनीतिमा छ। एकातिर गणतन्त्रवादीसँग बसेर राजतन्त्रको विरोधमा लगाउने, अर्कोतिर शिक्षकहरूलाई सडकमा उतार्ने। त्यही शिक्षकमार्फत सत्तामा पुग्ने प्रचण्डको दाउ छ।
उनले शिक्षकहरूलाई सडकमा मात्र उतारेनन्, विद्यार्थीको भविष्य बर्बाद पार्ने काम गरे। लाखौं बालबालिकाको भविष्य अन्योलमा परेको छ। गरिब जनताका छोराछोरी शिक्षाबाट वञ्चित भएका छन्। प्रचण्डले आफ्नो स्वार्थका लागि फेरि पनि जनतालाई नै प्रयोग गरे। जनताका छोराछोरीको भविष्य अन्धकारमा पारिदिए।
जनता मारेर सफल बनाएको जनयुद्धको उपलब्धि हामी सबैसामु छ। जनयुद्धले जनतालाई केही दिएन। माओवादी, प्रचण्ड र उनको परिवारलाई मात्रै दियो। हिजो चप्पल लगाउन नसक्ने हैसियत भएका प्रचण्ड अहिले घडीमात्रै लाखौंको बाँध्छन्। उनले लगाउने कपडा, जुत्ता, चस्मा पनि लाखौंको छ। अनि यो पैसा कहाँबाट आयो? पटक–पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार गरेर होइन र? आफ्ना नजिकका मान्छेलाई पटक–पटक मन्त्री बनाए। छोरीलाई स्वकीय सचिवदेखि मेयरसम्म बनाए। बुहारीलाई मन्त्री बनाए। अनि जनताले भने के पाए?
प्रचण्डले जनयुद्धकै कारण मुलुकमा लोकतन्त्र र गणतन्त्र आएको दाबी गर्छन्। अहिले जनता उनलाई सोध्छन्, ‘लोकतन्त्र र गणतन्त्रले के भयो? तर, भारत र चीनले कब्जा गरेको नेपाली भूभाग किन फिर्ता ल्याइएन? लोकतन्त्रअघि एक रुपैयाँ ऋण नरहेकोमा अहिले कसरी २७ खर्ब पुग्यो? किन नेपालीहरू रोजगारीका लागि विदेशिनुपरेको छ? किन निर्माण व्यवसायीले ४५ अर्ब, दूध र उखु किसानले सात अर्ब, र कोरोना महामारीको २४ अर्ब भुक्तानी दिन सकिएन?’
अब प्रचण्डले जवाफ दिनैपर्छ। जनयुद्धले देशमा के भयो? जनतालाई जवाफ दिइयोस्। प्रचण्ड एक नम्बरका स्वार्थी व्यक्ति हुन्। हिजो पनि आफ्नो स्वार्थ पूरा गर्न जनता मारे, अहिले पनि त्यही गर्दैछन्। शिक्षकहरूलाई उचाल्ने प्रचण्ड नै हुन्। त्यसकारण अब सरकारले प्रचण्डलाई कारबाही गर्नुपर्छ। शिक्षकहरू पनि कसैको पछि नलागौं। विद्यालय फर्कौं। किनकि प्रचण्ड कसैका आफ्ना होइनन्।